काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आह्वानमा सरकारका पछिल्ला गतिविधि, प्रेस स्वतन्त्रता र संवैधानिक संस्थाको स्वायत्ततासँग सम्बन्धित विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा संसद्भित्र र बाहिर रहेका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन् ।
काँग्रेसले सरकारको कार्यशैली, पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी परिचालनका घटना र संविधान तथा कानुनको शासनसँग सम्बन्धित विषयमा साझा धारणा बनाउन बैठक बोलाएको हो ।
बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीको पनि सहभागिता रहेको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको जवाफदेहिता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका, पत्रकारमाथि भएका प्रहरी कारबाही तथा विवादित घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ।
यसअघि सोमबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ र न्यायपालिकासँग जोडिएका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको थियो ।
काँग्रेस संसदीय दलका नेता आङ्देम्बेले पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी परिचालनसँग जोडिएका सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन् । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने र त्यसका लागि संसदीय विशेष समिति आवश्यक रहेको उनको भनाइ छ ।
काँग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिबाट नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठेको निष्कर्ष निकालेको छ । यस विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाएर अघि बढ्ने काँग्रेसको तयारी छ ।
सम्बन्धित समाचार
नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली
जाग्यो कांग्रेस, पछ्याउँदै देउवा पक्ष
कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
काजकिरिया गरिसकेका व्यक्ति जब ६ महिनापछि जिउँदै घर फर्किए…
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल
डीडीसीका तत्कालीन महाप्रबन्धक झा पक्राउ
धनगढीको ‘गौशाला मोडल’ : छाडा चौपाया व्यवस्थापनसँगै दूध र मल बिक्रीबाट आम्दानी






