काठमाडौँ । काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन्।
शनिवार ललितपुरमा आफू पक्षीय नेपाली काँग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनै पनि प्रलोभनमा बिक्ने संस्था नभएको बताएका हुन् । उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । देउवाले पञ्चायतकलादेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसंग पनि सुनाए । त्यतिबेला राजाको प्रत्यक्ष शासन रहेका कारण सर्वोच्च अदालतले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशंका रहे पनि अदालतले साहस गरेर आफूलाई रिहा गरेको उनले बताए।
राजाको शासनकालमा समेत न्याय दिन सक्ने अदालतले अहिले पनि पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय गर्ने उनको विश्वास छ । उनले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।
उनले भने, ‘मलाई नेपालको न्यायपालिकाप्रति पूर्ण विश्वास छ । सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था होइन । अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिनेछ भन्ने मेरो दृढ विश्वास छ । पञ्चायतकलादेखि नै मैले न्यायपालिकाको भूमिका देख्दै आएको छु । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सत्ता हातमा लिएका बेला शाही आयोग गठन गरेर मलाई जेलमा राखिएको थियो । त्यसबेला पनि मैले आफ्नो परिवारलाई अदालतबाट न्याय पाउने विश्वास दिलाएको थिएँ। राजाको प्रत्यक्ष शासनका बेला समेत सर्वोच्च अदालतले शाहसपूर्वक न्याय दिएको इतिहास छ । त्यसैले अहिले पनि अदालतले निष्पक्ष न्याय गर्नेछ भन्नेमा म विश्वस्त छु । हामीले न्याय पाउनेछौँ र अन्याय हुनेछैन भन्ने विश्वास लिएको छु । म धेरै समय लिन चाहन्न। हाम्रो जित अवश्य हुनेछ भन्ने विश्वासका साथ अगाडि बढौँ । जनता हाम्रो साथमा छन्, पार्टी हाम्रो साथमा छ र देशको हित नै हाम्रो मूल उद्देश्य हो। जनताको विश्वास र साथ लिएर देश तथा जनताको सेवामा निरन्तर समर्पित हुँदै अघि बढौँ ।’
जनता र पार्टी आफ्नो पक्षमा रहेको उल्लेख गर्दै देउवाले देश र जनताको सेवामा निरन्तर लाग्न तथा जनताको साथ लिएर अघि बढ्न नेता-कार्यकर्तालाई आह्वान गरे ।
सम्बन्धित समाचार
सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक
छठलगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग
मन्त्रिपरिषद् बैठक बस्दै
‘भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ’
इनम र आईजीपी प्रकरणले विपक्षी एक ठाउँमा
यस्तो छ कर्णालीका मुख्यमन्त्रीको सयदिने रिपोर्ट कार्ड
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान






