कोप–३१ मा नेपालको ‘असंगठित लर्को’

काठमाडौं । जलवायु परिवर्तनका कारण अप्रत्याशित विपत्ति र क्षति भोगिरहेको नेपाली यथार्थ विश्वमञ्चमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्न नेपालबाट सरकारी औपचारिक टोली र विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै झन्डै सय जनाको टोली टर्कीको अन्ताल्यामा पुगेको छ ।

जलवायु विपद्बाट प्रभावित मुलुकका पीडा, अनुकूलनका लागि आवश्यक वित्तीय सहायता, विकसित राष्ट्रको जिम्मेवारी र बढ्दो तापक्रम नियन्त्रणका प्रतिबद्धता कार्यान्वयनको मुद्दा उठाउन नेपाली टोली सक्रिय भए पनि हिमाली एजेन्डाले कोप–३१ को अन्तिम औपचारिक वार्ता कार्यसूचीमा छुट्टै स्थान पाउन सकेन ।

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालले हिमाली मुद्दालाई संस्थागत गर्दै अन्तर्राष्ट्रिय समर्थन जुटाउन कूटनीतिक दौडधुप जारी राखेको छ ।

– औपचारिक एजेन्डामा परेन हिमाली मुद्दा

– सरकारी टोली कूटनीतिक दौडधुपमा

सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, वातावरणमन्त्री तथा जलवायु वार्ताकार सहभागी छन् । नेपालले अघि सारेको हिमाली एजेन्डालाई औपचारिक कार्यसूचीमा समेट्ने प्रस्तावमा पर्याप्त समर्थन जुट्न नसकेपछि सम्मेलनको अध्यक्षताले यस विषयमा आगामी दिनमा परामर्श र अनुसन्धान प्रक्रिया अघि बढाउने बाटो दिएको छ ।

हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम, हिमताल विस्फोट, पहिरो र बाढीका जोखिमबीच नेपालले भोगिरहेको मानवीय तथा आर्थिक क्षतिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रमै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भोटेकोशी क्षेत्रमा भएको विनाशकारी विपद्को प्रसङ्ग उठाउँदै हिमाली संकटलाई विश्वव्यापी जलवायु न्यायसँग जोडेर प्रस्तुत गरेका थिए । उनले हिमालमा भइरहेको परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरही नदी प्रणाली, अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुद्रसम्म पुग्ने बताएका थिए ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायका कार्यकारी सचिव साइमन स्टिल, कोप–३० का अध्यक्ष आन्द्रे कोरेआ डो लागो तथा अस्ट्रेलियाका जलवायुमन्त्री एवं कोप–३१ वार्ता अध्यक्ष क्रिस बोवेनले पनि उद्घाटन सम्बोधनमा जलवायु संकट र जोखिममा रहेका समुदायको सुरक्षाका लागि विश्वव्यापी प्रयास तीव्र बनाउनुपर्ने विषय उठाएका छन् ।

तर, नेपालको विपद्लाई अन्तर्राष्ट्रिय बहसमा उठाउनु र त्यसका आधारमा नेपाल केन्द्रित नीतिगत निर्णय तथा ठोस वित्तीय सहायता प्राप्त गर्नु फरक विषय हो । टर्कीमा रहेका नेपाली वातावरणविद् तथा जलवायु विज्ञहरूले नेपालको विपद्लाई सहानुभूतिको विषयमा सीमित नराखी क्षतिपूर्ति, अनुकूलन र वित्तीय सहायतासँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल, भुटान र किर्गिस्तानले हिमाली क्षेत्रको विशिष्ट जोखिम सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचनाभित्र छुट्टै व्यवस्था आवश्यक रहेको प्रस्ताव अघि सारेका छन् । नेपाल र भुटानले ‘१.५ डिग्री तापक्रम वृद्धिको हिमाली क्षेत्रमा पर्ने प्रभाव’ शीर्षकमा छुट्टै कार्यसूची राख्न संयुक्त प्रस्ताव गरेका थिए ।

यसमा हिमाली क्षेत्रमा तापक्रम वृद्धिको प्रभाव र सम्भावित जोखिम’bout वैज्ञानिक अध्ययन, हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी छुट्टै कार्ययोजना, वार्षिक उच्चस्तरीय संवाद तथा जलवायु अनुकूलन र वित्तीय सहायता संरचनामा हिमाली प्राथमिकता समेट्नुपर्ने प्रस्ताव गरिएको थियो । किर्गिस्तानले भने हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी वार्षिक संवादलाई संस्थागत गर्नुपर्ने माग अघि सारेको थियो ।

नेपाल र भुटानको प्रस्ताव अक्टोबर २९ मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सचिवालयमा दर्ता भएको थियो । नोभेम्बर ६ मा प्रकाशित पूरक अस्थायी कार्यसूचीमा ‘१.५ डिग्री तापक्रम वृद्धिको हिमाली पारिस्थितिक प्रणालीमा पर्ने प्रभाव’ तथा हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवादलाई संस्थागत गर्ने विषय समावेश गरिए पनि सम्मेलनको उद्घाटनमा स्वीकृत अन्तिम कार्यसूचीमा यी विषय छुट्टै एजेन्डाका रूपमा पारित भएनन् । नेपाल, भुटान र किर्गिस्तानले अघि सारेका प्रस्तावमा प्रमुख वार्ता समूहको पर्याप्त समर्थन जुट्न नसकेको परराष्ट्रमन्त्री खनालले बताएका छन् ।

औपचारिक कार्यसूचीमा छुट्टै स्थान नपाए पनि आगामी सम्मेलनका लागि परामर्श र अनुसन्धान प्रक्रिया अघि बढाउन अध्यक्षता पक्ष सहमत भएको छ । परराष्ट्रमन्त्री खनालका अनुसार सन् २०२७ र २०२८ मा जर्मनीको बोनमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु बैठकमा हिमाली तापक्रम वृद्धि र जलवायु परिवर्तनका विषयमा थप अनुसन्धान तथा संवाद गर्ने सम्भावना छ ।

त्यसको निष्कर्ष आगामी कोप सम्मेलनमा प्रस्तुत गर्ने गरी प्रक्रिया अघि बढाउने समझदारी भएको छ । यसलाई नेपालले तत्कालको औपचारिक एजेन्डा बनाउन नसके पनि विषयलाई अन्तर्राष्ट्रिय बहसबाट बाहिर जान नदिने प्रयासका रूपमा लिएको छ ।

सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन् । उनी नोभेम्बर ७ मा अन्ताल्या पुगेर नेपालको प्रस्तावलाई औपचारिक एजेन्डा बनाउन कूटनीतिक पहलमा सक्रिय भएका थिए । नोभेम्बर ९ मा उद्घाटन सत्रलाई सम्बोधन गरेका खनालले नोभेम्बर ११ र १२ मा भएको विश्व नेताहरूको उच्चस्तरीय सम्मेलनमा समेत सहभागिता जनाएका छन् ।

बिहीबार अन्ताल्यामा आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउने ः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत हिमनदी, हिउँमण्डल र लचिलोपन’ विषयक उच्चस्तरीय छलफलमा खनालले नेपालको धारणा राखेका छन् । उनले हिमनदी पग्लिने, हिउँमण्डल खुम्चिने र पर्वतीय क्षेत्रमा विपद्को जोखिम बढ्ने क्रमले विश्वकै जल तथा खाद्य सुरक्षामा चुनौती थपेको बताए ।

‘जब हिमालहरू सङ्कटमा हुन्छन्, तब सिङ्गो मानवता संकटमा पर्छ,’ खनालले भने, ‘हजारौँ वर्षमा बनेका हाम्रा हिमनदी र हिमाली चुचुरा मानव जीवनकालभित्रै तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यसको असर हिमालमा मात्र नभई नदी प्रणाली, अर्थतन्त्र र पारिस्थितिकीय प्रणाली हुँदै समुद्रसम्म पुग्छ ।’

परराष्ट्रमन्त्री खनालले उद्घाटन सत्रमा नेपालले भोगिरहेका जलवायुजन्य विपद्का मानवीय, आर्थिक तथा पारिस्थितिक प्रभाव उल्लेख गर्दै हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना आवश्यक रहेकोमा जोड दिएका थिए । उनले जलवायु परिवर्तनको असर सगरमाथादेखि समुद्रसम्म पुग्ने भएकाले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

नेपालले जलवायु न्याय, क्षति तथा नोक्सानी सम्बोधनका लागि सहज वित्तीय पहुँच र हिमाली समुदायको उत्थानशीलता बढाउन अन्तर्राष्ट्रिय साझेदारीको मागसमेत गरेको छ ।

हिमाली संकट नेपाल पेभेलियनमा सीमित
हिमाली संकट र स्थानीय अनुकूलनको एजेन्डा कोप सम्मेलनको अन्तिम औपचारिक कार्यसूचीमा छुट्टै स्थान नपाएपछि नेपालले आफ्नै पेभेलियनमार्फत विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिरहेको छ ।

सम्मेलन परिसरमा स्थापना गरिएको नेपाल पेभेलियनमा जैविक विविधता, हिमाली पारिस्थितिक प्रणाली र समुदायस्तरमा सञ्चालन भइरहेका जलवायु अनुकूलनका प्रयास प्रस्तुत गरिएको छ ।

पेभेलियन उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री खनालसँगै स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री मेहता र प्रतिनिधिसभा सदस्य ढकालले सम्बोधन गरेका थिए । उनीहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, समुदायको अनुकूलन क्षमता र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता’bout नेपालको धारणा राखेका छन् ।

नेपाल पेभेलियनसँगै हिमाली क्षेत्रको अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि नेपालले सहभागिता जनाएको छ । नेपाल, भुटान र किर्गिस्तानले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा जोइ इनभाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा ‘अनुकूलन वित्तमार्फत हिमाली उत्थानशीलता सुदृढीकरण’ विषयक कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै जाँदा स्थानीय समुदायलाई अनुकूलनका लागि आवश्यक वित्तीय स्रोत कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भएको छ ।

यसैगरी नेपाल, भुटान, किर्गिस्तान, ताजिकिस्तान र पाकिस्तानले संयुक्त रूपमा ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउने ः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत हिमनदी, हिउँमण्डल र लचिलोपन’ विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरेका छन् ।

कोप सम्मेलनमा नेपालको सहभागिता कूटनीतिक तथा वातावरणीय मुद्दामा मात्र सीमित छैन । जलवायु वित्त, अनुकूलन र दिगो आर्थिक विकाससम्बन्धी नेपालको धारणा प्रस्तुत गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि अन्ताल्या पुगेका छन् । उनले सम्मेलनका क्रममा करिब आधा दर्जन उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम छ ।

नेपालले जलवायु परिवर्तनको असरका कारण भोगेको क्षति र अनुकूलनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग जोड दिएको छ । तर, प्रतिबद्धता जनाइएको रकम पर्याप्त रूपमा परिचालन हुन नसकेको, उपलब्ध रकम आवश्यकताभन्दा कम रहेको र जलवायु वित्त प्राप्त गर्ने प्रक्रिया लामो तथा जटिल भएको सरकारी पक्षले स्वीकार गरेको छ । नेपाललगायत अतिकम विकसित मुलुकले जलवायु वित्त कम्तीमा तीन गुणा बढाउनुपर्ने माग गर्दै आएका छन् ।

जलवायु वित्तको अर्को समस्या अनुदानभन्दा ऋणमा आधारित सहायता र विभिन्न सर्तसहितको सहयोगमा निर्भरता हो । जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर बढी क्षति भोगिरहेका नेपालजस्ता मुलुकले अनुकूलन र क्षति तथा नोक्सानी सम्बोधनका लागि ऋणको बोझ थप्नेभन्दा सहज पहुँचसहितको पर्याप्त अनुदानमा आधारित वित्तीय सहायता चाहेका छन् । नेपालले जलवायु वित्तको स्रोत बढाउन मात्र नभई त्यसमा पहुँच सहज, पारदर्शी र पूर्वानुमानयोग्य बनाउनुपर्ने धारणा राखेको छ ।

नेपालको जोड क्षतिको क्षतिपूर्ति
कोप–३१ मा नेपालको उपस्थितिले अन्तर्राष्ट्रिय समुदायको ध्यान हिमाली संकटतर्फ तानेको छ । तर, नेपालको मुख्य चासो सहानुभूति र प्रतिबद्धतामा मात्र सीमित छैन । जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि त्यसको असमान प्रभाव भोगिरहेका मुलुकलाई क्षतिको क्षतिपूर्ति, अनुकूलनका लागि वित्तीय सहायता र कार्यान्वयनयोग्य नीतिगत निर्णय आवश्यक रहेको नेपालको जोड छ ।

परराष्ट्रमन्त्री खनालले उद्घाटन सम्बोधनमै ‘हामी सहानुभूति खोज्न होइन, जलवायु न्याय खोज्न आएका हौँ’ भन्ने सन्देश दिएका थिए । उनले विपत्तिपछि प्राप्त सहानुभूतिलाई संस्थागत सहयोगमा रूपान्तरण गर्न र प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानुपर्ने बताएका थिए । नेपालले क्षति तथा नोक्सानी कोषमा सहज पहुँच, हिमाली क्षेत्रमा अनुकूलनका लागि छुट्टै वित्तीय प्राथमिकता र तापक्रम वृद्धिको प्रभाव’bout वैज्ञानिक अनुसन्धानलाई अघि बढाउनुपर्ने माग गरेको छ ।

नेपालले भुटान, किर्गिस्तानलगायत हिमाली मुलुकसँगको सहकार्यलाई थप बलियो बनाउँदै आगामी वार्तामा साझा एजेन्डा अघि बढाउनुपर्ने चुनौती छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्ज कारागारबाट फरार तुरहा पक्राऊ