आयुष कुँवरले आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै बनाए नयाँ इतिहास

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

अगस्ट ९, २०२६ मा लन्डनमा सम्पन्न प्रतियोगितामा कुँवरले २१.६६ सेकेन्डमा २०० मिटर पूरा गर्दै यसअघि आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले यसअघि अमेरिकाको लस एन्जलसमा २१.८७ सेकेन्डमा दौड पूरा गर्दै सन् १९९५ देखि कायम २१.९२ सेकेन्डको ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका थिए।

यसअघि कुँवरले ६० मिटर दौडमा पनि रामकृष्ण चौधरीले सन् २००१ मा बनाएको ७.०९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए। उनका उपलब्धि विश्व एथलेटिक्सबाट मान्यताप्राप्त प्रतियोगितामा हासिल भएका हुन्।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिएका कुँवरले चोटपछि उत्कृष्ट पुनरागमन गर्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेका हुन्। सीमित स्रोतसाधन, प्रशिक्षणका चुनौती र खेलसँगै व्यक्तिगत व्यवस्थापन गर्नुपर्ने अवस्थाबीच उनले निरन्तर मेहनत गर्दै आएका छन्।

कुँवरलाई नेपाली खेलकुदमा प्रतिभावान खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले शिवम् सिमेन्टले सन् २०२३ देखि सहयोग गर्दै आएको छ। प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि हवाई टिकट, पोशाकलगायत आवश्यक सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।

कीर्तिमानपछि कुँवरले तीन दशक पुरानो राष्ट्रिय कीर्तिमान तोड्न पाउँदा गर्व लागेको बताउँदै नेपाली स्प्रिन्टरहरूले पर्याप्त अवसर पाए अझ उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताए। उनले नयाँ पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले ‘स्प्रिन्ट प्रोजेक्ट’ सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए।

शिवम् सिमेन्टले कुँवरको ऐतिहासिक उपलब्धिप्रति बधाई दिँदै नेपाली खेलकुदको विकास र प्रतिभावान खेलाडीको प्रोत्साहनमा आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ। कम्पनीले सन् २०२७ मा अमेरिकामा हुने वर्ल्ड मास्टर्स इन्डोर च्याम्पियनसिपका लागि कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई समेत सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री भन्छन् : आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?