डडेल्धुरा । बजारमा प्रतिकेजी १५० रुपैयाँ पर्ने चिनी साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा एक सय रुपैयाँमा बिक्रि गरिन थालेपछि उपभोक्ताको लामो लाईन लागेको छ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै डडेल्धुरामा साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग र बजार मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेसन डडेल्धुरा शाखाले असोज ६ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट चिनी, नुन, खानेतेल, दाललगायतका दैनिक उपभोग्य वस्तु बजार मूल्यभन्दा सहुलियत दरमा खरिद गर्न सकिने व्यवस्था गरिएको छ । जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका ५, तुफानडाडामा सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १०० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै नुनमा प्रतिकेजी दुई रुपैयाँ तथा खानेतेल र दाललगायतका वस्तुमा प्रतिकेजी वा प्रतिलिटर सात रुपैयाँसम्म छुट उपलब्ध गराइएको छ ।
सुपथ मूल्य पसलबाट चिनी खरिद गर्ने उपभोक्ताले एक पटकमा बढीमा पाँच केजी र नुन छ केजीसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । साल्ट ट्रेडिङ कर्पाेरेसन डडेल्धुराका प्रमुख देवबहादुर पालका अनुसार सुपथ मूल्य पसल सञ्चालनमा आएपछि दैनिक चारदेखि पाँच सयको हाराहारीमा उपभोक्ता सामान खरिद गर्न आउने गरेका छन् । उपभोक्ताहरु लाई नागरिकता वा अन्य सरकारी परिचय पत्रका आधारमा खाद्यवस्तु बिक्रि भईरहेको उनले बताए । चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई सहुलियत दरमा आवश्यक सामग्री उपलब्ध गराउन पसल सञ्चालन गरिएको उनको भनाई छ ।
उनका अनुसार सुपथ मूल्य पसल कात्तिक मसान्तसम्म सञ्चालन हुने छ । यस अवधिमा उपभोक्ताले बजारमा मूल्य बढेको अवस्थामा पनि तोकिएको सहुलियत मूल्यमा आवश्यक सामग्री खरिद गर्न सक्नेछन् ।
डडेल्धुरामा सुपथ मूल्य पसल सञ्चालन भएपछि सदरमुकाम तथा आसपासका उपभोक्तालाई चाडपर्वका लागि आवश्यक खाद्यान्न खरिदमा सहजता भएको छ । नियमित बजार अनुगमन र पर्याप्त मौज्दात कायम गर्न सके सुपथ मूल्य पसलले चाडपर्वको समयमा उपभोक्तालाई थप राहत दिन सक्ने देखिन्छ ।
सम्बन्धित समाचार
कैलालीका स्तरीय होटल राति १२ बजेसम्म सञ्चालन गर्न पाइने
धनगढी उपमहानगरले १२ वटा वडाका किसानलाई गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
निजामती सेवा विधेयक : लोकसेवा आयोगको परामर्श कुर्दै सरकार, यी हुन् प्रस्ताव गरिएका नयाँ व्यवस्था
३६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
मंगलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
सहमतिका लागि अछाम २ मा कांग्रेसको सहजीकरण समिति






