शेखरसहित दर्जनबढी व्यवसायीमाथि सीआइबी, सेवोन र प्राधिकरणको एकसाथ अनुसन्धान

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन रि इन्स्योरेन्स लिमिटेड तथा यससँग सम्बद्ध विभिन्न संस्थाबाट ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको भन्दै चर्चित उद्योगी तथा व्यवसायी शेखर गोल्छासहितका संस्थापक सञ्चालकविरुद्ध गम्भीर अनुसन्धान गर्न सिफारिस गरेको पाइएको छ ।

हिमालयन रिका सञ्चालक, सेयरहोल्डर र कर्मचारीमाथि सूक्ष्म निगरानी

सेबोनले गरेको एउटा अनुसन्धानले यो प्रकरणमा बिचौलिया व्यवसायी दिपक भट्ट, सुलभ अग्रवालमात्र नभएर हिमालयन रिहा पूर्वअध्यक्ष शेखर गोल्छासहितका संस्थापकदेखि हालसम्मका सञ्चालकमाथि गम्भीर अनुसन्धान हुनुपर्ने निष्कर्ष निकालेको हो । यो निष्कर्षसहितको प्रतिवेदनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पठाइसकेको सेवोनका उच्चअधिकारी बताउँछन् ।

सेवोनले तयार पारेको प्रतिवेदनअनुसार विभागले कारबाही प्रक्रिया अघि बढाएलगत्तै सेवोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् । हिमालयन रिका अध्यक्ष शेखर गोल्छाले सेवोनको प्रतिवेदन तयार भएलगत्तै राजीनामा दिएकामा श्रेष्ठले सम्पत्ति शुद्धीकरण विभागले हिमालयन रिको सेयर खरिदबाट सुरु भएको आर्थिक अनियमिततामा टेकेर गैरकानुनी सम्पत्तिलाई वैध बनाएको अभियोगमा अनुसन्धान थालेपछि राजीनामा दिएका छन् ।

यो अभियोगमा व्यवसायी भट्ट र अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ भने हिमालयन रिका संस्थापक सञ्चालक समितिका साहिल अग्रवाल, अमित मोर, साक्षी वंशल (गुप्ता), सुभाषकुमार झुनझुनवाला, पूर्वसञ्चालक रोहित गुप्तालगायतका व्यवसायीमाथि सेयर कर्नरिङदेखि सम्पत्ति शुद्धीकरणसम्मको अभियोगमा अनुसन्धान जारी रहेको विभागको भनाइ छ ।

अनुसन्धानको दायरमा रहेका हिमालयन रिका पूर्वअध्यक्ष गोल्छा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसहित ८ भन्दा बढी प्रालि र लिमिटेडका अध्यक्ष हुन् । जगदम्बा मोर्टर्स प्रालिका साहिल अग्रवाल ३२ वटा भन्दा बढी प्रालिका अध्यक्ष र सञ्चालक हुन् । अर्का सञ्चालक अमित मोर गणपति वनस्पतिसहित पा“चभन्दा बढी प्रालिका अध्यक्ष हुन् ।

धितोपत्रसम्बन्धी कानुनअनुसार यस्ता प्रकृतिका गम्भीर वित्तीय अनियमितताका विषयमा सेबोनले प्रारम्भिक अध्ययन तथा अनुसन्धान गर्छ । अध्ययनमा कैफियत देखिएमा बोर्डको सञ्चालक समितिले निर्णय गरेर सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सेवोनले यो प्रकरणमा नेपाल प्रहरी गुहारेको हो । नेपाल प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मेवारी दिइसकेको छ ।

बिमा प्राधिकरणले पनि थाल्यो अनुसन्धान
आर्थिक अनियमितता अभियोगमा नेपाल बिमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितका उच्च अधिकारीमाथि कारबाही थालेको छ । प्राधिकरणले सिइओ उपासना पौडेल, डेपुटी सीइओ मुकेशकुमार कपुर, कार्यकारी निर्देशकहरू मनिश कुमार, शिशिर गैरे र सन्तोष केसीसँग स्पष्टीकरण मागेको छ ।

कम्पनी सञ्चालनक्रममा आर्थिक अनियमितता भएको आशंकामा प्राधिकरणले स्पष्टीकरण माग गरेको हो । प्राधिकरणका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आर्थिक अनियमितता देखिएपछि हिमालयन रिइन्स्योरेन्सका जिम्मेवार कर्मचारीबाट अनुसन्धान थालिएको हो । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ आएपछि के गर्ने भन्ने निर्णय हुनेछ ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागले २८ फागुन २०८२ मा प्राधिकरणलाई पत्राचार गर्दै बिचौलिया व्यवसायी दिपक भट्टको लागि नेपाल पुनर्बिमा कम्पनीलगायत विभिन्न कम्पनीको सेयर खरिदका लागि हिमालयन रिइन्स्योरेन्स र यससँग सम्बद्ध संस्थाबाट ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंकामा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

भट्टको नाममा खरिद भएको सेयर भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रुपैयाँ खर्च गरिएको थियो । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाखसहित कुल ३ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन