काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (जसपा)ले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेताहरूले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
वृद्धहरूलाई घरमै स्वास्थ्य सेवा, गृहणीलाई ग्यास सिलिन्डर
घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषय उल्लेख गर्दै लोसपाका उम्मेदवारलाई मतदान गर्न सर्वसाधारणसँग अपिल गरिएको छ । वृद्धहरूलाई घरमै स्वास्थ्य सेवा दिनेदेखि गृहणीलाई ग्यास सिलिन्डर दिनेसम्मका प्रतिबद्धता लोसपाले गरेको छ ।
घोषणापत्रमा लोसपाले ‘केही गरियो, अझै गर्न सकिन्थ्यो, धेरै गर्न बाँकी छ’ भन्ने स्वीकारोक्ति व्यक्त गर्दै आगामी निर्वाचनबाट पार्टीका उम्मेदवार विजयी भएको पालिकामा विभिन्न काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार ः सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा; महिलामैत्री पूर्वाधार एवं विशेष सुविधाको व्यवस्था, कृषि सेवा विस्तार, सिँचाई एवं प्रभावकारी बजार व्यवस्थापन; चुरे जोगाऔं, मधेस बचाऔं; ज्येष्ठ नागरिकलाई सम्मान र थप सुविधा; रोजगारमूलक, सीप विकास र उद्यमशीलता प्रवद्र्धन; युवाहरूको सन्तुलित विकास र खेलकुद पूर्वाधार निर्माण रहेका छन् ।
यसैगरी, कमजोर, असहाय र अशक्तप्रति विशेष जिम्मेवारी, तत्काल एवं गुणस्तरीय विपद् व्यवस्थापन; ग्रामीण सडक र अन्य सामाजिक पूर्वाधार निर्माण, स्मार्ट सिटीको अवधारणाअनुरूप नगर विकास, थप पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण एवं प्रचारप्रसार, सहरी हरितक्रान्ति; व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, अनुशासित, सुशासित र भ्रष्टाचारमुक्त स्थानीय सरकार, सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति; विशेष नगर, विशेष अवसर, विशेष व्यवस्थालगायतका योजना पूरा गर्ने प्रतिबद्धता लोसपाले गरेको छ ।






