स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाको नालीबेली कोट्याउँदै जाँदा गणतन्त्रमा फेरि पनि जहानियाँ विरासतले टाउको उठाउन थालेको देखिन्छ । रंगीचंगी राजनीतिक दल, ती दलभित्रका नेतापिच्छे गुट, समूह र ती समूहभित्रका आआफ्ना नातेदारको माखेसांलो स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिएकामा स्पष्ट देखिन्छ । पार्टीका शीर्ष भनिने नेता यो खेलोमेलोमा ज्यान छाडेर लागिपरेका छन् । पार्टी र पार्टीले अंगीकार गरेको वा गर्नुपर्ने विचारको मतलव छैन । मात्र मतलव छ, मेरा छोराछोरी र आफन्तले टिकट पाए कि पाएनन् ? आफन्त र छोराछोरीका लागि शीर्ष नेता पार्टी, पार्टीको साख र सिंगो इतिहास बली दिन तयार भई उभिएका छन् । पार्टीका मुख्य नेतृत्व स्थानीय तहका उम्मेदवारका बाउ र स्थानीय तहका उम्मेदवार उनीहरूका छोराछोरी भनी लाज पचाएर प्रचार गरिरहेका छन् । यो लोकतान्त्रिक विरासतलाई उल्ट्याउने र जहानियाँ शासन स्थापना गर्ने अभ्यास हो । देशभरका स्थानीय तहका उम्मेदवारको अनुहार हेरियो भने यस्तो जहानियाँ तस्बिर ऐना हेरेझैं झल्झल्ती देखिन्छ । यसका पछाडि जनप्रतिनिधि हुनु मालदार र विशिष्ट जागिर पाउनुसरह हुन गएको छ । महिनैपिच्छे तलब, भत्ता, ठेक्कापट्टा, भनसुन, लेनदेन सबै हुने भएपछि यो नियमित र सबैभन्दा विशिष्ट जागिर हुन गएको छ । त्यसैले यसमा आकर्षण बढ्दो छ ।
दोस्रो कुरा, समाज सामन्तवादी सोच, संस्कार र गतिविधिबाट माथि उठ्न सकिरहेको छैन । राजनीतिलाई पैतृक सम्पत्तिका रूपमा लिने गरिएको पाइन्छ । त्यसैले पनि बाबुआमाबाट छोराछोरी र आफन्तका बीचमा यसलाई विरासतका रूपमा हस्तान्तरण गर्न चाल चालिएको स्पष्ट देखिन्छ । राजनीतिक नेताले राजनीति भनेको सेवा हो भन्ने कुरा बिर्सिइसकेका छन् । उनीहरूले भन्ने गरेको ‘राजनीति जोगी हुनका लागि होइन’ भन्ने भनाइले राजनीति कमाउनका लागि गरिएको हो भन्ने नै पुष्टि हुन्छ । राज्यका साधनस्रोतको दोहन राज्यको कार्यपालिकीय अंगमा बसेर गरिरहेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अघि बढाएका भ्रष्टाचार र आर्थिक अनियमितताविरुद्ध मुद्दाहरूले पनि व्यावहारिक रूपमा पुष्टि गरिरहेका छन् । अर्कोतिर राज्यस्रोतको पुस्तैनी दोहनका लागि पनि आफ्ना आफन्त र आसेपासेलाई जनप्रतिनिधिका रूपमा अघि सार्ने गरेको साधरण जनताले पनि बुझ्न थालिसकेका छन् । नेपालमा जतिसुकै राजनीतिक परिवर्तन आए पनि देशको मुहार नफेरिनुको पछाडि यसै कुराले काम गररहेको छ ।
हरेक पार्टीमा तहतहका नेता तथा कार्यकर्ता छन् । उनीहरूले पार्टी र देशमा हुने राजनीतिक परिवर्तनका लागि अमूल्य योगदान दिएर आएका छन् । तर, पनि उनीहरूको हैसियत नेताका छोराछारी र आफन्तभन्दा तल पारिने गरिएको छ । नेताको सामन्तवादी सोच, व्यवहार र सत्ता तथा शक्ति उनीहरूको हातमा केन्द्रित हुनुका कारण यो सबै हुँदै गइरहेको छ । अर्कोतिर प्रजातान्त्रिक मूल्यमान्यताविपरीत हुर्किइरहेको गठबन्धन संस्कृतिले पनि यसमा बढावा दिइरहेको छ । गठबन्धनको सिन्डिकेट र त्यसले निर्माण गरेको अत्यन्तै भद्दा संस्कृतिले स्वस्थ र मैत्रीपूर्ण प्रतिस्पर्धालाई बल मिच्याइ र मनपरितन्त्रका रूपमा अघि बढाइरहेको छ । यसले नेतालाई स्वेच्छाचारी बनाउने र जहानियाँ शासनको नजिक पु¥याउने गरिरहेको छ । यस्तो प्रवृत्तिबाट सबै नेता मुक्त हुनुपर्छ ।






