इलाम । इलामका ग्रामीण क्षेत्रमा सञ्चालन हुने केही सार्वजनिक सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन । जिल्लाको बेलासे, सिद्धीथुम्का, जितपुर, राँगापानी, महमाई, फुएतप्पा, लुम्देलगायतका ग्रामीण क्षेत्रमा जाने सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइएको हो । सिट भरिएपनि सवारीको छत तथा बाहिरी भागमा समेत मानिस राखेर यात्रा गराउने गरिएको पाईएको छ । ग्रामीण सडकमा सवारीसाधन पर्याप्त नहुनु र नियमित यातायातको अभावका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
ग्रामीण सडक अनी छतमा यात्रु राखेर यात्रा गर्नुले दुर्घटनाको जोखिम बढाएको छ । विशेषगरी घुमाउरो र साँघुरो ग्रामीण सडकमा क्षमताभन्दा बढी भार र यात्रु राखेर सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको हो । सार्वजनिक सवारीको छतमा यात्रु राख्ने विषयमा सरकारले यसअघि नै कडाइ गर्दै आएको छ । सवारीको छतमा क्यारियर राखेर मानिस तथा सामान बोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो व्यवस्था हटाइएको छ ।
तर ट्राफिक प्रहरीको चेकिङ थाहा पाएपछि क्षमताभन्दा बढी यात्रुलाई सवारीबाट ओरालेर हिँडाउने गरेको र चेकिङस्थल केही पर कटेपछि ती यात्रुहरूलाई फेरि त्यही सवारीमा चढाउने गरिन्छ । “चेकिङमा यात्रु ओराल्नुपर्छ, केही पर पुगेपछि फेरि चढाउनुपर्छ,” एक चालकले भने, “गाउँ जाने मान्छेलाई बीच बाटोमा छाडेर हिँड्न पनि सकिँदैन प्रहरीबाट पनि जोगिनुपर्छ नत्र जरिवाना काटिन्छ ।” सडक अफठेरो भएका ठाउँमा पनि यात्रु न ओरली लैजान सकिँदैन । गाउँसम्म जाने अर्को विकल्प नभएपछि यात्रु पनि हिँड्दै चड्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
रहर होइन, बाध्यता हो
ग्रामीण क्षेत्रमा पर्याप्त सार्वजनिक सवारी नहुँदा एउटा गाडी छुटे अर्को गाडी कहिले आउने हो भन्ने निश्चित हुँदैन । गाउँ पुग्नैपर्ने यात्रुले जोखिम देख्दादेख्दै पनि चढ्नुपर्ने अवस्था छ । “बिहान गाउँबाट गएको गाडीमा जसरी भए पनि फर्किन पाइएन भने बजारमै बस्नुपर्ने हुन्छ,” जितपुरका कमल लिम्बू भन्छन्, “बजारमै बस्नुप¥यो भने खर्च पनि बढ्छ, घरमा पनि बिचल्ली हुन्छ, घर पुगेर गाईबस्तुको धन्दापात पनि गर्ने पर्छ । दुःख–सुख गरेर भए पनि घर आउनै पर्ने बध्यता रहेको उनको भनाई छ ।”
ग्रामीण सडक आफैँमा जोखिमपूर्ण छन् । वर्षायाममाग्रामीण सडकको अवस्था झन् जोखिमपूर्ण हुन्छ । यस्तो सडकमा क्षमताभन्दा बढी यात्रु राखेर सवारी गुड्दा झन जोखिम थपिन्छ । सवारी चालकको आफ्नै बाध्यता छ । उनीहरू भन्छन्, “यात्रु छाडेर कसरी जाने ?” यात्रुको पनि आफ्नै बाध्यता छ । उनीहरू भन्छन्, “जसरी भए पनि गाउँसम्म लैजानुस्, गाउँ पुग्न अर्को विकल्प पनि छैन ।”
ग्रामीण क्षेत्रमा एउटा सवारी छुट्दा भोलीपल्ट मात्रै सवारी पाउने अवस्था छ जसका कारण यात्रुहरू जोखिम मोलेरै भए यात्रा गर्न बाध्य छन । चालकले पनि यात्रुको बाध्यताले क्षमता भन्दा बढी बोक्नु परेको छ । गाउँका यात्रुलाई छाडेर हिँड्न चालकलाई पनि सहज छैन । यात्रुलाई पनि गन्तव्यसम्म पुग्न अर्को विकल्प छैन । तर यात्रुको बाध्यता देखाएर सवारी चालकले कानुनविपरीत यात्रु बोक्न भने पाउँदैनन् ।
यता, ट्राफिक प्रहरी कार्यालय इलामले सडकमामा सञ्चालन हुने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्न नपाउने जनाएको छ । क्षमताभन्दा बढी बोकेको भेटिएमा कारबाहीसमेत गर्ने गरिएको कार्यालयले जनाएको छ । तर, ग्रामीण सडकमा भने ठाउँ–ठाउँमा मात्रै चेकपोस्ट रहने भएकाले सबै स्थानमा नियमित निगरानी गर्न नसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनले सार्वजनिक यात्रुवाहक सवारीमा दर्ताे सिट सङ्ख्याभन्दा बढी यात्रु राखेर चलाउन रोक लगाएको छ भने सवारी तथा यातायात व्यवस्था नियमावलीले पनि सवारीको किसिमअनुसार यात्रु बोक्ने क्षमता निर्धारण गरेको छ ।
सम्बन्धित समाचार
पानालाल–कुश्मीको पूरा भयो आफ्नै घरको सपना
पाँच वर्षमा कोशी प्रदेशमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते
सालपा पोखरी मेलामा कुटपिटवाट शिक्षकको हत्या, ११ जना पक्राउ
‘खिजीदेम्बालाई ओखलढुंगाको कर्णाली भनिन्छ, विकासको पहिलो प्राथमिकता सडक सञ्जाल हो’
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित
युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन






