ओलीपथमा बालेन सरकार, संसद् टारेर अध्यादेशको शासन

काठमाडौं । बजेटका लागि आह्वान गरिएको संसद् बैठक स्थगन गरेको सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुईवटा अध्यादेश सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन– २०६६ र सहकारी ऐन–२०७४ लाई संशोधन गर्ने अध्यादेश मंगलबार राष्ट्रपति कार्यालय पुगेको हो । झन्डै दुईतिहाईको सरकारको संसद् छलेर अध्यादेशबाट चल्ने चाहनालाई राजनीतिक तथा सामाजिक क्षेत्रबाट बलजफ्ती र संसदीय मर्यादाको विपरीत रहेको भन्दै आलोचना हुन थालेको छ ।

सरकारले १७ वैशाखका लागि ९ गते नै संसद् आह्वान गरेको थियो भने विशेष कारण भन्दै भोलिपल्टै अर्थात् १० गते स्थगित गरेको थियो । संसदीय इतिहासमै पहिलो पटक आह्वान भएको संसद् अधिवेशन सुरु नै नगरी स्थगित गरी अध्यादेश आएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर र २०७८ जेठमा अध्यादेश ल्याएर संवैधानिक परिषद्मा नियुक्ति गरेको थियो । ओलीकै बाटो पछ्याउँदै दुईतिहाइ नजिकको जनमत पाएका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले अध्यादेश ल्याएपछि ओलीपथ भन्दै विरोध भएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश सर्वोच्चले व्याख्या गर्दै निष्क्रिय भएपछि ऐनको साबिकको व्यवस्था स्वतः जाग्ने नजिर कायम गरेको थियो । अदालतको आदेश अटेर गर्दै ओलीले दोस्रो पटक २०७८ जेठमा अध्यादेश ल्याएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीकै शैलीमा शाहले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भए पनि अध्ययन सुरु नगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबारबाट अध्ययन गर्ने सचिवालयले जनाएको छ ।

इतिहासको नजिर : विभाजनको बिउ

तत्कालीन प्रधानमन्त्री ओलीले ३० मंसिर २०७७ मा अध्यादेश ल्याएर संवैधानिक परिषदमा एकलौटी नियुक्ति गरेपछि सुरु भएको आन्तरिक विवादका कारण झन्डै दुईतिहाइको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको थियो । यही अध्यादेशका आधारमा नियुक्ति गरेपछि ओलीलाई नेकपाको बहुमत सचिवालय सदस्यले चार्ज सिट ल्याएर पार्टी कमिटीबाट हटाउने तयारी गरेपछि ओलीले ५ पुसमा संसद् विघटन गरेका थिए भने ११ फागुनमा संसद् पुनस्र्थापनाको फैसला आएपछि २०७८ जेठमा दोस्रो पटक अध्यादेश ल्याएका थिए ।

पार्टी विभाजनको बिउ रोपेको संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्न ल्याएको अध्यादेशले नेकपाभित्र तत्कालीन पार्टी र सरकारको नेतृत्व गरिरहेका ओलीलाई निरंकुश नेताको आरोप लागेको थियो । संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा संविधान र ऐनको परिकल्पनाभन्दा बाहिर गएर विपक्षी दलका नेता तथा राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभा उपसभामुखलगायतको भूमिकालाई कमजोर बनाउने गरी काम कर्तव्य र अधिकार संशोधन गरी प्रधानमन्त्रीले आफूअनुकूल बनाउने अभ्यास हुने गरेको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्का ६ सदस्यमध्ये अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्ने प्रावधान राखेर बैठकको काम कर्तव्य र अधिकार संशोधन गरिएको थियो । बालेनले पनि बैठकको उपस्थिति र गणपूरक संख्यासम्बन्धी व्यवस्थामा संशोधन गरी राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेका हुन् ।

ओलीले ३० मंसिर २०७७ मा अध्यादेश ल्याएर नियुक्ति गरिएका संवैधानिक निकायका प्रमुख तथा सदस्यहरूको संसदीय सुनुवाइलगायत समेत नभई निरंकुशता र संविधानको भावनाविपरीत भएको भन्दै निरन्तर आलोचना भएको थियो । संसदीय सुनुवाइ छल्ने गरी सरकारको छाया संवैधानिक निकायमा पार्ने नियतसहित सरकारले ल्याएको अध्यादेशले लोकतन्त्रको प्रतीकको रूपमा रहेको संसद्लाई पंगु बनाइएको भन्दै संविधानविद् तथा कानुनविद्हरूले आलोचना गरेका छन् ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना नियुक्ति गरेको थियो । ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद्का काम कर्तव्य अधिकार संशोधन गरी गरेका नियुक्तिविरुद्ध १५ वटा रिट परी ४ वर्ष सुनुवाइ भएको थियो ।

ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले १३ संवैधानिक निकायका ३२ पदका लागि ३० मंसिर २०७७ मा सिफारिस गरेको थियो । तर ५ पुसमा संसद् विघटन भएकाले संसदीय सुनवाइबिना ४५ दिन पु¥याएर २१ माघमा नियुक्ति प्रदान गरिएको थियो ।

त्यस्तै थप २० पदमा २६ वैशाख २०७८ मा नियुक्तिका लागि सिफारिस गरिएको थियो । तर ८ जेठमा संसद् विघटन भएकाले संसदीय सुनुवाइ नगरी १० असारमा नियुक्त गरिएको थियो ।

सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदाधिकारी नियुक्ति गरेकी थिइन् । दुवै पटकका सिफारिस र नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासमेत गरी १५ रिट परेका थिए ।

संवैधानिक, राजनीतिक र कानुनी हिसाबले विवादमा परेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सरकारलाई आफ्नै शक्तिप्रति भरोसा नभएजस्तो देखिएको कानुनविद्हरूको भनाइ छ ।

रास्वपा सभापतिलाई संकट

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका अध्यादेशका कारण नैतिक संकट सिर्जना भएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले दुईपटक अध्यादेश जारी गरेर संवैधानिक परिषद्को नियुक्ति आफूअनुकूल बनाउन लाग्दा लामिछानेले विरोध जनाएका थिए । लामिछानेले अध्यादेशलाई जनमतको अपमान भन्दै संसद् बैठक बस्नुपर्ने बताउँदै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए ।

‘संसद् बैठक बोलाउन कति समय लाग्छ ? एक साता, दुई साता, तीन साता ? त्यस्तो के आपत् आइलागेको थियो र १–२ साता पनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ, यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो, फिर्ता हुनै पर्छ,’ उनले लेखेका थिए ।
संसद्को सर्वोच्चताको पक्षमा लामिछानेले लेखेको यो स्ट्याटस रास्वपा सरकारले अध्यादेश सिफारिस गरेपछि सोसल मिडियामा भाइरल भएको छ ।

दलहरूको विरोध

सरकारले दुईवटा अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष गरेको सिफारिसले शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी सरकारले संसद्प्रति अविश्वास जनाएर विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको दाबी गरेको छ । ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ, उनले भनेका छन् ।

सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमलाई कांग्रेसले व्यवस्थापिकाको अधिकारमाथिको अतिक्रमण भनेको छ । ‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ । यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायिकी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

दुई हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व सङ्कलन