केही वर्षअघि सँगै पढेका साथीले १० कक्षा पास गरेपछि घर नजिकै उच्च शिक्षा पढ्न कलेज नहुँदा बिहेवारी गरेर घरजम गरिसकेका थिए । घरजम हुन बाँकी साथीले आमालाई घरको काममा सघाइरहेका थिए । कोही भने भारतको पिथौरागढसम्म पुगेर कक्षा ११ को फारम भरेर घरमै बसी पढ्ने संघर्ष गरिरहेका थिए । घरको जेठो सदस्यको नाताले भारतीय सेनामा कार्यरत ठूलाबुबाले भनेको घरमा सबैले मान्ने गर्दथे । उनका दुईवटा छोराहरू भारतकै नैनीतालमा उच्च शिक्षा हासिल गरिरहेको थिए । मेरा दुई दाइहरू पनि भारतकै झुलाघाटमा बसेर पढिरहेका थिए । म र दिदीले पनि १० कक्षा पास गरिसकेका थियौं । ठूलाबुबाले १० कक्षा पास गरिसकेपछि छोरीलाई धेरै पढाएर के काम ?
छोरी भनेको बिहे गरेर अरूका घर जाने जात हो, अरूका छोरीजस्तै गाईभैंसी पालन गर्दा पो दूध खान पाइन्छ भन्नुभयो । उनले भनेको अरू सबैकुरा आँखा चिम्लेर मान्ने हाम्रा बुबाले यो कुरा भने मान्नुभएन । दिदी र मलाई एकैचोटी अगाडि पढ्नका लागि घरबाट टाढा तराई पठाउन पनि समस्या थियो । दिदीको सहर गएर पढ्ने इच्छा हुँदाहुँदै पनि त्यो समयअनुसार बिहे गर्ने उमेर भइसकेको हुनाले मन मारेर भए पनि बिहे गर्नुप¥यो । म भने गाउँकै भाग्यमानी छोरी थिएँ । मेरा साथीले काखमा बालबच्चा खेलाइरहँदा म काठमाडौंसम्म पुगेर कलेज पढ्ने भइसकेकी थिएँ । गाउँका साथीभन्दा बढी अंग्रेजी बोल्ने, कम्प्युटर चलाउने भइसकेकी थिएँ ।
मेरो गाउँभन्दा अझै दुर्गम टाढाको गाउँमा भने मेरै उमेरका र मभन्दा पनि कान्छी बहिनीहरू गाईभैंसी पाल्नकै लागि स्कुल पठाएका थिएनन् । कतिपय बहिनीहरू अहिलेसम्म पनि निरक्षर नै छन् । कसैले भने बिहेपछि आफ्नै श्रीमान वा छोराछोरीबाट अक्षर लेख्न सिकेका छन् । छोरालाई छात्राबास, आफन्त वा डेरा नै खोजेर भए पनि सहर पढ्न पठाउने आमाबुबाले छोरीहरूलाई भने नजिकैको सरकारी स्कुलमा समेत पढ्न पठाएनन् । दुर्गमका गाउँहरूमा उच्च शिक्षा अध्ययन गर्ने छोरीको संख्या न्यून हुने गथ्र्यो । स्कुल नजानेहरूले १६ वर्ष नपुगी बिहे गरिसक्थे । स्कुल पढ्न जाने धेरैजसोले १० कक्षा पास गरेपछि बिहे गर्न तयार हुनैपथ्र्यो ।
आमाबुबालाई छोरी ठूली भएपछि पढाइभन्दा पनि छिट्टै बिहे गरेर पठाउनुपर्छ भन्ने सोचले घचघच्याउन थाल्थ्यो । छोरीले पढोस् या नपढोस्, ऊ आफ्नो खुट्टामा उभिने होस् या नहोस्, राम्रो खानदान खोजेर छिट्टै घरबाट पठाइहाल्नुपर्छ भन्ने सोच रहेको हुन्थ्यो । बिहे गर्ने उमेर नभए पनि अरूका छोरीको बिहे भइहाल्यो भने आफ्नी छोरीको बिहे कहिले होला भन्ने पीर आमाबुबालाई हुने गथ्र्यो ।
तर, अहिले समय फेरिएको छ । गाउँघरका छोरीहरू स्कुलको पढाइ सकिएपछि बिहे गरेर अर्काको घर जाने समय, नजिकै खुलेका कलेजका कारण थोरै भएपछि पनि लम्बिएको छ । छोरीहरूले कक्षा १२ सम्म घर नजिकै रहेका क्याम्पसमा पढ्ने अवसर पाइरहेका छन् । कोही भने १२ कक्षा पास गरेपछि उच्च शिक्षाका लागि सहर जान थालिसकेका छन् । पहाडबाट तराई झरेर आफूलाई मन पर्ने विषय पढेर आत्मनिर्भर बनिरहेका छन् । कसैले सरकारी सेवामा नाम निकाल्न सफल भएका छन्, कोही अनमी, स्वास्थ्य स्वयंसेविका, नर्स, डाक्टर, भेटेरेनरी, निजामती कर्मचारी, शिक्षक, सेयरबजार वा राजनीतिमा समेत लागेका छन् । हातहातमा भएका मोबाइलले पनि साथीभाइ माँझ, गाउँघरमा, आफन्त, देशभरमा के भइरहेको छ सम्पूर्ण जानकारी दिने हुँदा पनि महिलालाई अरू देखेर पनि केही गर्न आँट आइरहेको छ । हालै कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका दुई जना दिदीबहिनीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शाखा अधिकृत पदमा नाम निकालेका छन् । जोसुकैले पनि मिहिनेत गरेर काम गर्ने हो भने लक्ष्य सजिलै भेटिन्छ, चाहे त्यो जुनसुकै काम पनि किन नहोस् भन्ने उदाहरण हो यो ।
पढेलेखेपछि खेतीपाती गर्न वा पशुपालनजस्ता व्यवसाय गर्न धेरैजसो युवायुवती अप्ठ्यारो मान्छन्
समय कति बलवान छ । केही वर्ष पहिलेसम्म चार÷पाँच कक्षा मात्रै पढेर खासै जागिर नपाइने हुँदा बिहे भएका धेरैजसो छोरीचेली एकजोर नयाँ लुगा र चाडबाडमा मिठो खान पनि माइत दगुर्नुपर्ने बाध्यता थियो । बाह्रै महिना कृषि पेसामा घोटिए पनि राम्रोसँग खान लाउन पुग्दैन्थ्यो । अहिले भने चेलीले माइतमा बसेर आफ्नो पढाइ पूरा गरेपछि कतै जागिर, व्यापार, व्यवसायमा संलग्न भएर मात्रै बिहे गरिरहेका छन् । आमाबुबालाई पनि छोरीले एकजोर राम्रो लुगा लगाउन सकिनन् कि भन्ने चिन्ताले छोडेको छ । काखमा बच्चा खेलाउने उमेरमा अहिले छोरीले पनि हातमा ल्यापटप, मोबाइल चलाइरहेका छन् । घरको होस् या अफिसको हिसाबकिताब गरिरहेका छन् ।
मैले पढ्न पाइनँ, मलाई पढाएनन् भन्ने गुनासो गर्न छोडेका छन् । कतिपय चेलीले आमाबुबाले दुःख गरेर आफूलाई पढाएर आफ्नो खुट्टामा उभिन सकिने बनाएको बिर्सेका छैनन् । यसैले बिहे भइसके पनि माइतमा आमाबुबालाई अप्ठ्यारो पर्दा भौतिक सहयोगसँगै आर्थिक सहयोग गर्न समेत अघि सरेका धेरै उदाहरण आजकल गाउँघरमा भेटिन्छन् । छोरी शिक्षित भई भने सम्पूर्ण परिवार नै शिक्षित हुन्छ, शिक्षित जागिरे छोरीले घरको कामसँगै परिवारलाई आर्थिक रूपमा समेत सघाइरहेकी हुन्छिन् ।
अझै सहरमा बस्ने दम्पतीलाई महिला शिक्षित र जागिरे हुँदा झनै सजिलो भएको छ । नेपालमा लाखौं मानिस सहरमा भाडामा बस्छन् । श्रीमान एक जनाको मात्र जागिरले दैनिक आवश्यकता धान्न सकस नै हुन्छ । यस्तोमा श्रीमतीले पनि जागिर वा पेसा व्यवसाय गरेका खण्डमा आर्थिक स्थिति उकास्न धेरै सजिलो हुने सबैको बुझाइ छ । यसैले त अहिले छोराको बिहे गर्नुप¥यो भने गाउँघरमा पनि पढेलेखेकी आफ्नो खुट्टामा उभिन सफल भएकी बुहारी बिहे गर्ने चलन बढ्दै गएको छ ।
तर, गाउँदेखि सहरसम्म सबैले उच्च शिक्षा प्राप्त गरेसँगै कृषि व्यवसायको काममा ध्यान दिएको भने कमै भेटिन्छन् । युवायुवतीको यत्रो पढेर फेरि त्यही भैंसी पाल्नु, खेतमै काम गर्न जानु भन्ने मानसिकताले गाउँघरतिर पशुपालन, कृषि व्यवसायमा कमी आएको देखिन्छ । कोही उच्च शिक्षा पढ्न विदेश हानिन्छन् भने कोही सहर गएर बस्छन्, उतै सरकारी वा सानोतिनो जागिर खाएर बस्न रुचाउँछन् । चाडपर्वबाहेक घर फर्किन चाहदैनन् । जसका कारण गाउँघरमा खेतीपाती वा अन्य व्यवसाय गर्नेहरूको कमी हुँदै गएको छ ।
गाउँघरमा सरकारी जागिर गरेर बस्नेले पनि खेतीपातीमा त्यति ध्यान दिएको पाइँदैन । जसका कारण भकारी भर्ने खेत बाँझो हुँदै गइरहेका छन् । यातायातको सुविधा, घर नजिकै खोलिएका पसलमा लसुन, प्याज, आलुदेखि गोलभोडा सबै पाइने हुँदा पहिला जस्तो काममा खटिने गरेको देखिँदैन । अपवादबाहेक पढेलेखेपछि खेतीपाती गर्न वा पशुपालन जस्ता व्यवसाय गर्न धेरैजसो युवायुवती अप्ठयारो मान्छन् । यति धेरै पढेर पनि आखिर खेतमै काम गर्नुपर्छ भने किन दुःख गरी पढेको भन्नेहरूलाई जवाफ दिन नसक्दा यस्ता कामबाट टाढा बस्ने गरेको देखिन्छ ।
पढेलेखेका युवायुवती गाउँ नै छोडेर हिंड्नुभन्दा आफूले पढेको, जानेको, सिकेको ज्ञानलाई गाउँमै प्रयोग गर्दा आफूलगायत भावी पुस्तालाई गाउँघरको स्वच्छ वातावरणमा बस्न मद्दत गर्नेछ
कसैले पीएचडी गरेर अफिसमा बसीबसी जागिर खाए पनि अनपढ किसानले खेतमा अन्न फलाइदिएन भने ऊ भोकले मर्छ । त्यसकारण काम सानो ठूलो हँुदैन । आफूले पाएको अवसर र क्षमताले भ्याएसम्म सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ । धेरै पढ्दैमा कोही ठूलो हुने र नपढ्दैमा सानो हँुदैन । पढेपछि मानिसले धेरै कुराहरू जान्छ, सिक्छ, जसले आफ्नो जीवनलाई सजिलो बनाउन सक्छ फरक त्यति मात्र हो । पढेलेखेर नयाँनयाँ तरिकाले वातावरण सुहाउँदा तरकारी, फलफूल फलाउन सक्दा, युट्युबबाट खोजेर ठाउँ र मौसमअनुसार खेतीपाती गर्न जान्यो भने दिनदिनै बढ्दै गएको महँगीमा किसानले आफूले बगाएको पसिनाको मिठो फल पाउन सक्छन् ।
सुदूरपश्चिमका धेरैजसो गाउँघरमा भारतीय सेनामा काम गरेर पेन्सन आएका परिवार धेरै छन् । महिनाकै २५ हजारभन्दा माथि उनीहरूले पेन्सन बुझिरहेका हुन्छन् । जसका कारण केही काम गर्न सक्ने भए पनि हातमा पैसा भएपछि किनेर खान पाइन्छ भन्ने सोच देखिन्छ । छोराछोरी देश परदेश चरिहाल्छन्, बुढाबुढीलाई पेन्सनले पुगिहाल्छ, किन धेरै दुःख गर्नुप¥यो भन्ने सोचका कारण पनि हाम्रा खेत बाँझा हुँदै गएका छन् । तराईका मलिला खेतहरू कंक्रिट जंगलमा परिवर्तन हुँदै जानु र पहाडका खेतीयोग्य जमिन समेत बाँझो हुँदै जानुले दिनप्रतिदिन आयात बढ्दै गएको प्रस्ट देखिन्छ । गाउँघरमै बसेर काम गर्न खोज्नेलाई पनि वातावरणमा आएको असन्तुलनमा कारण खेतीपाती घट्दै जानु, फलफूलहरू सुक्दै जानु, जंगली जनावरले उठीबास लगाउँदा झनै समस्या थपेको छ ।
गाउँमा बसेर पढेलेखेका युवायुवतीले गाउँ नै छोडेर हिंड्नुभन्दा पनि आफूले पढेको, जानेको, सिकेको ज्ञानलाई गाउँमै प्रयोग गर्दा आफूलगायत भावी पुस्तालाई समेत गाउँघरको स्वच्छ वातावरणमा बस्न मद्दत गर्नेछ । सहरमा बसेर बुढेसकाल सुरु नहुँदै खानाभन्दा पनि बढी औषधि सेवन गर्नुभन्दा गाउँघरमै बसी मानापाथी दूध, घिउ खाएर चौतारीमा साथीसंगीसँग बसेर गफ गर्दै घाम ताप्नुको मज्जा लाखौं गुणा बढी हुन्छ । यसलाई सार्थक बनाउने काम स्थानीय स्तरबाट चुनिएर आउने जनप्रतिनिधिको नै हो ।






