मन्त्रिपरिषद् विस्तारमै अल्झिए कर्णालीका मुख्यमन्त्री शाही, २३ दिन बित्दा पनि सहमति हुन सकेन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीका लागि आज (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने दिन मात्र होइन, सत्ता साझेदारीको गाँठो फुकाउने दबाबको दिन पनि बनेको छ । मुख्यमन्त्री नियुक्त भएको २३ दिन पुग्दा विश्वासको मत लिन लागेका शाहीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा सरकारको नियमित कामकारबाहीसमेत प्रभावित हुन थालेको छ ।

नेकपा संसदीय दलका नेता शाही १२ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्ने भए पनि शाहीको पक्षमा नेकपाका १४ र एमालेका १० गरी २४ सांसद छन् । अंकगणितीय रूपमा विश्वासको मत सुरक्षित देखिए पनि सरकार सञ्चालनका लागि आवश्यक राजनीतिक सहमति भने अझै सहज बन्न सकेको छैन ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार मुख्यमन्त्री शाहीले सोमबार विश्वासको मत लिनेसम्बन्धी पत्र सचिवालयमा पठाएका थिए । यसअघि २६ साउनमा विशेष कारण देखाउँदै २ भदौका लागि तय गरिएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यसबेला पनि मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी थियो । तर, सत्ता साझेदार एमालेसँग सरकार विस्तारका विषयमा सहमति नजुटेपछि बैठकसमेत प्रभावित भएको बताइएको छ । आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा राख्ने वा बैठक स्थगित गर्ने’bout निर्णय गर्नेछ ।

मुख्यमन्त्री शाहीका लागि अहिले सबैभन्दा ठूलो चुनौती विश्वासको मतभन्दा मन्त्रिपरिषद् विस्तार बनेको छ । सरकार गठन भएको तीन साता बितिसक्दा पनि उनले आफ्नै दलबाट समेत मन्त्री नियुक्त गर्न सकेका छैनन् । एमालेले सुरुमा सरकारमा चार मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेको थियो । तर, नेकपाले मन्त्रालय समान रूपमा बाँडफाँड गर्नुपर्ने अडान लिएपछि दुई दलबीच सहमति जुट्न सकेको छैन । प्रदेश तहमा सहमति नबनेपछि मन्त्रालय बाँडफाँडको विषय केन्द्रीय नेतृत्वसम्म पुगेको थियो ।

नेकपा र एमालेबीच ९ साउन २०८३ मा प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा तीनबुँदे सहमति भएको थियो । एमाले र कांग्रेसबीचको झण्डै दुई वर्ष लामो सत्ता गठबन्धन भत्किएपछि बनेको एमाले–नेकपा सहकार्यले कर्णालीमा नयाँ सरकारको बाटो खोले पनि मन्त्रालय बाँडफाँडको विवादले त्यसको कार्यान्वयनमा जटिलता थपेको छ । केन्द्रीय तहमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँडको आधार तय भए पनि कर्णालीमा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

‘विगतको अभ्यास’मा अडिएको एमाले

एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाई मन्त्रालय बाँडफाँडमा विगतको अभ्यासलाई आधार बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् । उनका अनुसार केन्द्रले आधार तय गरे पनि कर्णालीमा विगतमा अपनाइएको अभ्यासअनुसार सहमति खोज्ने प्रयास भइरहेको छ ।
‘विगतमा हामीले नेतृत्व गर्दा मन्त्रालयको विषयमा उहाँहरूले जे माग गर्नुभएको थियो, अहिले हामीले पनि त्यही भनिरहेको अवस्था हो,’ पछाईले भने, ‘अहिले उहाँहरू नेतृत्वमा हुनुहुन्छ, हामी सरकारमा सहभागी छौँ । विगतमा सरकारको नेतृत्व गरेको दलले नभई साझेदार दलले मन्त्रालय रोज्ने अभ्यास हो । यसमा सहमति जुटाउने जिम्मा त उहाँहरूकै होला ।’

एमालेको तर्कमा सरकारको नेतृत्व गरिरहेको नेकपाले मन्त्रालय बाँडफाँडमा साझेदार दलसँग बार्गेनिङ गर्न नहुने भन्ने छ । यही विषयमा नेकपा र एमालेबीच सहमति जुट्न नसक्दा सरकार विस्तार रोकिएको हो ।

प्रदेशसभामा शाहीको पक्षमा २४ सांसद रहेकाले विश्वासको मत प्राप्त गर्न कठिनाइ देखिँदैन । तर, विश्वासको मत पाएपछि पनि सरकार सञ्चालनको मुख्य समस्या तत्काल समाधान हुने अवस्था छैन । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार एमालेसँग सहमति जुटाउनुपर्ने बाध्यता शाहीसामु कायमै रहनेछ । सरकारको नेतृत्व गर्ने दल र सत्ता साझेदारबीच मन्त्रालय बाँडफाँडमै सहमति नजुट्दा मुख्यमन्त्रीले आफ्नो दलबाट समेत मन्त्री नियुक्त गर्न नसक्नुले सरकारको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

प्रदेशका मन्त्रालय मन्त्रीविहीन रहँदा राजनीतिक निर्णय प्रक्रियामा ढिलाइ हुनुका साथै सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत असर परेको छ । शाहीका लागि आजको विश्वासको मत संख्याको परीक्षा मात्र होइन, सत्ता साझेदारबीचको विश्वास कायम राख्ने राजनीतिक परीक्षासमेत बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत