भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन

उदयपुर । भोटेकोशी नदिमा आएको विनाशकारी बाढीमा परी उदयपुरका १२ जना सम्पर्क बिहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विभिन्न कामको सिलसिलामा भोटेकोशी तटीय क्षेत्रमा कार्यरत उदयपुरका १२ जना सम्पर्क बिहीन भएको जानकारी आएको छ ।

१२ जनाको परिवारबाट सम्पर्क बिहीन भएको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईंका अनुसार बिहिवार सम्म सम्पर्क बिहीन व्यक्तिका परिवारसँग सामाजिक सञ्जाल लगायतका माध्यमबाट जानकारी लिएर १२ जनाको पुष्टि गरिएको हो । उनका अनुसार थप एक जनाको परिवार पत्ता लगाउने काम भइ रहेको छ । उनले भने, ‘सामाजिक सञ्जालमा सम्पर्क बिहीन भएको सूचना परिवारले हालेका छन् । तर, हामीले पुष्टी गर्न सकेका छैनौँ । पत्ता लगाउँदैछौँ ।

बेपत्ता भएका व्यक्तिहरूमा त्रियुगा नगरपालिका–१४, साउने धाप्लाङघाटका १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी रहेका छन् । प्रहरीका अनुसार उनीहरू सबै रसुवा हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत थिए । त्यसैगरी कटारी नगरपालिका–५ का ३२ वर्षीय बुद्धिमान नेपाली पनि सम्पर्क बिहीन छन् ।

उनी रसुवाको टिमुरे बजारस्थित एक ग्यारेजमा कामदारका रूपमा कार्यरत थिए । लिम्चुङबुङ गाउँपालिका–४, बलम्ताका २४ वर्षीय सुमन समीर राई पनि सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ । नेपाली सेनामा कार्यरत राई रसुवा क्षेत्रकै ब्यारेकमा कार्यरत रहेको जानकारी आएको प्रहरी उपरिक्षक चापागाईंले जानकारी दिए ।

त्यसैगरी त्रियुगा नगरपालिका–४ का ४२ वर्षीय देवेन्द्र घिमिरे पनि त्रिशूली हाइड्रोबाट सम्पर्क बिहीन भएका छन् । उनी माथिल्लो त्रिशूली हाइड्रोमा कामदारका रूपमा कार्यरत थिए । त्यसैगरी गोसाइँकुण्ड घुम्न गएका त्रियुगा नगरपालिका–९ का २५ वर्षीय भोलाराज भनिने कुशल कार्की पनि सम्पर्क बिहीन भएका छन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिका–७ तिरिबासका स्थानीय अरुन मगर र सार्के मगर बेपत्ता भई परिवारको सम्र्पकमा नआएको जनाएका छन । त्यसैगरी त्रियुगा नगरपालिका– १० बोक्सेकी मनिका विश्वकर्मा र रियाज विश्वकर्मा नुवाकोटबाट बेपत्ता भएको परिवारले जनाएको छ । त्यसैगरी त्रियुगा नगरपालिका–७ का धु्रव बस्नेत पनि रसुवाको टिमुरेबाट सम्पर्क बिहीन भएका छन् । उनी रसुवा हाइड्रोपावरमा सवारी चालकका रूपमा कार्यरत थिए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले दिएको जानकारी अनुसार उदयपुरका १३ जना सम्पर्क बिहीन भएको सुचना आएको बताए । उनका अनुसार बिहीवार बिहानसम्म १२ जनाको पुष्टि भएको र बाँकी एक जनाको विवरण यकिन गर्ने काम भइ रहेको छ । हामीले हालसम्म १२ जनाको पुष्टि गरेकाछौँ ।

सामाजिक सञ्जालमा परिवारका सदस्यले सार्वजनिक गरेको विवरण अनुसार सम्पर्क बिहीनको संख्या १३ पुगेको छ । बाँकी व्यक्तिको पनि पहिचान तथा परिवारसँग सम्पर्क गर्ने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी मंग्रातीले भने ।

प्रमुख जिल्ला अधिकारी मंग्रातीका अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उदयपुरबाट रोजगार, व्यापार तथा अन्य कामको सिलसिलामा गएका र अहिले सम्म आफन्तको सम्पर्कमा नआएका व्यक्तिको यकिन विवरण संकलन गरी खोज तथा उद्धारका लागि सूचना जारी गरेको छ ।

प्रशासनले त्यस्ता व्यक्तिका आफन्तलाई नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय उदयपुरमा जानकारी गराउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन