रोलिङसँग फिदिम ३–० ले स्तब्ध

इलाम । तेस्रो इलाम गोल्ड कप अन्तरगत दोस्रो क्वाटर फाइनल खेल रोलिङ क्लब धुलाबारी झापाले सानदार जित निकाल्दै सेमिफाइनल पुगेको छ । रोलिङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको धुलाबारीले पहिलो हाफमै आफ्नो पक्षमा पारेको थियो । खेलको ९ औं मिनेटमा प्रताप राईको प्रहार फितलो बन्यो । लगत्तै निकेश श्रेष्ठको उत्कृष्ट क्रसमा निरोज कार्कीले फिनिसिङ दिन नसक्दा सुरुआती अवसर खेर गयो । लगातार आक्रामक बनेको धुलाबारीका लागि १३ औं मिनेटमा राजेश श्रेष्ठको क्रसमा प्रतापले सुनौलो मौका गुमाए ।

२३औं मिनेटमा भने प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको लगत्तै निरोज कार्कीले फिदिमका गोलरक्षक अभिषेक बराललाई बिट गर्दै सानदार गोल गरेपछि मध्यान्तरअघि धुलाबारी २–० ले अघि बढ्यो । ३८औं मिनेटमा निरोज कार्कीले अर्को अवसर पाए पनि गोल गर्न सकेनन् ।

मध्यान्तरपछि आफ्नो लय कायम राख्दै पहिलो मिनेटमै अरुण मेचेले गोल गर्दै अग्रता ३–० पु¥याए । त्यसपछि धुलाबारीले रक्षात्मक रणनीति अपनाउँदै खेल नियन्त्रणमा राख्यो । ६१औं मिनेटमा निरोज कार्कीको प्रहार फिदिमका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । धुलाबारीका लागि निरोज कार्की र प्रताप राईले केही अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन् ।

यता फिदिम स्पोर्टिङले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । खेलको ७ औं मिनेटमा हेमन तुम्बाम्फोको पासमा धिरेन्द्र शाहको प्रहार फितलो बन्यो । १४औं मिनेटमा हेमनकै उत्कृष्ट क्रसमा आयुस राईले शक्तिशाली प्रहार गरे पनि गोलरक्षक योगेश धमलाले शानदार बचाउ गर्दै जोगाए । ३४औं मिनेटमा हेमन तुम्बाम्फो गोल गर्न चुके भने ३९औं मिनेटमा पनि उनको अर्को प्रयास गोलरक्षक धमलाले सहजै नियन्त्रणमा लिए ।

मध्यान्तरअघि अतिरिक्त समयमा फिदिमले उत्कृष्ट अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । ५०औं मिनेटमा दिनेश शर्माले डिबक्स बाहिरबाट गरेको प्रहार गोलरक्षक योगेश धिमालको हातमा पुग्यो । ६६औं मिनेटमा हेमनको प्रहार किपरबाट रिबाउन्ड हुँदा सुजन मगरले त्यसलाई नियन्त्रण गर्न नसक्दा अर्को अवसर गुम्यो ।

७६औं मिनेटमा वान–भर्सेस–वान अवस्थामा सुशील लावतीलाई फाउल गरेपछि पाएको पेनाल्टी हेमन तुम्बाफोले सदुपयोग गर्न नसक्दा खेलमा फर्कने सपना समाप्त बन्यो । ८०औं मिनेटमा सविन घिमिरेको प्रहार बारमा ठोक्किएर फर्कियो भने ८९औं मिनेटमा हेमन तुम्बाम्फोको शक्तिशाली प्रहार गोलरक्षकले उत्कृष्ट रूपमा बचाउ गरे ।

रुलिङ क्लब धुलाबारी झापाका प्रतापसिंह राई ‘म्यान अफ द म्याच’ घोषित भए । सोमबार ए डिभिजन मछिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबिच हुने आयोजकले जनाएको छ ।

१२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा चित्लाङ फुटबल क्लब काठमाडौँ, पथरी–११ मोरङ, रुलिङ क्लब धुलाबारी झापा, फिदिम स्पोर्टिङ पाँचथर, न्यूरोड टिम काठमाडौँ, मछिन्द्र फुटबल क्लब, एन पेनाङ मलेसिया र आयोजक रेड हर्ष फुटबल क्लब गरी आठ टोलीको सहभागिता रहेको छ ।

विजेताले १० लाख रुपैयाँसहित उपाधि जित्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ