नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही ३१ भदौदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत ५ जेठदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए ।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उनले बताए ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि १७ साउन २०७८ देखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुनी वायुको प्रभाव कायमै, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना