सिरहा । घरको आँगनमा चापाकल छ । तर पानी आउँदैन । छिमेकीको एउटै समरसेबल पम्पमा करिब दुई सय परिवारको लाइन लाग्छ । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना–हरिहरपुरका स्थानीयले खेप्दै आएको सास्तीको दृष्य हो यो ।
मधेशमा धारा छ, छैन शुद्ध पानी
स्थानीय मोहन झाको घरमा जडान गरिएको समरसेवल पम्पबाट पानी भर्न स्थानीय दैनिक घण्टौँ लाइन बस्छन् । दुई बाल्टी पानी भर्नसमेत लामो समय कुर्नुपर्ने अवस्था छ ।
झाका अनुसार बेतौनामा पछिल्लो पाँच वर्षदेखि खानेपानीको समस्या बढ्दै गएको हो । वर्षायाममा पर्याप्त पानी परेको अवस्थामा केही समय चापाकलमा पानी आए पनि लामो समय वर्षा नभए चापाकल सुक्छन् । यसवर्ष चापाकल सुक्न थालेको उनी बताउँछन् ।
‘असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो । तर यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ,’ उनले भने ।
खानेपानीका लागि भूमिगत पानीमा निर्भर बेतौनामा अहिले कृषि सिँचाइले समेत भूमिगत पानीमाथि दबाब बढाएको छ । खडेरीका कारण खेतमा सिँचाइको माग बढेपछि एकैपटक मोटर र दमकल चलाउँदा भूमिगत पानीको सतह थप घटेको स्थानीयको भनाइ छ ।

५८ प्रतिशत ट्युबवेलकै भरमा
बेतौनाको समस्या अपवाद होइन । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेशका ५८.१ प्रतिशत घरधुरीको मुख्य खानेपानी स्रोत ट्युबवेल–ह्यान्डपम्प हो । धारा वा पाइपको पहुँच ३५.९ प्रतिशत घरधुरीमा मात्रै छ । अर्थात् आधाभन्दा बढी घरधुरी खानेपानीका लागि भूमिगत पानीमा निर्भर छन् । राष्ट्रियस्तरमा धारा–पाइपको पहुँच ५७ प्रतिशत हुँदा मधेशमा यो हिस्सा देशभरकै कम हो ।
ट्युबवेल–ह्यान्डपम्पमा निर्भर घरधुरी
सप्तरीः ९३.४ प्रतिशत
सिरहाः ७८.६ प्रतिशत
धनुषाः ७५.३ प्रतिशत
रौतहटः ६९.२ प्रतिशत
सर्लाहीः ६७.६ प्रतिशत
महोत्तरीः ६३.२ प्रतिशत
पर्साः ६२ प्रतिशत
बाराः ६०.६ प्रतिशत
श्रोतः राष्ट्रिय जनगणना २०७८
सिरहामा भूमिगत पानीमाथिको निर्भरता झन बढी छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका ७८.६ प्रतिशत घरधुरीको मुख्य खानेपानी स्रोत ट्युबवेल–ह्यान्डपम्प हो । धारा वा पाइपको पहुँच १०.१ प्रतिशत घरधुरीमा मात्रै छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेशका आठ जिल्लामध्ये सबैभन्दा बढी सप्तरीका ९३.४ प्रतिशत घरधुरी खानेपानीका लागि ट्युबवेल–ह्यान्डपम्पमा निर्भर छन् । सिरहामा ७८.६, धनुषामा ७५.३, रौतहटमा ६९.२, सर्लाहीमा ६७.६, महोत्तरीमा ६३.२, पर्सामा ६२ र बारामा ६०.६ प्रतिशत घरधुरीको मुख्य खानेपानी स्रोत ट्युबवेल–ह्यान्डपम्प हो ।
चालू आर्थिक वर्ष २०८३–०८४ को बजेटमा सरकारले सुख्खायाममा हुने खानेपानीको चरम अभाव समाधान गर्न समुदायस्तरमा डिप बोरिङसहितको खानेपानी प्रणाली विकास गर्ने घोषणा गरेको छ । तराई–मधेशमा अधुरा रहेका २८० वटा खानेपानी आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । तर जनता भने खानेपानीका लागि अहिले पनि घन्टौ लाइनमा बस्न बाध्य छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको चालू आर्थिक वर्षको बजेटमा तराई–मधेश खानेपानी सुधार कार्यक्रमका लागि १४ करोड ३३ लाख रुपैयाँ संघीय सशर्त अनुदानको व्यवस्था गरिएको छ । यो अघिल्लो दुई वर्षको विनियोजनभन्दा बढी भए पनि पर्याप्त नभएको खानेपानीका क्षेत्रमा कार्यरत संघसंस्थाहरुको गुनासो छ ।
सरकारले मधेशका आठ जिल्लामा सुनकोशी–मरिन तथा सुनकोशी–कमलाबाट थोक वितरण प्रणालीमार्फत पानी आपूर्ति गर्ने सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । बेतौनाका स्थानीयका अनुसार तत्काल वैकल्पिक खानेपानी व्यवस्था नगर्ने हो भने समस्या अझ गम्भीर बन्न सक्छ ।
तस्वीर नेपाल फोटो लाइब्रेरी
सम्बन्धित समाचार
राजविराज उच्च बारमा बहादुरको प्रवेशले भिड्न्त रोचक
भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
बाढी प्रभावित ३ जिल्लामा सशस्त्र प्रहरीको १२ वटा अस्थायी बेश स्थापना
‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो ?’
‘आमा, धन्न बाँचेर आएँ’
चाडपर्वको रौनकभन्दा ठूलो मानवीय संवेदना
बारमा बलराम, गोला तानेर कोषाध्यक्ष बने भोगीलाल
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल






