कम्बोडियामा नेपालीलाई साइबर दास बनाउने गिरोह सक्रिय

काठमाडौँ। मानव तस्करीको जोखिममा परेका ४ सय नेपाली नागरिकलाई एक वर्षको अवधिमा कम्बोडियाबाट उद्धार गरिएको छ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार आयोजित मानव बेचबिखनविरुद्धको कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले आर्थिक वर्ष २०८२-८३ मा ठूलो संख्यामा नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार उक्त अवधिमा कम्बोडियाबाट उद्धार गरिएकामध्ये ३८२ जना पुरुष र १८ जना महिला रहेका छन्।

ब्युरोको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा कम्बोडियाबाट १४ जना नेपालीको उद्धार गरिएको थियो। सो अवधिमा १२ पुरुष र दुई महिलालाई उद्धार गरिएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८०-८१ मा दुई जना, २०७९-८० मा एक जना र २०७८-७९ मा पाँच जना नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको तथ्यांक रहेको छ।

प्रहरीका अनुसार रोजगारी तथा आकर्षक अवसरको प्रलोभन देखाएर मानव तस्करहरूले नेपाली नागरिकलाई कम्बोडिया पुर्‍याउने गरेका छन्। त्यहाँ पुगेपछि कतिपयलाई साइबरसम्बन्धी अवैध गतिविधिमा जबर्जस्ती संलग्न गराउने गरिएको अनुसन्धानबाट देखिएको ब्युरोले जनाएको छ।

मानव बेचबिखनका बदलिँदा स्वरूप र प्रविधिको दुरुपयोगसँगै विदेशमा रोजगारीको नाममा हुने ठगी तथा शोषण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग