स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन साहले शपथग्रहण र पहिलो बैठकबाटै लाइभ प्रसारण गर्ने प्रक्रियाको सुरुवात गरेका छन् । हेर्दा यो संघीय संसद्को प्रक्रियाको विस्तारित स्वरूपजस्तो देखिए पनि स्थानीय तहको सरकारको बैठकमा थालिएको यो प्रक्रियाले स्थानीय जनतामा सकारात्मक प्रभाव पारेको छ । एकातिर यो आजको डिजिटल युगको अभिव्यक्ति हो भने अर्कोतिर सुशासन र पारदर्शिताको सुरुवात पनि । यसले जनतालाई सरकारी कामकाजबाट सुसूचित हुने अधिकार पनि प्रदान गरेको छ । अप्रत्यक्ष रूपमा यसले काठमाडौंका जनतालाई स्थानीय सरकारको नीतिनिर्माण गरिने थलोसँग आबद्ध गरेको छ । लुक्ने र लुकाइने कुरा बन्द हुन पुगेका छन् । भेला, बैठक र बसाइमा एउटा कुरा गर्ने तर जनताका माझमा गएर अर्को कुरा गरेर विगतदेखि गरिँदै आएको बहुरंगी राजनीतिक ‘बिजनेस’को पनि अन्त्य हुुन गएको छ । जनताले कुन प्रतिनिधिले कुन मनसायका साथ के कुरा बोलिरहेका छन् ? भन्ने कुरा प्रत्यक्ष रूपमा देख्न थालेका छन् । यसले एकअर्कामा गरिने घात÷प्रतिघातका कामलाई अवश्य पनि कम गर्न ठूलो सहयोग गर्नेछ । जनताका काम खुला र पारदर्शी हुनु प्रजातन्त्रको मर्म हो ।
निर्वाचनमा होमिँदा र मतदातासमक्ष मत माग्दा हरेक उम्मेदवारले आआफ्ना प्रतिबद्धता जाहेर गरेका हुन्छन् । यस्ता प्रतिबद्धता जनताका मन मस्तिस्कमा रहेका छन् । उम्मेदवारहरूले प्रतिनिधिका रूपमा चुनिँदासम्म बिर्सिन पुगे पनि आमजनता भने यसको कार्यान्वयनको अपेक्षा गरिरहेका छन् । प्रतिबद्धता र एजेन्डा कार्यान्वयनका लागि पहिले सम्बन्धित स्थानीय सरकारको नीतिभित्र पर्नुपर्छ । नीति निर्माण भइसकेपछि ती कार्यक्रमका रूपमा कार्यान्वयनमा जान्छन् । यही नीति निर्माण र कार्यक्रम सेटिङमा आफ्ना प्रतिनिधि बोलेको र जनताका सेवा तथा सुविधाका काम कार्यान्वयनका लागि जनप्रतिनिधि अघि बढेको जनता देख्न चाहन्छन् । प्रत्यक्ष रूपमा यस्ता कुरा देख्न पाएपछि जनताले आफ्ना सामाजिक, आर्थिकलगायतका काम कारबाहीमा आआफ्ना धारणा बनाउन सहजता महसुस गर्नेछन् । सरकारले के गरिरहेको छ ? गर्न के खोजिरहेको छ र आफूहरूले के अपेक्षा राख्ने भन्ने कुराबीचमा मेल नै नहुने भएपछि देश र जनताको विकासको परिकल्पना त गर्नै नसकिने भएको थियो । टेलिभिजनमा लाइभ हेरेपछि स्थानीय क्षेत्र वा देशमा केके नै हुन्छ भन्ने पनि होइन तर विकासको मूलधार र प्रक्रियामा सहभागी हुने सोच र गतिविधिमा यसले ठूलो सहयोग पु¥याउने भने देखिन्छ । जनताको मानसिक, भौतिक तथा आर्थिक सहभागिताले देशको विकास केही बढी सम्भव हुन जान्छ ।
लाइभ तथा प्रत्यक्ष प्रसारणका कारण कसले के बोलिरहेको छ भन्ने कुरा छर्लंग हुन्छ । सबै कुरा पारदर्शी हुन जान्छन् । जनताले आफूले पाउने कुरा समयमै हेक्का राख्छन् । यसले सुशासन र पारदर्शितामा ठूलो सहयोग पु¥याउँछ । जनसहभागितामा बढोत्तरी ल्याउँछ । सोच, अन्तत्र्रिmया, बहस र निष्कर्षमा ठूलो सहयोेग पु¥याउँछ । विकास निर्माणमा अभिन्न बनेर ‘जुका’झैं टासिँदै आएको बिचौलिया र कमिसनको खेल पनि अन्त्य गर्न सहयोग पु¥याउँछ । साथै, जनताका काम गर्दा क–कसले सहयोग र क–कसले बाधा व्यवधान खडा गरे भन्ने पनि जनताले प्रत्यक्ष रूपमा देख्न र आफ्ना मत राख्न पाउँछन् । त्यसैले काठमाडौं महानगरपालिकाको लाइभ बैठकले पारदर्शिता कायम गराउने विषयमा ऐतिहासिक महत्व राख्ने देखिन्छ । यो कार्यलाई निरन्तरता दिइनुपर्छ ।






