धनगढी । कैलालीमा आयोजना हुन लागेको ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्लास्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ ।
मंगलबार धनगढीस्थित चैतन्य पाठशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।
चैतन्य पाठशालाको आयोजना तथा कैलाली जिल्ला फुटबल संघको सञ्चालनमा हुने प्रतियोगिता आगामी मंसिर २५ देखि पुस ९ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुनेछ ।
‘फुटबल फर स्कूल : रोड टु वर्ल्ड कप’ कार्यक्रमसँग जोडिएको प्रतियोगिताको उद्देश्य विद्यालयस्तरबाटै फुटबल प्रतिभाको पहिचान गर्नुका साथै बालबालिकामा खेलप्रतिको रुचि बढाउनु र जिल्लामा फुटबलको विकास तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
ट्रफी सार्वजनिक कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले यस वर्षदेखि सुरु गर्न लागिएको प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए । ग्रासरुट फुटबलको विकासका लागि कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने र भविष्यमा यसलाई प्रदेशस्तरीय बनाउने लक्ष्य रहेको उनले बताए ।
कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले १५ वर्षमुनिको साफ च्याम्पियनसिपका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने आधार तयार पार्न यू–१४ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव खड्काले शिक्षा, खेलकुद र समाजसेवाका क्षेत्रमा चैतन्य पाठशालाले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले प्रदेशमा खेलकुद विकासका लागि परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
३२ विद्यालयका ७५० भन्दा बढी सहभागी हुने
प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ गरी कैलालीका ३२ विद्यालयका टोली सहभागी हुनेछन् । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित २० खेलाडी तथा प्रशिक्षक, व्यवस्थापक र फिजियोथेरापिस्ट गरी २३ जना रहनेछन् ।
यसअनुसार खेलाडी र अफिसियल गरी ७३६ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । प्राविधिक, व्यवस्थापन टोली र रेफ्रीसमेत जोड्दा प्रतियोगितामा ७५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विजेतालाई एक लाख पुरस्कार
प्रतियोगिताको छात्र र छात्रा दुवै विधाका विजेता टोलीले जनही एक लाख रुपैयाँ तथा उपविजेता टोलीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
विद्यालयस्तरमा फुटबलको विकास, छात्रछात्राको खेल सहभागिता वृद्धि र भविष्यका लागि दक्ष खेलाडी उत्पादनमा प्रतियोगिताले योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ ।
सम्बन्धित समाचार
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो
चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली
म्याक्स टाइगरको दशैं धमाकाले ल्यायो खुसी, प्रदीपलाई कारसँगै २८ जनालाई बाइक र स्कुटर
३ देशका ८ टोलीबीच झापा महिला गोल्डकपको प्रतिस्पर्धा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा






