रौतहट । चन्द्रपुर नगरपालिका–७ बनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी बेच्न र टिप्न भ्याई नभ्याई छ । आफ्नै करिब पाँच कठ्ठा जमिनमा व्यावसायिकरूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको हो । यसबाट उनलाई आर्थिकरूपमा पनि सबल बनाएको देखिन्छ ।
लौका, करेला, घिरौँलालगायतका तरकारी अहिले उनको बारीमा लटरम्म छ । आफूले दैनिक १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्मको तरकारी बेच्ने गरेको तरकारी कृषक थरुनीले सुनाइन् । उनले आफ्ना ग्राहकहरूलाई बारीबाट नै र बाँकी रहेको तरकारी स्थानीय हाट बजारमा लगेर बिक्री गर्ने गरेको सुनाइन् ।
यसरी आफैले आम्दानी गर्न थालेपछि थरुनीले आफ्नो परिवार सुखी र सम्पन्न हुँदै गएको बताइन् । यति मात्रै नभएर अहिले महिला हिंसा र आफ्नो हक अधिकारको ’boutमा जान्न बुझ्नसमेत सक्षम भएको उनले बताइन् ।
यस्तै, चन्द्रपुर नगरपालिका–७ की दिलकुमारी काफ्लेले पनि व्यावसायिकरूपमा बाख्रा पालेर मनग्य आम्दानी गरेको सुनाइन् । बाख्रापालनबाट आफूलाई आर्थिक रूपमा सबल बनाएको काफ्लेको भनाइ छ । यसैगरी, चन्द्रपुर–७ कै सुनिता माझीले किराना पसल थापेर जीविकोर्पाजन गर्दै आइरहेकी छिन् । राजपुर नगरपालिका–९ बैरियाकी मीना देवीले पनि व्यावसायिकरूपमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेकी छिन् । तरकारी खेतीबाट आएको आम्दानीले छोराछोरी पढाउनदेखि घर खर्च टार्न सजिलो मीनाले बताइन् ।
त्यस्तै, राजपुर नगरपालिका–९ कै गुल्सन खातुन पनि आफैले घरमा टेलर खोलेर स्वरोजगार बनेकी छिन् । आफनो घर खर्च चलाउन र आफनो पकेट खर्चका लागि कसैसँग पनि पैसा माग्नु नपर्ने खातुनले बताइन् ।
राजपुर—५ स्कुल टोलकी जरिमा खातुनले टेलर चलाएर ३ छोरा र ३ छोरीलाई पढाउन सफल भएको बताइन् । आर्थिक रूपमा सबल हुनुका साथसाथै तथा समाजमा लैंगिक हिंसा न्यूनीकरणका लागि सुझाव दिने गरेको उनले सुनाइन् । यी महिला उदाहरणको पात्र मात्रै हुन् । यस्ता महिला रौतहटमा एक हजारभन्दा बढी छन् ।
ग्रामीण विकास केन्द्र नेपालले सञ्चालन गरेको लैंगिक हिंसा न्यूनीकरण परियोजनाअन्तर्गत आबद्ध करिब एक हजार महिला अहिले स्वरोजगारका साथसाथै आर्थिक रूपमा सबल बनिरहेका छन् । ग्रामीण विकास केन्द्र नेपालले इस्लामिक रिलिफ क्यानडाको आर्थिक सहयोग र इस्लामिक रिलिफ नेपालको व्यवस्थापकीय सहयोगमा लैंगिक हिंसालाई सम्बोधन गर्नका लागि महिला, पुरुष र बालबालिकाहरूको सामाजिक–आर्थिक सशक्तीकरण परियोजना सञ्चालन गर्दै आएको सो परियोजनाका प्रमुख धर्मेन्द्र साहले जानकारी दिएका छन् ।
राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वटा वडामा विद्यमान लैंगिक हिंसालाई सम्बोधन गर्दै लक्षित समुदायको सामाजिक तथा आर्थिक सबलीकरण गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरी स्वास्थ्यमा सुधारको सुनिश्चितता गरी लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्य रहेको साहले बताए ।
राजपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ९ र चन्द्रपुर नगरपालिकाको वडा नम्बर १, २, ५, ७ र ८ मा आर्थिक सबलीकरणमार्फत लैंगिक हिंसाबाट प्रभावित वा उच्च जोखिममा रहेका महिलालाई समाजमा पुनस्र्थापना गर्ने र लैंगिक हिंसासम्बन्धी खतराको स्तर कम गर्दै जाने यो परियोजनाको मुख्य उद्देश्य रहेको परियोजना प्रमुख साहले बताए ।
चन्द्रपुर नगरपालिकामा १७ ओटा समूहमा गरी ४३० जना र राजपुर नगरपालिकामा २३ ओटा समूह गरी ५८० जना भन्दा बढीलाई प्रतिव्यक्ति ६५ हजार रुपैयाँका दरले व्यवसाय कार्यका लागि नगद रकम सहयोग गरेको उनले जानकारी दिए ।
यसैबिच सोही परियोजनाअन्तर्गत सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाई तथा संरक्षण केन्द्र स्थापना गरेर लैंगिक हिंसा न्यूनीकरणका काम भइरहेको कार्यक्रम संयोजक साहले बताए ।
किशोरीहरूलाई लक्षित गरी चन्द्रपुर नगरपालिकाको परियोजनामा सञ्चालित ५ ओटै वडामा १० ओटा सामुदायिक सिकाई केन्द्र तथा संरक्षण केन्द्रहरू सञ्चालनमा रहेको छ भने राजपुर नगरपालिकाको ७ ओटा वडामा १४ ओटा केन्द्र सञ्चालन भइरहेको कार्यक्रम संयोजक साहले बताए । हालसम्म २ हजार ४०० बालबालिकाले केन्द्रबाट रूपान्तरण कोर्स पूरा गरिसकेको साहले जानकारी दिए ।
विद्यालय वा मदरसाबाट बाहिर भएका किशोरीहरूलाई रूपान्तर विधिबाट जीवनोपयोगी सिप सिकाउँदै सामाजिक अभियानहरूमा सहभागी गराउने र नेतृत्व विकासमा सहयोग गर्ने लक्ष्य राखिएको उनले बताए । सिकाई केन्द्रहरू एक दिन बिराएर साताको ३ दिन सञ्चालन गरिएको समेत उनले जानकारी दिए ।
महिलाहरूलाई व्यवसायसँगै आवश्यक तालिम, वित्तीय साक्षरता, समय समयमा प्रशिक्षण दिने र घरका पुरुषहरूलाई समूहमा आबद्ध गरी लैंगिक हिंसा तथा महिला अधिकार’bout प्रशिक्षण दिँदै आएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताए ।











