बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद

धनगढी । भारतको उत्तर प्रदेशस्थित पलिया क्षेत्रको बनगवाँ मण्डीमा दीपावलीका दिन भएको भीषण आगलागी नियन्त्रण तथा उद्धारमा सहयोग गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता रवि गुप्ताले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालप्रति आभार व्यक्त गरेका छन् ।

गुप्ता धनगढीस्थित उपमहानगरपालिकाको कार्यालयमै पुगेर मेयर हमाललाई धन्यवादपत्र प्रदान गरेका हुन् । उनले वरिष्ठ समाजसेवी तथा पूर्वसभासद् विवेक गुप्ता, यातायात व्यवसायी एवं समाजसेवी देवराज गर्गसहित भारत–नेपाल सीमाक्षेत्रका व्यापारी तथा नागरिकका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

बनगवाँ मण्डीमा भीषण आगलागी भएपछि आपत्कालीन सहयोगका लागि गुप्ताले मेयर हमाललाई फोनमार्फत आग्रह गरेका थिए । त्यसलगत्तै हमालले धनगढीबाट दमकल, जेसीबी मेसिन र नगर प्रहरीको टोली घटनास्थलमा पठाएका थिए । नेपाली टोलीले आगो नियन्त्रण तथा उद्धार कार्यमा सहयोग पुर्‍याएको थियो ।

गुप्ताका अनुसार आगलागीमा ४० देखि ५० वटा पसल जलेर नष्ट भएका थिए । आगलागीबाट व्यवसायीहरूको करिब ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको छ । नेपालबाट समयमै पुगेको दमकल, जेसीबी र उद्धार टोलीको सहयोगले थप सयौँ पसललाई आगलागीबाट जोगाउन सकिएको उनले बताए ।

मानवीय संकटका बेला भौगोलिक तथा राजनीतिक सीमाभन्दा माथि उठेर सहयोग गरेको भन्दै गुप्ताले मेयर हमालसँगै नेपालका प्रशासनिक निकायप्रति पनि आभार व्यक्त गरे । विपद्का बेला धनगढी उपमहानगरपालिकाले देखाएको तत्परताले सीमापार मानवीय सहयोग र नेपाल–भारतबीचको आपसी सद्भावलाई थप मजबुत बनाएको उनको भनाइ थियो ।

सोही अवसरमा गुप्ताले किनमेलका लागि भारत जाने नेपाली ग्राहक तथा सर्वसाधारणलाई अनावश्यक दुःख नदिन मेयर हमाल र नेपाली प्रशासनसँग आग्रहसमेत गरेका थिए ।

धनगढी उपमहानगरपालिकाले सीमापारको विपद्मा तत्काल उद्धार तथा राहत सहयोग उपलब्ध गराउनुले नेपाल र भारतका सीमावर्ती नागरिकबीचको मानवीय सम्बन्ध, सहकार्य र आपसी सद्भावको उदाहरण प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद