वीरगन्ज । जिल्ला समन्वय समिति (जिसस) पर्साका अध्यक्ष अजय भन्ने निरन्जन साह सोनार र भेडियाही स्कूलका शिक्षक तथा ठेकदार सन्तोष (सुमु) सोनार लगायत ६ जनामाथि ज्यानमार्ने उद्योगको मुद्दा पर्सा प्रहरीमा परेको छ । शिक्षक सोनार र जिसस पर्साका अध्यक्ष सोनार ठूलो पदमा भएकोले पर्सा प्रहरीले नियन्त्रणमा लिन आनाकानी गरेको पीडित मिथुन भन्ने पृथ्वीकुमार सर्राफ र उनका बुबा रामबाबु साह सोनारले आरोप लगाए । उनीहरुले २०८३ बैशाख २ गते पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
२०८२ कार्तिक ९ गते भएको घटनाको मुद्दा दर्ता गर्न समेत पर्सा प्रहरीले नमानेपछि उच्च अदालत अस्थायी इजलास वीरगन्जको सहारा लिएर हुलाक मार्फत मुद्दा पठाएपछि बल्ल चैतमा पर्सा प्रहरीमा यो मुद्दा दर्ता भएको पीडित पृथ्वी र उनका बुबा रामबाबुको गुनासो छ । ठूलो मान्छे घटनामा सम्लग्न भएको मुद्दामा मानिस मरेपछि मात्र मुद्दा दर्ता हुने हो ? उनीहरुले प्रश्न गरे ।
आफ्नो छोराले वीरगन्ज १५ भेडिहारीमा रहेको श्री हरिहर सर्राफ चम्पादेवी आधारभूत विद्यालयको भवन निर्माणमा अनियमितता भएको कुरा २०८२ असोज २७ गते एसटिपी अनलाइन खबरमा सार्वजनिक गरेपछि उनीहरुसँग रिसिबी भएको पीडितले कारण बताए । बाचचित गर्ने भनी कार्तिक ९ गते झुक्याएर छोरोलाई पछाडीबाट अजय, सुमु र त्रिलोकी साह सोनार समेतको सम्लग्नतामा आक्रमण भएको पीडित पक्षको दावी छ ।
झुक्याएर ज्यानै लिने गरी आक्रमण गर्ने व्यक्ति ठूलो पदमा रहेकै कारण पर्सा प्रहरीले उन्मुक्ति दिएको पीडित पृथ्वी कुमार सर्राफ र उनका बुबा रामबाबु साह सोनारको जिकिर छ । विभिन्न ६ जना माथि मुद्दा दर्ता भएको यो घटनामा एक जना मात्र प्रहरीले पक्राउ गरी अरुलाई एकै पटक अदालतमा उपस्थित भएर उन्मुक्ति हुने गरी चलखेल भइरहेको पीडितको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साले भने सम्मानित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट प्राप्त परमादेश अनुसार रामबाबु साह सोनार जाहेरवाला रहेको ज्यान मार्ने उद्योग मुद्दा गएको चैत १९ गते रीतपूर्वक दर्ता गरी अनुसन्धानका क्रममा रहेकोले यसमा कसैले हतारोमा अनर्गल प्रचार गर्न नहुने दावी गरेको छ । पर्सा प्रहरीले केहि सञ्चार माध्यममा भ्रामक, कपोकल्पित सूचनाहरू प्रशारण भएकोमा यस जिल्ला प्रहरी कार्यालय पर्साको गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको छ । अनुसन्धान जस्तो गम्भिर र संवेदनशिल बिषयमा कपोकल्पित तथ्य र आधारहीन सूचनाहरू प्रति विश्वास नगर्न र त्यस्ता तथ्य र आधारहीन कपोकल्पित सूचनाहरू सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।
पीडित रामबाबु र उनका छोरा पृथ्वीले भने जिल्ला समन्वय समितिका अध्यक्ष अजय साह सोनार र अर्का शिक्षक सुमुले हामीसँग पैसा छ, कसले के गर्न सक्छ ? हामी जसरी पनि उम्किन सक्छौं भनी गाउँघरमा भन्दै हिडेको र अझ आफूहरुलाई पछि ज्यानै लिने धम्की दिदै हिड्न थालेकोले आफूहरु असुरक्षित भएको पनि पीडितको गुनासो छ । प्रहरी प्रशासनले साना मानिस मात्र समाउने र ठूला मानिसलाई उन्मुक्ति दिने प्रपञ्च गरिरहेको पीडितको अर्को गुनासो छ । ठूलामाछा उम्काउने र साना मात्र समाउने हो र ? पीडितले भने ।
सम्बन्धित समाचार
भू–सतहको पानी ‘रिचार्ज’मा पर्सागढीको ‘उदाहरणीय ड्याम’
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान
आगलागी पीडित परिवारलाई मेयर साहद्वारा राहत सामाग्री बितरण
एमालेबाट निर्वाचित मेयर साह आजपा प्रवेश
निमार्ण समाग्रीको मुल्य समायोजन गर्न निमार्ण ब्यवसायी संघ रौतहटको माग
नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो






