धनगढी । गहुँ छर्ने सिजन सुरु भइसक्दा पनि कैलालीका किसानले पर्याप्त रासायनिक मल पाउन सकेका छैनन् । खेत खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई यतिबेला डिएपी मल जुटाउनै मुस्किल परेको छ । यसवर्ष मात्रै नभई हरेक खेतीको सिजनमा मल अभाव झेल्दै आएका किसानलाई यसपटक पनि उत्पादन घट्ने चिन्ताले सताएको छ ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी सपुत रानाले अहिलेसम्म सहकारीबाट रासायनिक मल पाउन सकेकी छैनन् । मलका लागि पटकपटक सहकारी धाउँदा पनि नपाएपछि उनले भेटेरिनरी तथा एग्रोभेटबाट महँगो मूल्यमा खरिद गर्ने गरेकी छन् । उनलाई प्रत्येक खेतीको सिजनमा करिब चार बोरा रासायनिक मल आवश्यक पर्छ । तर, आवश्यकताअनुसार मल नपाउँदा खेती गर्नै समस्या हुने गरेको उनी बताउँछिन् ।
धनगढीकै अर्का किसान बनपाले राना पनि अहिले गहुँ छर्ने तयारीमा खेत खनजोत गर्न व्यस्त छन् । तर, मल अभावले उनको खेतीको तयारी प्रभावित भएको छ । सहकारीमा मल लिन लामो लाइन बस्नुपर्ने, समयमै मल नआउने र आए पनि पर्याप्त नपाइने समस्या रहेको उनको गुनासो छ । गहुँ खेतीका लागि उनलाई तीन बोरा डिएपी र तीन बोरा युरिया आवश्यक पर्छ । आवश्यक मल जुटाउन मुस्किल भएपछि महँगो मूल्यमा भए पनि खरिद गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
किसानका अनुसार गहुँ छर्ने समयमा डिएपी र बाली उम्रिएपछि सिँचाइ गर्ने बेला युरिया प्रयोग गर्नुपर्ने हुन्छ । समयमै मल नपाउँदा बालीको वृद्धि र उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको चिन्ता छ । सरकारले मल वितरणको जिम्मेवारी दिएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मागअनुसार समयमै आपूर्ति गर्न नसक्दा हरेक खेतीको सिजनमा किसानले सास्ती भोग्नुपरेको छ ।
किसानले अहिले मल नपाइरहेका बेला यसवर्ष आपूर्ति पनि पर्याप्त नहुने संकेत देखिएको छ । मलको मागअनुसार कोटा निर्धारण नहुनु, सरकारले बीचमै वितरण रोक्नु र अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुनुले आपूर्ति प्रभावित भएको सम्बन्धित निकायका अधिकारीहरू बताउँछन् ।
अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार मल वितरण हुँदै आएको छ । तर, सुदूरपश्चिम प्रदेशमा निर्धारण गरिएको कोटा नै मागको तुलनामा न्यून रहेको कृषि सामग्री कम्पनी लिमिटेडको तथ्यांकले देखाउँछ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म प्रदेशभर छ हजार ९४३ मेट्रिकटन युरिया, एक हजार ७९३ मेट्रिकटन डिएपी र तीन सय मेट्रिकटन पोटास बिक्री भएको छ ।
त्यसमध्ये कैलालीमा मात्रै पाँच हजार ३३५ मेट्रिकटन युरिया, एक हजार ३२० मेट्रिक टन डिएपी र २२८ मेट्रिकटन पोटास बिक्री भएको कम्पनीले जनाएको छ । कृषि उत्पादनका हिसाबले महत्वपूर्ण जिल्ला कैलालीमा मलको माग उच्च भए पनि प्रदेशका लागि डिएपीको कोटा ९ दशमलव ०७ प्रतिशत मात्रै निर्धारण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडका गणेशदत्त जोशी बताउँछन् । मागअनुसार कोटा नहुँदा किसानले पर्याप्त मल पाउन नसकेको उनको भनाइ छ ।
यता, साल्ट ट्रेडिङ कर्पोरेसनको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा हाल २४० मेट्रिकटन युरिया, ३९८ मेट्रिकटन डिएपी र ९६ मेट्रिकटन पोटास मौज्दात रहेको छ । गतवर्षको बाँकी रहेको मल विभिन्न सहकारी तथा सूचीकृत एग्रोभेटमार्फत वितरणका लागि पठाइसकिएको कार्यालयले जनाएको छ । साल्ट ट्रेडिङबाट भने मंसिर १ गतेदेखि मल वितरण सुरु हुने प्रादेशिक प्रमुख तेजबहादुर कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्यधिक बढेकाले नयाँ मल आयात गर्न कठिनाइ भइरहेको छ । सरकारले बीचमा मल वितरणमा समेत रोक लगाएकाले आपूर्तिमा असर परेको हो । नयाँ मलको आयात र वितरण सहज नभए आगामी दिनमा किसानले थप अभाव झेल्नुपर्ने देखिन्छ ।
सम्बन्धित समाचार
हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान
धनगढीमा सफल मार्टको नयाँ शाखा उद्घाटन, घरायसी र व्यावसायिक सामग्री एकै ठाउँ पाइने
कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी
धनगढीको ‘गौशाला मोडल’ : छाडा चौपाया व्यवस्थापनसँगै दूध र मल बिक्रीबाट आम्दानी
सुनको भाउ तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो
उच्च अंकले घट्यो नेप्से, सवा सात अर्बको कारोबार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार






