मौसम बदलीसँगै देशभर विपद्को जोखिम

काठमाडौं । मनसुनजन्य विपद्को सम्भावित जोखिम बढ्दै गर्दा संघीय सरकार विपद् प्रतिकार्य, उद्धार तथा राहतजन्य क्रियाकलापका लागि ‘स्ट्याण्डबाइ’ रहे पनि प्रदेश तथा स्थानीय सरकार अलमलमै छन् ।

संघीय सरकार ‘स्ट्याण्डबाइ’, प्रदेश र स्थानीय अलमलमै

मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढ्न थालेसँगै गृह मन्त्रालयले देशैभरका प्रदेश तथा स्थानीय सरकारलाई सम्भावित विपत् र त्यसको प्रतिकार्यको योजना तथा पर्याप्त पूर्वतयारी गर्न निर्देशन दिएको छ । संघीय सरकारले यस्तो निर्देशन दिए पनि अधिकांश प्रदेश तथा स्थानीय तह उपकरण तथा पर्याप्त स्रोत साधन अभाव भन्दै पन्छिएका छन् ।

मनसुनजन्य विपद्का बेला उद्धार तथा राहतलाई छिटो बनाउन सरकारले तीन वटै सुरक्षा निकायका २६ हजारभन्दा बढी सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्ति आवश्यकता अनुसार देशभर परिचालन हुनेछन् । सशस्त्र प्रहरीका गहिरो पानीमा उद्धार गर्न सक्ने प्रशिक्षित गोताखोरसमेत तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले यस वर्ष मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्य राखेको मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले बताए । सरकारले विपद्जन्य क्षेत्रको जोखिम पहिचान, पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, उद्धार सामग्रीको पूर्व भण्डारण तथा अन्तर निकाय समन्वयलाई प्राथमिकता दिइएको सचिव श्रेष्ठले बताए ।

गत वर्षको विनाशकारी वर्षापछि यसपालि पनि प्राकृतिक विपद्ले ठुलो क्षति पु¥याउन सक्ने आकलन गरिएकाले सरकारले पूर्व तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायले मनसुन पूर्वतयारीका विभिन्न निर्णय कार्यान्वयनमा लगेको दाबी गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर मार्फत २४ घण्टा नै उद्धार तथा राहत सम्बन्धी सेवाको व्यवस्थापन गरेको प्रवक्ता शान्ति महतले जानकारी दिइन् । ‘नेपाली सेनासँगको समन्वयमा पूर्वमा इटहरी, पश्चिममा रुकुम र मध्य क्षेत्रका लागि काठमाडौंमा हेलिकोप्टर स्ट्याण्डबाइ राखिएको छ, आवश्यक पर्दा निजी क्षेत्रका हेलिकोप्टरसँग पनि सम्झौता भएको छ’ प्रवक्ता महतले भनिन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षका लागि स्वीकृत ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना–२०८३’ अनुसार सम्भावित जोखिमको विश्लेषण गर्दै मन्त्रालय, सुरक्षा निकाय, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गरेको जनाएको छ । प्राधिकरणको अनुमानअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

प्राधिकरणका अनुसार देशका दुर्गम तथा उच्च जोखिमयुक्त क्षेत्रमा अस्थायी मनसुन प्रतिकार्य आधार स्थापना गरिएको छ भने केही संवेदनशील स्थानमा स्थायी विपद् व्यवस्थापन इकाइ सञ्चालनमा छन्। यसले विपद् भएको अवस्थामा उद्धार टोली घटनास्थलमा छिटो पुग्ने अपेक्षा गरिएको छ ।

मनसुन कमान्ड पोस्टको पहिलो बैठकले सबै ७७ जिल्ला सुरक्षा समितिलाई राष्ट्रिय कार्य योजना प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको छ । सम्भावित जोखिम भएका खोला, नदी, सडक र राजमार्गमा आवश्यक पर्दा सवारी सञ्चालन रोक्न, सडक खुलाउन हेभी उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्न, कम्तीमा १५ दिन पुग्ने खाद्यान्न भण्डारण गर्न तथा खोज, उद्धार र राहत सामग्री अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यसै गरी जल तथा मौसम विज्ञान विभागलाई मनसुन अवधिभर मौसम तथा बाढी पूर्वानुमान सेवा २४ घण्टा सञ्चालन गर्न, अन्तर्राष्ट्रिय नदी प्रणालीसम्बन्धी अग्रिम सूचना आदानप्रदानका लागि कूटनीतिक पहल बढाउन तथा निजी क्षेत्र, स्वयंसेवी संस्था र स्थानीय तहसँग समन्वय गर्न पनि निर्णय गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा पनि प्रतिक्रियामुखीभन्दा पूर्वतयारीमुखी विपद् व्यवस्थापन अवधारणालाई जोड दिएको छ । जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली, विपद् सुरक्षा अभ्यास तथा समुदायमा आधारित तयारीलाई संस्थागत गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

यद्यपि विज्ञहरूले सरकारी तयारीलाई सकारात्मक मान्दै कार्यान्वयन पक्ष अझै कमजोर रहेको औँल्याएका छन् । विशेष गरी पहाडी क्षेत्रमा अव्यवस्थित सडक निर्माण, नदी किनार र जोखिमयुक्त स्थानमा बढ्दो बस्ती, कमजोर पूर्वाधार तथा स्थानीय तहमा सीमित स्रोत–साधनका कारण विपद्को जोखिम अझै उच्च रहेको उनीहरूको भनाइ छ ।

गत वर्षको बाढी–पहिरोले मुलुकका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति पु¥याएको थियो । त्यस अनुभवबाट सिक्दै यसपालि सरकारले तयारीलाई सुदृढ बनाएको दाबी गरे पनि वास्तविक परीक्षा भने लगातारको वर्षापछि सम्भावित विपद्का घटनाले नै गर्नेछ । पूर्व सूचना समयमै प्रवाह गर्ने, जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण, उद्धारमा तीव्रता तथा राहत वितरणको प्रभावकारिता नै यस वर्षको मनसुन व्यवस्थापनको सफलता मापन गर्ने मुख्य आधार हुने देखिएको छ ।

१५३ को मृत्यु, ४१९५ परिवार प्रभावित
विपद्जन्य घटनामा वैशाखदेखि यता करिब ३ महिनामा मात्रै १५३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैशाखदेखि हालसम्म ३ हजार १२५ घटनामा ४ हजार १९५ परिवार प्रभावित भएका छन् । जसमा १५३ जनाको मृत्यु भएको छ भने ९२२ जना घाइते भएका छन् । मनसुनजन्य विपद्का घटनामा हावाहुरीबाट १३, बाढीबाट ९, पहिरोबाट ९, भारी वर्षा ३, ढुंगा पल्टेर १ जनाको मृत्यु भएको छ ।

सोमवार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले स्कुटीसहित चालकलाई बगाएको छ ।

कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता व्यक्तिको परिचय यो समाचार तयार पार्दासम्म खुलेको छैन ।

बाढीको जोखिमले नाकाबन्दीमा उपत्यका
अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँग विभिन्न जिल्लाको आवागमन ठप्प भएको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार दिनभरजसो पानी पर्ने चेतावनी दिएसँगै यातायत आवागमनमा निगरानी बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ जरुरी सूचना सार्वजनिक गर्दै नारायणगढ–मुग्लिन सडकका विभिन्न भागमा सम्भावित बाढी पहिरोका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि आवागमन रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सवारी आवागमनमा रोक लगाएको सूचना जारी गर्दै अत्यावश्यक यात्रा गर्नुपरे औषधि, यात्रा झोलामा सुख्खा खानेकुरा तथा मोबाइल चार्जर अतिरिक्त कपडासहित यात्रा गर्न आग्रह गरेका छन् ।

कान्ति लोकपथ हुँदै हेटौँडा र सिन्धुली जाने यात्रुहरूलाई बुधवार बिहान ६ बजेसम्मका लागि आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले जानकारी दिइन् ।

अत्यावश्यकीय काम बाहेक यात्रा नगर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गरी राजमार्ग बन्द गरिएको जानकारी दिएको छ । कान्ति लोकपथ प्रयोग गर्ने यात्रुहरूलाई उपत्यकाबाट बाहिर जानेलाई उपत्यकामै र उपत्यका भित्रिनेलाई हेटौँडामै होल्ड गर्ने गरी समन्वय भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ढुंगेललेले बताइन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा हेटौँडा–भैँसे–भिमफेदी देउराली हुँदै काठमाडौं आउने सडक मार्ग प्रयोग गर्ने सबै सवारी साधनलाई हेटौँडामा होल्ड गरिएको छ । सोमबार साँझदेखि मंगलबार बिहान ५ बजेसम्मलाई सडक मार्गबाट काठमाडौं जान रोक लगाएर होल्ड गरिएको मकवानपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उपत्यकाबाट पूर्वी तराइ ओहोरदोहोर हुने बनेपा–बर्दिबास अरनिको राजमार्ग विपद्जन्य घटना लगायतका कारण रात्रिकालीन सवारीसाधन बन्द नै रहेको र वर्षा बढ्नासाथ यातायात बन्द गरिने निर्णय भइसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक