खोलामा बगेका तेजबहादुरका दुई कार्यकाल

बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ मा केही वर्षअघिसम्म वडा कार्यालय थिएन । स्थानीय भैरव माध्यमिक विद्यालयको एउटा खाली कोठा भाडामा लिएर कार्यालय चल्थ्यो ।

महिनाको ६ हजार रुपैयाँ भाडा तिरेर सञ्चालन भएको त्यही कार्यालयका लागि आफ्नै भवन बनाउने सपना संघीयतापछिको पहिलो स्थानीय तह निर्वाचनपछि पूरा भयो । तर, त्यो सपना लामो समय टिकेन ।

गत ११ असोजमा दरमखोलामा आएको बाढीले वडा कार्यालयको नयाँ भवन जगैदेखि ढलाएर खोलामा पु¥याइदियो । भवनसँगै कार्यालयको पार्किङ, बगैँचा र करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बाढीले बगाएको छ ।

अहिले दरमखोलाको किनारमा वडा कार्यालयको भग्नावशेष छ । केही दिनअघिसम्म जनतालाई सेवा दिने भवन अहिले खोलाको बगरमा लडिरहेको छ । भवनभित्रका केही सामान जोगाउन स्थानीय र वडाका कर्मचारी तथा जनप्रतिनिधि जोखिम मोलेर सामान निकालिरहेका छन् ।

वडाध्यक्ष तेजबहादुर थापा दैनिक त्यहीँ पुग्छन् । कहिले कुर्सी निकाल्छन्, कहिले टेबल । कहिले कम्प्युटरका पाटपुर्जा निकालेर बाहिर आउँछन् । लडेको भवनभित्र पस्नु जोखिमपूर्ण भए पनि बाँकी रहेका सामान जोगाउने प्रयास उनले छाडेका छैनन् । उनले सामान निकाल्न थालेपछि गाउँका युवाले पनि साथ दिएका छन् ।

भवन लडेको दृश्यले उनलाई निजी सम्पत्तिको क्षतिभन्दा बढी पीडा दिएको छ । बाढीले लाखौँ रुपैयाँ मूल्य पर्ने उनको धान खेत पनि बगर बनाएको छ । तर उनी आफ्नो खेत हेर्नसमेत गएका छैनन् । ‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन । म एकपटक पनि त्यो खेतमा पुगेको छैन । तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु । यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ थापाले भने ।

वडा कार्यालयको भवन उनको व्यक्तिगत उपलब्धिसँग पनि जोडिएको थियो । संघीयता स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा निर्वाचित भएलगत्तै उनले वडा कार्यालयका लागि भवन बनाउन पहल थालेका थिए । करिब ८० लाख रुपैयाँ लागतमा २०७७ माघमा भवन निर्माण सम्पन्न भयो ।

तीन रोपनी क्षेत्रफलमा बनेको भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो । भवन बनेपछि कार्यालय मात्रै व्यवस्थित भएन, गाडी पार्किङ र बगैँचासमेत निर्माण गरिएको थियो । गलकोट नगरपालिकाका ११ वडामध्ये यो सबैभन्दा पहिले निर्माण गरिएको वडा कार्यालय भवन थियो । तर, अहिले त्यही भवनको अस्तित्व दरमखोलाको बगरमा सीमित भएको छ । पार्किङ र बगैँचा कहाँ थिए भन्ने छुट्याउनसमेत मुस्किल छ ।

बाढीले भवन लडाउला भन्ने स्थानीयले कल्पनासमेत गरेका थिएनन् । दरमखोलामा बाढी आएपछि सुरुमा खाली जमिन कटान भयो । कटान गर्दै पानी भवनको जगसम्म पुग्यो । अन्ततः भवन नै ढल्यो ।

भवनको जमिन कटान हुन थालेपछि स्थानीयले अतिआवश्यक कागजपत्र भने निकाल्न भ्याएका थिए । तर, अन्य सामान भवनसँगै खोलामा पुगे । अहिले बाँकी रहेका सामान निकाल्ने प्रयास भइरहेको छ । भवन भत्किएपछि जनताको सेवा भने रोकिएको छैन । नजिकैको गाउँमा एउटा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको वडाध्यक्ष थापाले बताए ।

भवन गुमाउनुको पीडा थापाका लागि सेवा सञ्चालनको कठिनाइमा मात्र सीमित छैन । दुई कार्यकाल वडाध्यक्ष भएर काम गरेको समय, त्यससँग जोडिएका सम्झना र आफ्नो मिहिनेतको एउटा चिनोसमेत बाढीले बगाएको उनको अनुभूति छ । ‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो, यहाँ मेरो दुई–दुई कार्यकालको एक–एक थोपा पसिना छ । मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनले भावुक हुँदै भने ।

लडेको भवन अझै बलियो रहेको थापाको भनाइ छ । त्यसलाई उठाएर पुनःस्थापना गर्न मिल्ने अवस्था भए पुनःस्थापना गर्ने उनको योजना छ । वडा कार्यालयको भवन मात्रै होइन, गलकोट नगरपालिकाका अन्य परिवारको पीडा पनि बाढीले छाडेको छैन । नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले गलकोट नगरपालिका क्षेत्रमा २२ घरमा क्षति पु¥याएको छ । घर, गोठ तथा व्यवसायमा क्षति पुगेको छ ।

गलकोट नगरपालिका–५ हरिचौर र वडा नम्बर ६ चरौंदीमा बाढीबाट सबैभन्दा बढी क्षति पुगेको नगरपालिकाको प्रारम्भिक विवरणमा उल्लेख छ । कसैको घर, कसैको गोठ, कसैको व्यवसाय र कसैको खेत बाढीले बगर बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम