काठमाडौं । आम जनता पार्टी (आजपा)ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ ।
आजपा प्रवक्ता सुभाषप्रसाद साहद्वारा आज जारी प्रेस वक्तव्यमा सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको दाबी गरिएको छ ।
राजस्व असुली ठप्प, पूँजीगत खर्च निराशाजनक
विज्ञप्ति अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको छ भने राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको छ । विकास निर्माणका लागि विनियोजन गरिएको कुल पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोरी र न्यून कार्यक्षमता उदाङ्गो पारेको आजपाको ठहर छ ।
देश ‘ऋणको दुष्चक्र’ मा फस्ने खतरा
देशको सार्वजनिक ऋण तीव्र रूपमा बढेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगिसकेको विज्ञप्तिमा उल्लेख छ । संकलित राजस्व र वैदेशिक सहायताले चालू खर्च समेत धान्न नसकेर ऋणको सावाँ–ब्याझ तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएको तर्फ पार्टीले सचेत गराएको छ ।
आर्थिक सूचकहरू नकारात्मक
आर्थिक वर्ष २०८२/८३ को आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको ३.८५ प्रतिशत समेत हासिल हुन नसकेको र उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर बजार मूल्य नियन्त्रण बाहिर गएको आजपाले जनाएको छ । बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह केवल ६.२ प्रतिशत मात्र हुनु र प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता गत वर्षको तुलनामा २८ प्रतिशतले घट्नुले देशमा लगानीको वातावरण ध्वस्त भएको पुष्टि गर्ने वक्तव्यमा उल्लेख छ ।
‘ग्रे लिस्ट’ को जोखिम र पुँजी पलायन
न्यून मूल्याङ्कन मार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी फितलो नियमनका कारण वित्तीय कारबाही कार्यदलले नेपाललाई सन् २०२६ को जुनसम्म ‘ग्रे लिस्ट’ (निगरानी सूची) मा राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय कारोबार महँगो र जटिल बन्ने खतरा बढाएको छ ।
‘मेरिटोक्रेसी’ को धज्जी र अदालती हस्तक्षेप
सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका ठूला कुरा गरे पनि व्यवहारमा आफ्ना नजिकका मानिसहरूलाई मात्र नियुक्ति दिएर नाराको धज्जी उडाएको आरोप लगाइएको छ । मन्त्रालयको संख्या घटाएको प्रचार गरेर सल्लाहकार र स्वकीय सचिवालयको भीड बढाउँदै फजुल खर्च कायमै राखिएको र सरकारले गरेका अधिकांश राजनीतिक निर्णयहरू अदालती आदेशबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्काउने पार्टीको भनाइ छ ।
इतिहासकै सबैभन्दा खराब वर्ष
‘जेन जी’ आन्दोलनको रापतापमा बनेको र दुई–तिहाइ बहुमत पाएको वर्तमान सरकार यति छोटो अवधिमै पूर्ण रूपमा अलोकप्रिय बनेको आजपाले दाबी गरेको छ । आर्थिक वर्ष २०८२/८३ को कार्यकाल वित्तीय कार्यसम्पादनका हिसाबले इतिहासकै सबैभन्दा खराब वर्ष साबित भएको निष्कर्ष निकाल्दै आजपाले दलहरूबीच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकाका कार्यक्रमहरूमा बेलैमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
सम्बन्धित समाचार
कर्णाली दुर्घटनाको विषयमा रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
देउवा पुत्र जयबीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित
संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न
हर्कको कटाक्ष : सरकारकै जस्तो सबैको जीवन चिटिक्क हुँदैन
सम्पत्ति खोज्दै हिँडेका पूर्वमन्त्रीले पाएको हैरानी !
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड






