डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औँ साधारणसभामा प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ । अमरगढी नगरपालिकाको सभाहलमा सोमबार आयोजित उद्घाटन सत्रमा राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि विभिन्न किसिमका दबाब र अंकुश बढिरहेको भन्दै स्वतन्त्र पत्रकारिताको संरक्षण लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सुशासन, विकास र लोकतन्त्र मजबुत बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित हुन आग्रह गर्दै पत्रकारितामा कुनै पनि प्रकारको सिन्डिकेट स्वीकार्य नहुने धारणा राखे ।
कार्यक्रमका प्रतिनिधि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारीले सरकारले मिडिया हाउसमाथि विभिन्न प्रकारका अंकुश लगाउन खोजेको आरोप लगाए । उनले सञ्चारकर्मीहरू अन्योलपूर्ण अवस्थामा काम गर्न बाध्य भइरहेको उल्लेख गर्दै परिवर्तनका आन्दोलनमा पत्रकारहरूको योगदान राज्यले बिर्सन नहुने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले पत्रकार अधिकार संकुचित गर्ने प्रयास भइरहेको भन्दै पत्रकारहरू पनि अनुशासित र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने वा दबाब दिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने उनको भनाइ थियो ।
डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले पत्रकारिता र समाजबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै पत्रकार सुरक्षाप्रति प्रशासन सचेत रहेको बताए । उनले सामाजिक सञ्जालमा आउने सूचनाको सत्यतथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा डडेल्धुरा उद्योग वाणिज्य संघ का अध्यक्ष दीपक महताले सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशामा मार्गनिर्देशन गरिरहेको बताए । डडेल्धुरा खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले पत्रकारलाई आवाज विहीनहरूको आवाजको रूपमा व्याख्या गर्दै पत्रकार अधिकारमाथि अंकुश लगाउने प्रयास भइरहेको बताए ।
अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले व्यावसायिक तथा खोज पत्रकारिताको आवश्यकता औंल्याउँदै पत्रकारहरूको क्षमता विकासमा नगरपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा जिल्ला नेता डम्बर साउदले भ्रष्टाचारविरुद्ध निर्भीक रूपमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरे भने नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले पत्रकारितालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले पत्रकारितामाथि अंकुश लगाउने सरकार दीगो नहुने उल्लेख गर्दै एमाले सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।
उद्घाटन सत्रमा विभिन्न विधामा सक्रिय पत्रकार तथा संस्थाहरूलाई सम्मान पनि गरिएको थियो । सक्रिय पत्रकारिता पुरस्कारबाट अमरगढी एफएम की स्टेशन म्यानेजर ममता भट्ट सम्मानित भएकी छन । खोज पत्रकारिता पुरस्कार गोरखापत्र डडल््धुराका संवाददाता पुष्कर भण्डारी लाई प्रदान गरिएको थियो ।
युवा सशक्त पुरस्कार सिमाना न्युज का सहसम्पादक शेरबहादुर भण्डारीलाई प्रदान गरिएको थियो । साथै पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक सदस्य बाबुराम श्रेष्ठ तथा संस्थागत विकासमा योगदान पुर्याएको भन्दै ऋषि खोला महिला सामुदायिक वन लाई पनि सम्मान गरिएको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा सचिव भीमबहादुर खत्रीले जानकार दिए ।
सम्बन्धित समाचार
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
मोबाइलको निहुँमा भनाभन हुँदा …
प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान
राष्ट्रपति पौडेलले गरे मन्त्रिपरिषद् हेरफेर
देशै टप्ने सिन्धुली फिक्कलका सामुदायिक विद्यालयको नतिजा
आईसीसी क्रिकेट : नेपाल र अमेरिका भिड्दै, यसकारण छ नेपालका लागि आजको खेल निकै महत्वपूर्ण
विद्यादेवी भण्डारीको सदयस्ता खुला गर्ने एमालेको निर्णय






