एसियन हाइवे योजनामाथि गम्भीर प्रश्न

सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यातायात सञ्जालसँग नेपालको पहुँच विस्तार गर्ने महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको एसियन हाइवे अहिले पूर्वी नेपालमा तीव्र गतिमा निर्माण भइरहेको छ।

मुलुककै गौरवका आयोजनामध्ये एक मानिएको यो सडकले आर्थिक गतिविधि, व्यापारिक विस्तार र सहरी विकासमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ। तर, मोरङको गोठगाउँदेखि दुलारीसम्मको खण्डमा गरिएको सडकको वर्गीकरण भने अहिले स्थानीयस्तरमा गम्भीर बहसको विषय बनेको छ।

तीव्र सहरीकरण भइरहेको, जनघनत्व बढ्दो र व्यापारिक केन्द्रका रूपमा विकासोन्मुख यस क्षेत्रलाई डिपिआरमा २४ मिटर चौडाइको ‘ग्रामीण सडकका रूपमा राखिएको छ। जबकि यही सडकको अगाडि र पछाडिका खण्डहरू भने ५० मिटर चौडाइको ‘सहरी सडक’का रूपमा डिजाइन गरिएका छन्।

एउटै राजमार्गको बीच भागमा मात्रै यस्तो फरक मापदण्ड अपनाइनुले योजनागत असन्तुलन मात्रै होइन, भविष्यको विकासप्रतिको दृष्टिकोणमै प्रश्न उठाएको छ। कोभेक–CREGC–टुन्डी जेभीले निर्माणको जिम्मा लिएको यस आयोजनाको कुल लागत ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

२०८० सालमा सम्झौता भएको यो आयोजना २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने हालसम्म २१ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। परियोजना व्यवस्थापक अनिश रेग्मीका अनुसार सडक ५० मिटर, ३३ मिटर र २४ मिटर गरी तीन फरक संरचनामा निर्माण भइरहेको छ। गोठगाउँदेखि दुलारीसम्मको खण्ड भने २४ मिटरकै ग्रामीण मोडलमा निर्माणाधीन छ।

सामान्य बुझाइमा २४ मिटर सडक भनेको सवारी आवागमनलाई मात्र केन्द्रमा राखेर बनाइने संरचना हो। यस्तो सडकमा पर्याप्त फुटपाथ, ढल निकास, हरियाली क्षेत्र, पार्किङ व्यवस्थापन वा स्थानीय सवारीका लागि सर्भिस लेनको सम्भावना न्यून हुन्छ। अहिले नै बजार विस्तार भइरहेका गछिया र आसपासका क्षेत्रका लागि यस्तो संरचना दीर्घकालीन रूपमा अनुपयुक्त हुने स्थानीयको बुझाइ छ।

स्थानीय अगुवा देवराज तामाङ भन्छन्, “आज ग्रामीण भनेर छुट्याइएको यो क्षेत्र भोलि व्यवस्थित सहरी केन्द्र बन्ने सम्भावना बोकेको ठाउँ हो। अहिलेको विकासको गति हेर्दा यहाँ २४ मिटर सडक पर्याप्त हुँदैन। भविष्यमा विस्तार गर्न खोज्दा ठूलो क्षति र खर्च बेहोर्नुपर्ने अवस्था आउन सक्छ।”

गछिया बजार व्यवस्थापन समितिका संयोजक प्रलाद थोप्रा लिम्बुका अनुसार बजार क्षेत्रमा सडक साँघुरो हुँदा व्यापारिक गतिविधिमै असर पर्छ। “सवारी चाप बढ्दै जाँदा पार्किङ, पैदलयात्रुको सुरक्षा र बजार व्यवस्थापन सबै प्रभावित हुन्छ। यसले गछियाको व्यापारिक सम्भावनामै असर पार्न सक्छ,” उनले भने।

गछिया युवा समाजका सल्लाहकार मनोज राईले डिपिआर निर्माण प्रक्रियामै प्रश्न उठाउँदै भने, “वरिपरिका खण्डलाई सहरी सडक बनाउने, तर बीचको विकसित हुँदै गरेको क्षेत्रलाई ग्रामीण सडकमा सीमित गर्ने निर्णय कुन आधारमा भयो ? यसको स्पष्ट जवाफ चाहिन्छ।”

सुन्दरहरैंचा वडा नं. ४ का अध्यक्ष कैलाश बस्नेतले पनि २०७१/७२ तिर डिपिआर तयार गर्दा भविष्यको सहरी स्वरूप र आवश्यक पूर्वाधारको पर्याप्त अध्ययन नभएको स्वीकार गर्दै नगरभर एकरूपताका साथ ५० मिटर चौडाइको सडक निर्माण हुनुपर्नेमा जोड दिएका छन्। स्थानीयवासीको माग स्पष्ट छ — समयमै डिपिआर पुनरावलोकन गरियोस्, गोठगाउँ–दुलारी खण्डलाई पनि ५० मिटरकै सहरी मापदण्डमा स्तरोन्नति गरियोस्।

किनकि अन्तर्राष्ट्रिय स्तरको सडक केवल यात्रु ओसारपसार गर्ने माध्यम मात्र होइन, त्यसले ’roundको बस्तीको चरित्र, बजारको भविष्य र विकासको दिशा निर्धारण गर्छ। आजको योजनागत कमजोरीले भोलिको शहर साँघुरो र अव्यवस्थित बन्न नदिन, अहिले नै सही निर्णय लिनु आवश्यक देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव