चन्दा उठाएर बेसहारा खातुनलाई नयाँ जीवन दिने प्रयास

राजविराज । चरम गरिबीका कारण थप उपचार गराउन असमर्थ भएकी सप्तरीको खडक नगरपालिका ४ की जलिफन खातुनको ज्यान जोगाउन चन्दा सङ्कलन अभियान चलाइएको छ ।

५० बर्सिया भूमिहीन खातुनको श्रीमान्को ६ वर्ष अघि निधन भइसकेको छ । घरमा १० वर्षीय एक मात्र छोरा छन् । घरमा कमाउने कोही नभई बेसहारा जीवन बिताई रहेकी उनलाई अहिले ब्रेन ट्युमर रोगले सताएपछि थप विपत्ति आइपरेको छ ।

अमहा टोल स्थित पोखरी डिलमा रहेको ऐलानी जग्गामा फुसको एउटा सानो झुप्रो बनाई बसोबास गर्दै आएकी खातुनको दयनीय अवस्था हेरेर टोलकै केही व्यक्तिले डेढ लाख जति चन्दा उठाएर दुई महिना अघि विराटनगरमा प्रारम्भिक उपचार गराइ दिएका थिए ।

विराटनगरमा जाँचका क्रममा चिकित्सकले ब्रेन ट्युमर भएको तथा उपचारका लागि ६ लाख रुपैयाँ थप खर्च लाग्ने बताएपछि रकम अभावमा उपचारै नगरी उनी घर फर्किएकी छिन् ।

काठमाडौँमा भने पाँच लाख रुपैयाँमा उपचार हुने गाउँका स्वास्थ्यकर्मीहरुले बताएको खातुनले सुनाइन । तर, पैसाको जोहो हुन नसक्दा रोग पालेर घरमै बसिरहेको उनले लाचारी व्यक्त गरेकी छिन् ।

यसैबिच खातुनको ज्यान जोगाउन र नयाँ जीवनका लागि उपचार खर्च जुटाउन चन्दा सङ्कलन अभियान थालिएको छ । सामाजिक अभियन्ता अनवर अलीको अगुवाइमा उपचार खर्च जुटाउन शुक्रवारदेखि चन्दा सङ्कलन अभियान थालिएको छ ।

आफूले समेत केही नगद सहयोग गरी सुरु गरेको “खातुन बचाउ, चन्दा सङ्कलन अभियान” मा सबैको सहयोगबाट उपचार खर्च सङ्कलन हुने र खातुनले नयाँ जीवन प्राप्त गर्ने विश्वास गरिएको सामाजिक अभियन्ता अलीले बताए ।

उपचारका लागि पैसाको खोजीमा भौँतारिएकी खातुनलाई उपचार खर्चमा सहयोग गर्न उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदी–बहिनीलाई अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव