सिन्धुली । चाडपर्वका बेला उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न बजारहरुमा अनुगमन तिव्र पारिएको छ । सोहि क्रममा शुक्रबार सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका बजार क्षेत्रहरुमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका २१ हजार २४० रुपैंया बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला परेका र आवश्यक निर्देशनलाई कार्यान्वयन नगर्ने चार जना व्यवसायीलाई कारवाहि गरिएको छ । कारवाहिमा परेका तीन जनालाई २३ हजार जरिवाना गरिएको छ भने एक जनालाई अनुसन्धान गरि कारवाहि गरिने जिल्ला स्तरीय अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले बताए ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री वितरणका लागि राखिएको पाइएपछि खाद्य सामग्रीहरु नष्ट गरिएको छ । कैफियत भेटिएका व्यवसायीहरु बाल्मिकेश्वर सप्लायर्स, सुनकोशी गाउँपालिका–५, सीता खाद्य स्टोर्स र सुदिक्षा किराना पसल सुनकोशी गाउँपालिका–६ लाई जरिवाना गरिएको छ ।
यस्तै गोलन्जोर गाउँपालिका – ७ मा रहेको होटल त्रियुगा पनि कारवाहिमा परेको छ । होटल त्रियुगामा पटक–पटक दिइएको निर्देशन पालना नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री तथा वितरण गरेको र सरसफाइको अवस्था सन्तोषजनक नरहेको पाइएको थियो ।
उक्त होटलमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको अनुगमन टोलीका संयोजक पौडेलले जानकारी दिए । उनका अनुसार बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गराउन, म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री वितरण रोक्न तथा व्यवसाय सञ्चालन स्थलमा उचित सरसफाई सुनिश्चित गर्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ । साथै, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि आवश्यक सुधार गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ ।
चाडपर्वका समयमा खाद्य वस्तुको कारोबार बढ्ने र उपभोक्ताको हित संरक्षणमा विशेष ध्यान दिनुपर्ने भएकाले बजार अनुगमनलाई तिव्र बनाईएको पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली, सम्बन्धित स्थानीय तह लगायतका निकायको संयुक्त टोलीले बीपी राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट, खाना तथा खाजा घर र खाद्य सामग्री बिक्री गर्ने पसलहरूको अनुगमन गरिएको थियो ।
सम्बन्धित समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सीमामा पर्यटकलाई स्वागत
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिदै निगम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
वरिष्ठ पत्रकार हरि लम्सालको निधन





