वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने

काठमाडौं । पुँजी कोषको दबाबमा रहेका कारण कर्जा प्रवाह गर्न असमर्थ भइरहेका बैंकलाई प्राथमिक पुँजी बढाउन मिल्नेगरी केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको छ ।

पुँजी कोषमा थप भएपछि कर्जा प्रवाहमा सहजता मिल्ने

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति दिनसक्ने भन्दै नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाहमा केही सहजता हुने अपेक्षा गरिएको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर (परिपक्व अवधि नतोकिएका अग्राधिकार सेयर) जारी गर्नसक्ने व्यवस्था भएपछि प्राथमिक पुँजी वृद्धि गर्न बाटो खुलेसँगै कर्जा दिन सहजता उत्पन्न हुने बताइएको छ ।

बैंकहरूको प्राथमिक पुँजी कोषमा सेयर पुँजी, वैधानिक साधारण जगेडा, सेयर प्रिमियम, लगानीकर्तालाई बाँड्न मिल्ने सञ्चितिदेखि विशेष किसिमको अग्राधिकार सेयर तथा ऋणपत्र हुन्छन् ।

राष्ट्र बैंकको नियमानुसार बैंकहरूको कुल जोखिम सम्पत्तिका आधारमा प्राथमिक पुँजी कोष ८ दशमलव ५ प्रतिशत हुनुपर्छ । कर्जा लगानी बढ्दै जाँदा बैंकहरूले राख्नुपर्ने जोखिम भारसमेत बढ्दै जान्छ । जसले गर्दा बैंकहरूले कर्जा लगानी विस्तारमा तीव्रता ल्याउन सक्दैनन् । यसको अनुपात बढाउन बैंकहरूको प्राथमिक पुँजी नै बढ्नुपर्ने प्रावधान रहेको छ । अहिले बैंकहरूको प्राथमिक पुँजी कोषका आधारमा कर्जा प्रवाह ८ दशमलव ५ प्रतिशत नजिक पुगिसकेको छ ।

राष्ट्र बैंकको नयाँ प्रावधानसँगै स्थायी प्राथमिकता सेयर जारी गर्ने प्रावधान थपिएपछि बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय वृद्धिमा बाधा परेको पुँजी ‘टियर १’ पुँजीलाई समर्थन गर्न यस व्यवस्थाले सहज बनाउने बताइएको छ ।

राष्ट्र बैंकको सो प्रावधानसँगै बैंक तथा वित्तीय संस्थाहरूले आवश्यकताका आधारमा तोकिएका सर्तहरूको अधीनमा रही अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्युअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न स्वीकृति दिनसक्ने बताइएको छ ।

केन्द्रीय बैंकले विभिन्न सर्त राखेर जारी गरेको निर्देशनअनुसार अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुनेगरी जारी गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्कासन गर्नुपर्ने र यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने उल्लेख गरेको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ । अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा रहने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्ने उल्लेख गरिएको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने भनाइ केन्द्रीय बैंकको छ ।

यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५ दशमलव १२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने पनि उल्लेख गरिएको छ ।

यस सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ । यो सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दुपश्चात हुनसक्ने अपेक्षित परिणामका ’boutमा स्पष्ट खुलाई रिस्क डिस्क्लोजर क्युमेटमेन्ट सार्वजनिक गर्नुपर्नेछ ।

संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पुँजीमा समावेश भएका नियामकीय पुँजी उपकरणहरू, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुनेछ । केन्द्रीय बैंकले यो सेयर स्वीकृति दिँदा आवश्यकतानुसार अन्य थप सर्तहरू तोक्न सक्नेछ । यो सेयर तोकिएको संस्थाको हकमा मात्र लागू हुनेछ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर घाटा हुँदैन र नाफा हँुदा मात्रै लाभांशका रूपमा बैंक तथा वित्तीय संसथाले दिन्छ । डिवेञ्चरमा लगानीकर्ताले ब्याजदर जस्तो कुपन रेट हुन्छ । अग्राधिकार सेयरमा लाभांशजस्तै लाभांश दर हुन्छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांशको दर पहिल्यै निश्चित रूपमा तोकेको हुन्छ र नाफा मात्रै हुँदा बाँड्ने सर्त राखेको हुन्छ ।

पछिल्लो समय बैंकहरूको पुँजी कोषमा दबाब देखिएसँगै उनीहरूले चाहेर पनि कर्जा लगानी तीव्र दरमा विस्तार गर्न सकिरहेका छैनन् । लगानीकर्ताले चाहे पनि यस्ता सेयर बिक्री (पुट अप्सन) गर्न भने पाउँदैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम