जोखिम व्यवस्थापनको आन्तरिकीकरण

जोखिम के हो ?
मानव जीवन सदैव जोखिमपूर्ण रहँदै आएको छ र हामी सबैले जीवनको एक न एक मोडमा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएका छौं । जोखिमको विषयमा जानकार हुन हरेक कामकाजी मानिसका लागि आवश्यक हुन्छ । जोखिम (रिस्क) भनेको खतरनाक परिणामको अवस्था हो । सामान्यतया जोखिमलाई नकारात्मक अर्थमा बुभ्mने गरिन्छ भने जोखिमलाई अनिश्चितताको परिणामको रूपमा पनि लिने गरिन्छ । जोखिम घटना र घटनाबाट उत्पन्न सम्भाव्य परिणामकोे एकीकृत अवस्था हो । घटनाको परिणाम सकारात्मक, नकारात्मक वा अपेक्षितभन्दा फरक हुने गर्छ । आईएसओ गाइड ७३ले अनिश्चितताको प्रभाव जोखिम हो भन्दै जोखिमलाई परिभाषित गरेको छ भने जोखिमलाई जोखिमको परिणामको आधारमा नाप्न सकिन्छ भनी आधार पनि स्पष्ट गरेको छ । सामान्यतया जोखिमको जन्म व्यक्तिको क्रियाकलापबाट हुने गर्छ । घरमा हुने आगलागी, उधारो कारोबारको वित्तीय जोखिम, प्रकोपको वितण्डाको अवस्था, मानव सम्बन्धले सिर्जना हुने जोखिम, संगठनात्मक जोखिम, व्यापार व्यवसायसम्बन्धी जोखिम, साइबर असुरक्षाबाट उत्पन्न जोखिम, यात्राको क्रममा हुनसक्ने दुर्घटनाजन्य जोखिम, क्षमताभन्दा बढी जिम्मेवारी लिने प्रवृत्ति, आतंकवाद, जलवायु परिवर्तन, विश्ववित्तीय संकट तथा परियोजना कार्यान्वयन सम्बन्धका जोखिमहरू कुनै न कुनै रूपका जोखिमका रूप हुन् ।

जोखिमका प्रकारहरू
आगलागी हुनबाट बच्ने, सडकमा हिँड्दा सुरक्षित भएर हिँडने, घर चोरी हुने भयले साँचो लगाएर मात्र हिँड्ने प्रवृत्तिका सबै जोखिम स्वतः उत्पन्न हुने जोखिम (अटोमेटिक रिस्क) हुन् । जोखिमलाई (क) अनिवार्य (म्यान्डेटरी), (ख) खतरनाक (शुद्ध), (ग) नियन्त्रित (हेजार्ड) र (घ) अवसरमुखी (काल्पनिक) (अपरच्युनिष्ट) गरी चार भागमा बाँड्न सकिन्छ भने कसैकसैले जोखिमलाई शुद्ध र काल्पनिक गरी दुई भागमा मात्र बाँड्ने गरेको पनि पाइन्छ । संगठनले अनिवार्य जोखिम र खतरनाक जोखिमलाई कम गर्ने, नियन्त्रित जोखिमलाई व्यवस्थित गर्ने र काल्पनिक जोखिमलाई स्वीकार गर्ने गरेको पाइन्छ । आगलागी, दुर्घटना, प्रकोप, महामारीजस्ता जोखिमको नकारात्मक परिणाम मात्र आउने भएकाले यस्ता जोखिम खतरनाक जोखिम (हेजार्ड रिस्क)को श्रेणीमा पर्छन् । उदाहरणको रूपमा पेसागत स्वास्थ्य र सुरक्षालाई लिन सकिन्छ ।

जुन कार्यको परिणाम अज्ञात र अनिश्चित हुन्छ, त्यस्ता जोखिमलाई नियन्त्रित जोखिम भनिन्छ । यस प्रकारका जोखिम अनुमान गर्न र नियन्त्रण गर्न कठिन हुन्छ । परियोजना व्यवस्थापनसम्बन्धी सबै जोखिम नियन्त्रित जोखिमभित्र पर्छन् । यसमा संगठनमा रहेको जोखिम नियन्त्रण डिभिजनले अपेक्षित परिणाम प्राप्त गर्न कोसिस गरेको हुन्छ । अवसरमुखी जोखिम खासगरी जोखिम र जोखिमबाट हुने प्राप्ति वा परिणामसँग सम्बन्धित हुन्छ र यस्तो जोखिम लगानी सम्बन्धित हो । अनिवार्य जोखिम भनेको कानुनले जोखिम ठह¥याएको र सोका कारोबारमा नै जोखिमबाट कम क्षति बेहोर्ने वा क्षतिको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको हुन्छ । जस्तो कि, कार खरिद गर्दा तिरिने कार बिमा शुल्क अनिवार्य जोखिमको श्रेणीमा पर्छ । “नो रिक्स नो गेन”को सिद्धान्तअनुसार व्यावसायिक संगठनहरू नाफा र ख्याति आर्जन गर्न जानीजानी जोखिम लिएर लगानी गर्ने, उत्पादनको डिजाइन परिवर्तन गर्ने, प्रविधि बदल्नेजस्ता क्रियाकलाप सञ्चालन गर्छन् । यस प्रकारको जोखिम मौकानुकूल वा काल्पनिक जोखिमको श्रेणीमा पर्छन् ।

जोखिम व्यवस्थापन
कर्पोरेटको नाफा र विस्तार वृद्धि लगानीकर्ताका रुचिकर शब्द हुन् । कार्यक्रम र परियोजनाको सफल कार्यान्वयन निजामती कर्मचारीका लागि गर्वको विषय हो । तापनि, नवीन प्रयास र लगानीसँग जोडिएर आउने अनिश्चितता, अज्ञानता र बिग्रने भत्कने सम्भावनाले गर्दा संगठन वा कम्पनीको प्रभावकारिता वा नाफा र वृद्धि अवरुद्ध हुने गर्छ । लगानी गर्दा लगानीकर्ताको सुझबुझ, रणनीति, ट्याक्टिस तथा जोखिम व्यवस्थापकीय सक्रियताको अभावमा जोखिम साम्य हुँदैन । त्यसका लागि आउन सक्ने जोखिम र अवसरको पहिचान गरी त्यस्ता जोखिमको व्यवस्थापन गर्दै जोखिमबाट संगठन वा कम्पनीलाई बचाउन, नाफामूलक बनाउन र विस्तार गर्न नेतृत्व वा लगानीकर्तामा जोखिम र नाफाबीच सन्तुलन कायम गर्ने ज्ञान, क्षमता र सक्रियता आवश्यक हुन्छ ।

सामान्यतया भविष्यको अनुमान गर्न सकिँदैन, जुन अनिश्चित हुन्छ । बजारमा सेयरको मूल्य, ब्याजदर र वैदेशिक मुद्राको सटही दरमा कसरी परिवर्तन हुन्छ भन्ने कुरा सहज भविष्यवाणी गर्न सकिँदैन । यद्यपि, अनिश्चितताको कारण आउने वित्तीय जोखिमको व्यवस्थापन गर्न सकिन्छ । पहिले जस्तो होइन, अहिले जोखिमको पहिचान गर्ने, नाप्ने, परिणाम थाहा पाउने र जोखिमको स्थानान्तरण गर्ने, घटाउने वा नियन्त्रण गर्नेजस्ता उपायको विकास भएको छ । जोखिमको नियन्त्रण स्तरको ज्ञान र क्षमता विकासको सम्बन्धमा जानकारी भएपछि जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । वर्तमान विश्वबजारमा जोखिमप्रतिको चासो बढेको छ र सुरक्षाका रणनीति र उपायको अवलम्बन पनि बढेको छ ।

वर्तमान समयमा जोखिम व्यवस्थापन शासन, प्रशासन र व्यवस्थापनको अभिन्न अंग बन्दै गएको छ

जोखिम व्यवस्थापनलाई सरल शब्दमा भन्नु पर्दा कार खरिद गर्दा अनिवार्य रूपमा गरिने बिमा व्यवस्था कानुनी शर्त हो भने प्रकोपबाट हुनसक्ने घरको नोक्सानीको बिमा गर्नु भनेको जोखिम व्यवस्थापनको विषय हो । जोखिम व्यवस्थापन विधाको विकास इन्स्योरेन्सको अवधारणा र प्रयोगबाट विकास भएको देखिन्छ भने बैंक कर्जा प्रवाह र धितो प्रणालीसँग पनि घनिष्ठ रूपले आबद्ध भएको पाइन्छ । वर्तमान समयमा जोखिम व्यवस्थापन शासन, प्रशासन र व्यवस्थापनको अभिन्न अंग बन्दै गएको छ । जोखिम व्यवस्थापन भनेको सबै प्रकारका अनिश्चितताको व्यवस्थापन गरी संगठनात्मक उद्देश्य हासिल गर्नु हो । संगठनात्मक वातावरण अनिश्चित, अस्थिर र अज्ञात भएकाले भविष्यमा आउन सक्ने कुनै पनि घटनाबाट संगठनलाई कम हानी हुने अवस्था कायम गर्नु जोखिम व्यवस्थापन हो । अर्थात् संगठनात्मक अनिश्चितताको व्यवस्थापन गरी संगठनात्मक उत्पादनको गुणस्तर सुनिश्चित गर्नु हो । जति धेरै संगठनात्मक अस्थिरता, अनिश्चितता र अज्ञानता हुन्छ, उति नै जोखिम पनि बढी हुन्छ ।

जोखिम व्यवस्थापन एक नियमित प्रक्रिया हो भने यसको आप्mनै चक्र पनि हुन्छ । क) जोखिमको पहिचान, ख) जोखिमको गहनता (म्याग्निच्युट) निर्धारण, ग) जोखिमको तह (¥यांक) निर्धारण, घ) जोखिमप्रतिको प्रतिक्रिया (रेस्पोन्ड)–(सहन गर्नु, उपचार गर्नु, जोखिम सार्नु र समाप्त गर्नु) ङ) जोखिम नियन्त्रणका लागि स्रोत व्यवस्थापन (पूर्वतयारी), च) जोखिमबाट उत्पन्न प्रभावको उद्धार योजना (रियाक्सन ल्पानिङ) छ) जोखिमसम्बन्धी प्रतिवेदन तथा ज) जोखिम व्यवस्थापनको पुनरावलोकन जोखिम व्यवस्थापनका चक्रीय अवयव हुन् ।

जोखिम व्यवस्थापनका सिद्धान्त र उद्देश्य
जोखिम व्यवस्थापनको मुख्य सिद्धान्त र संगठनको अपेक्षित उपलब्धि हासिल गर्नु हो । अर्थात् संगठनात्मक अस्थिर, अनिश्चित र अज्ञात वातावरणको अन्योलता कम गर्दै जोखिम व्यवस्थापनका क्रियाकलाप सम्भाव्य उच्चतम प्रतिफल प्राप्त गर्न सञ्चालन गरिएका हुन्छन् । खासगरी जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि निम्नबमोजिमका सिद्धान्त रहेका छन् ः

(क) संगठनका जोखिम व्यवस्थापनका रणनीतिहरू संगठनले भोगेका जोखिम र जोखिमका प्रवृत्तिसँग समानुपातिक र सादृश्य हुनुपर्छ ।
(ख) जोखिम व्यवस्थापनका सबै कार्यक्रम संगठनका सबै क्रियाकलापसँग आबद्ध हुनुपर्छ ।
(ग) जोखिम व्यवस्थापनका रणनीति पूर्ण, व्यवस्थित र प्रणालीबद्ध हुनुपर्छ ।
(घ) जोखिम व्यवस्थापनका नीतिनियम संगठनको कार्यविधिमा अन्तरनिहित हुनुपर्छ ।
जोखिम व्यवस्थापन एक उद्देश्यमूलक व्यवस्थापकीय क्रिया हो, जसको स्पष्ट उद्देश्य रहेको हुन्छ । जोखिम व्यवस्थापनले संगठनको उत्पादन र उत्पादकत्वको सुरक्षा, प्रसिद्धिको संरक्षण र सेवाग्राहीको विश्वासको जगेर्ना गर्छ । जोखिम व्यवस्थापनका उद्देश्य देहायबमोजिम रहेका हुन्छन् ः
(क) जोखिम व्यवस्थापनका लागि अनिवार्य गरिएका नियम कानुनको हुबहु कार्यान्वयन वा पालनाको सुनिश्चित गर्ने ।
(ख) संगठनको नेतृत्वले संगठनको आन्तरिक नियन्त्रण प्रणालीसँग जोखिम व्यवस्थापनका सिद्धान्त आन्तरिकीकरण भएको सुनिश्चित गर्ने ।
(ग) संगठनात्मक रणनीतिक निर्णयका लागि उच्च व्यवस्थापन तहलाई जोखिम सम्बद्ध संकलित सूचना उपलब्ध गराउने ।
(घ) संगठनात्मक अनिश्चितता कम गराई प्रभावकारी र सवल रणनीति, चतु¥याइँ र नियम पालना सुनिश्चित गरी अपेक्षित उपलब्धि हासिल गर्ने ।
(ङ) अनुमान नगरिएको वा अनुमान गर्न नसकिएको घटनाबाट संगठनलाई कमभन्दा कम क्षति हुने वा पुग्ने रणनीति अवलम्बन गर्ने, र
(च) समाजमा जोखिम सिकाइ र चेतना बढाउने ।

अनिवार्य जोखिम व्यवस्थापनको व्यवस्थाले जोखिम गभर्नेन्सलाई मजबुत बनाउँछ भने खतराजन्य जोखिम व्यवस्थापनले संगठनात्मक क्षतिलाई कम गर्दछ

जोखिम व्यवस्थापनको महत्व
विश्वमा सूचना सञ्चार प्रविधिको विकास र प्रयोगले द्रुत परिवर्तन ल्याउँदा संगठनात्मक अनिश्चितता र जोखिम बढेको कारण व्यवस्थापनको क्षेत्रमा जोखिम व्यवस्थापनको महत्व र कार्यक्षेत्र बढ्दै गएको छ । नागरिकको आवश्यकता र मागमा व्यापक परिवर्तन, विश्वव्यापी वित्तीय संकट, सेयरधनीको बढ्दो अपेक्षा, सूचना सञ्चारको सहजताले ल्याएको विश्वव्यापी नेटवर्क, संगठनात्मक सक्षमता विकासका लागि गुणस्तरीय निर्णयको आवश्यकता, संगठनात्मक प्रसिद्धिको संरक्षा र प्रवद्र्धनले जोखिम व्यवस्थापनको महत्वलाई उजागर गर्छन् । अनिवार्य जोखिम व्यवस्थापनको व्यवस्थाले जोखिम गभर्नेन्सलाई मजबुत बनाउँछ भने खतराजन्य जोखिम व्यवस्थापनले संगठनात्मक क्षतिलाई कम गर्छ । कारमा सुरक्षा वा दगुराउने सुविधाका लागि ब्रेक राखिएको हुन्छ । नियन्त्रण जोखिम व्यवस्थापनलाई पनि ब्रेकको रूपमा लिइन्छ । यसले संगठनमा नवीन क्रियाकलाप र प्रयोगलाई जोखिमपूर्ण सम्झँदै नियन्त्रण गर्ने भएकाले संगठनको सम्भाव्य परिणाम प्राप्तिलाई कम गर्छ भन्ने गरिन्छ । त्यसैगरी, अवसर व्यवस्थापनले जोखिम उठाएर लगानी गर्न, वस्तु वा सेवाको डिजाइन परिवर्तन गर्न तथा सेवाप्रवाह प्रक्रिया परिवर्तन गर्न उत्प्रेरित गर्ने कारण सकारात्मक परिणाम प्राप्त गर्न सहज बनाउँछ । जोखिम व्यवस्थापनले परियोजना कार्यान्वयनको चरणमा आइपर्ने जोखिम समाधान गरी परियोजनालाई नतिजा प्राप्त गर्न सहज बनाउँछ भने संगठनको अगाडि रहेका अवसरबाट लाभ लिनका लागि जोखिम व्यवस्थापन गर्न नेतृत्वलाई उत्प्रेरित पनि गर्छ ।

आजको द्रुत गतिमा हुने परिवर्तनले निम्त्याएको अनिश्चितताले सार्वजनिक तथा संगठन वा कर्पोरेट हाउस वा कम्पनीलाई अनेकन प्राकृतिक वा मानवकृत घटना वा दुर्घटनाले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती दिइरहेका छन् । २ असार २०७८ मा मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी परियोजना पूर्णतः बगाएपछि त्यहाँ जोखिम व्यवस्थापनको पर्याप्त व्यवस्था नभएको आलोचना सर्वत्र भएको थियो । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा वा सुन धितो लिएर ऋण प्रवाह गर्ने पद्धति जोखिम व्यवस्थापनको एउटा उदाहरण हो । दुर्घटना बिमा, स्वास्थ्य बिमा, कर्जा तथा बचत बिमा, कार नोक्सानी बिमाजस्ता बिमा गरेर असुरक्षालाई व्यवस्थित गर्न खोजिएको भए पनि नेपालको व्यवस्थापन र प्रशासन पद्धतिमा जोखिम व्यवस्थापनलाई आन्तरिकीकरण गरिएको पाइँदैन ।

विश्वमा गभर्नेन्स, जोखिम र कम्लायन्स् (अनुपालन) सँगसँगै आउने प्रवृत्ति बढेको छ । जोखिम व्यवस्थापन गरी संगठन वा कम्पनीको सेवा, उत्पादन वा क्रियाकलापलाई निरन्तरता दिनु आजको आवश्यकता हो । वर्तमान प्रतिस्पर्धी बजारमा सम्भाव्य जोखिमको उपचार व्यवस्था गरी जोखिम उठाएर काम गर्ने प्रवृत्ति उद्यमीमा देखिएको छ । यसकारण, जोखिमको व्यवस्थापन अपरिहार्य भएको छ । संगठनको आन्तरिक र बाह्य वातावरणको व्यवस्थापन गरी जोखिम न्यूनीकरण गर्न जोखिम व्यवस्थापनका सिद्धान्तलाई आन्तरिकीकरण गरी संगठनात्मक क्षमता (जोखिम विज्ञ र जोखिम व्यवस्थापन महाशाखाको स्थापना) विकास गर्नु आजको अनिवार्यता हो । संगठनको नेतृत्व वा उच्च व्यवस्थापन तहले जोखिम व्यवस्थापनबाट संगठनको उत्पादन, उत्पादकत्व बढाउनुका साथै प्रसिद्धि प्रवद्र्धन गरी लाभ दिन्छ भन्ने यथार्थलाई महसुस गरी संगठनमा जोखिम व्यवस्थापनका उपाय संगठनका हरेक क्रियाकलापमा आबद्ध गरी अवलम्बन गर्नुपर्छ भने जोखिम व्यवस्थापनलाई संगठनात्मक संस्कृतिको रूपमा अंगीकार पनि गर्नुपर्छ ।

सारमा, जोखिम स्वभावैले अनिश्चिततासँग जोडिएको हुन्छ, जसको प्रभाव सामान्य नागरिकको जीवनदेखि संगठनात्मक जीवनसम्म पर्ने गर्छ । जोखिमलाई नकारात्मक अर्थमा बुभ्mने कारण जोखिम वहन गर्नसक्ने क्षमतावान् उद्यमी कर्मचारी विकास गर्न, लगानी तथा कार्यसम्पादन गर्ने वातावरण निर्माण गर्न तथा विविध प्राकृतिक एवं मानवकृत दुर्घटनाबाट कमभन्दा कम धनजनको क्षति पुग्ने स्थिति बनाउन जोखिम व्यवस्थापन आजको समाजमा अनिवार्य अपरिहार्य बनेको छ । जोखिम व्यवस्थापन प्रशासकीय व्यवस्थापनको एक नवीन कला विधा भएकाले यस सम्बन्धमा सिक्दै सिकाउँदै आजको व्यावसायिक समाजलाई सुरक्षित र परिणाममुखी बनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,831 times, 1 visits today)

epaper

ताजा समाचार

सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व