कोपमा कमजोर कूटनीतिः सरकारी टोलीदेखि विज्ञसम्म आफ्नै स्वार्थमा

काठमाडौं । सरकारको कमजोर कूटनीतिक सक्रियताका कारण विश्व जलवायु कोषबाट नेपालले प्राप्त गर्ने अनुदान घट्ने जोखिम देखिएको छ ।

जलवायु परिवर्तनको असर भोगिरहेका मुलुकको हकअधिकार स्थापित गर्ने, हिमाली क्षेत्रको संकटलाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा पु¥याउने र जलवायु वित्तमा नेपालको पहुँच बढाउने उद्देश्यसहित गर्नुपर्ने कूटनीतिक पहल कमजोर हुँदा विगतमा प्राप्त हुँदै आएको विकास सहायतासमेत कटौती हुने अवस्था देखिएको हो ।

टर्कीको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता चर्चाभन्दा उपलब्धिका दृष्टिले कमजोर देखिएको छ । नेपालसहित हिमाली एजेन्डा पक्षधर मुलुकको मुद्दा स्थापित गर्न प्रभावकारी कूटनीतिक पहल हुनुपर्नेमा परराष्ट्रमन्त्रीबाहेक सरकारी प्रतिनिधिमण्डलकै सक्रियता स्वार्थप्रेरित भएको टिप्पणी हुन थालेको छ । नेपालसहितका मुलुकको हिमाली जलवायु संरक्षण र क्षतिपूर्तिको एजेन्डाले नेपाल पेभिलियनमा मात्रै चर्चा पाउनु नेपालको कूटनीतिक कमजोरीका रूपमा हेरिएको छ ।

नेपाल पेभिलियनमा आयोजित कार्यक्रमहरूमा समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार र उनीहरू निकट गैरसरकारी संस्थाको हालीमुहाली रहेको भन्दै सहभागीहरूले नै गुनासो गर्न थालेका छन् ।

पेभिलियनमार्फत नेपालको जलवायु संकट’bout सन्देश दिने, मन्त्री तथा सरकारी अधिकारीको उपस्थिति बढाउने र गैरसरकारी संस्था तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता आकर्षक देखिए पनि त्यसको प्रतिफल नेपालको जलवायु कूटनीतिमा देखिन सकेको छैन ।

जलवायु परिवर्तनको असरबाट सबैभन्दा जोखिममा रहेका मुलुकमध्ये नेपालले हिमाली क्षेत्रको संकटलाई विश्वमञ्चमा स्थापित गर्ने अवसर प्रभावकारी रूपमा उपयोग गर्न सकेको छैन । बरु सम्मेलनमा सहभागी हुने, पेभिलियनमा कार्यक्रम गर्ने र विभिन्न परियोजनाका नाममा अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रतिस्पर्धा बढी देखिएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारदेखि मन्त्री निकट गैरसरकारी संस्थालाई स्थापित गर्ने र उनीहरूमार्फत सञ्चालन हुने परियोजनाका लागि वातावरण बनाइएको भन्दै सरकारी प्रतिनिधिमण्डलभित्रै आलोचना हुन थालेको छ ।

नेपालले यसपटक आफ्नै पेभिलियन स्थापना गरेर जलवायु संकट, जैविक विविधता र अनुकूलनका कार्यक्रम प्रस्तुत गर्ने अवसर पाएको थियो । तर, त्यसलाई राष्ट्रिय एजेन्डा स्थापित गर्ने कूटनीतिक थलो बनाउनुभन्दा विभिन्न संस्था, परियोजना र पहुँचवालाका कार्यक्रम सञ्चालन गर्ने मञ्च बनाइएको भन्दै परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले असहमति जनाएको बताइएको छ ।

सरकार निकट निजी कम्पनी, गैरसरकारी संस्था र विज्ञहरू पेभिलियनमार्फत कार्यक्रम तथा परियोजना प्रस्तुत गर्न सक्रिय छन् । सम्मेलनमा सहभागिताको औचित्य र त्यसबाट मुलुकले प्राप्त गर्ने उपलब्धिभन्दा व्यक्तिगत तथा संस्थागत पहुँच विस्तारको प्रतिस्पर्धा हाबी भएको आलोचना भइरहेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले प्रतिनिधिमण्डल छनोटमा आफ्नो संस्थागत भूमिका कमजोर बनाउँदै रास्वपाका सांसदहरूलाई हाबी हुन दिएको देखिएको छ । मन्त्रीको सचिवालय र सल्लाहकारहरूको प्रभावमा छनोट भएका प्रतिनिधिले सरकारी तथा गैरसरकारी संस्थाका परियोजनामार्फत खर्च व्यवस्थापन गरी निकट व्यक्तिहरूलाई सम्मेलनमा सहभागी गराएको पाइएको छ ।

औपचारिक वार्तामा हिमाली एजेन्डा असफल
नेपालले कोप–३१ मा ४० भन्दा बढी साइड इभेन्ट आयोजना गरे पनि सम्मेलनको औपचारिक वार्तामा नेपालको प्रमुख प्रस्तावले प्रवेश पाउन नसक्नु कूटनीतिक कमजोरीका रूपमा हेरिएको छ ।

नेपाल र भुटानले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको प्रभावलाई छुट्टै कार्यसूचीमा राख्न गरेको प्रस्ताव सम्मेलनले स्वीकार गरेन । चीन, भारतसहितका प्रमुख मुलुक तथा जी–७७ र चीनजस्ता वार्ता समूहबाट पर्याप्त समर्थन जुटाउन नसक्दा नेपालको प्रस्ताव अघि बढ्न नसकेको हो ।

आगामी सन् २०२७ र २०२८ मा जर्मनीको बोनमा पर्वतीय विषयमा अनुसन्धान संवाद गर्ने र त्यसको प्रतिवेदन आगामी सम्मेलनमा प्रस्तुत गर्ने विकल्पमै नेपाल सीमित भएको छ । यही उपलब्धिलाई मुख्य सफलता मान्दै कोप–३१ मा सहभागी नेपाली प्रतिनिधिमण्डल फर्कने तयारीमा छ ।

यसबीच परराष्ट्रमन्त्री शिशिर खनाल भने सम्मेलनमा नेपालको पक्ष राख्न निरन्तर सक्रिय देखिएका छन् । उनले सम्मेलनको उद्घाटन पूर्ण बैठकलाई सम्बोधन गर्नुका साथै भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानसँगको उच्चस्तरीय कार्यक्रममा हिमाली उत्थानशीलता, जलवायु वित्त र हानि तथा नोक्सानीको विषय उठाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा पनि उनले नेपालको विपद् पुनर्निर्माण र जलवायु वित्तको विषय राखेका छन् । तर, मन्त्रीको यो सक्रियतालाई नेपालको समग्र कूटनीतिक उपलब्धिमा बदल्ने संस्थागत तयारी भने कमजोर देखिएको छ ।

जलवायु सम्मेलनलाई अवसरका रूपमा उपयोग गर्ने प्रवृत्ति विदेश भ्रमण र पेभिलियनका कार्यक्रममै सीमित छैन । मन्त्रालयका सल्लाहकार, सरकारी अधिकारी तथा उनीहरूसँग निकट गैरसरकारी संस्था र निजी क्षेत्रका कम्पनीमार्फत विभिन्न कार्यक्रम तथा परियोजनाको बजेट परिचालन गर्ने प्रयाससमेत भइरहेको आरोप छ ।

विशेषगरी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार तथा मन्त्री निकट व्यक्तिहरूले आफू निकट गैरसरकारी संस्था र निजी कम्पनीमार्फत सफ्टवेयर विकास, अनुसन्धान, प्रवद्र्धन, सचेतना र सशक्तीकरणका नाममा बजेट माग्ने गरेको विषयले विकास बजेटको प्राथमिकतामाथि प्रश्न उठाएको छ । आवश्यकताको वैज्ञानिक मूल्यांकन, लागत तथा प्रतिफलको अध्ययन र खुला प्रतिस्पर्धाबिना यस्ता कार्यक्रम अघि बढाइए विकासका लागि विनियोजित बजेट नै पहुँचवालाको स्वार्थमा खर्च हुने जोखिम बढेको भन्दै आलोचना भइरहेको छ ।

नेपाललाई अहिले जलवायु सम्मेलनका नाममा विदेश भ्रमण गर्ने ठूलो टोलीभन्दा राष्ट्रिय स्वार्थमा केन्द्रित दक्ष वार्ता टोली, वैज्ञानिक तथ्यमा आधारित कूटनीति र विकास बजेटको पारदर्शी परिचालन आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

गहुँ छर्ने बेला कैलालीका किसानलाई मल जुटाउनै सकस