उदयपुर । कुनै समय कात्तिक नलाग्दै त्रियुगा उपत्यकाका खेतबाट फैलिने रैथाने बासमती धानको बासना अहिले हराउँदै गएको छ । स्वाद र सुगन्धका कारण पहिचान बनाएको उदयपुरको मौलिक बासमती धान पछिल्लो समय किसानको खेतबाटै विस्थापित हुन थालेको छ । कम उत्पादन, लामो पाक्ने अवधि, सिँचाइ र मलको आवश्यकता तथा खेतीयोग्य जमिनको खण्डीकरणका कारण किसानले रैथाने बासमती छाडेर बढी उत्पादन दिने उन्नत तथा हाइब्रिड जातका धान लगाउन थालेपछि यसको अस्तित्व संकटमा परेको हो ।
केही वर्ष अघिसम्म त्रियुगा नदी आसपासका खेतमा व्यापक रूपमा खेती गरिने बासमती अहिले सीमित क्षेत्रमा खुम्चिएको छ । कुनै समय घरघरमा पाक्ने बासमती चामल स्थानीय बजारमै सहजै पाइन्थ्यो । तर, स्थानीय उत्पादन घट्दै गएपछि अहिले ठूला धरानादेखि उपभोक्ताको भान्सासम्म पुग्ने बासमती चामल समेत भारतबाट आयात गर्नु पर्ने अवस्था आएको छ ।
किसानका अनुसार परम्परागत बासमती धानको तुलनामा उन्नत जातका धानबाट दोब्बरदेखि तेब्बरसम्म उत्पादन हुने भएपछि खेतीको प्राथमिकता फेरिएको हो । थोरै उत्पादन हुने र पाक्न पनि बढी समय लाग्ने भएकाले व्यावसायिक खेतीमा बासमती धान किसानको रोजाइमा पर्न छाडेको छ ।
चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका पूर्ववडाध्यक्ष देवनारायण चौधरीका अनुसार बासमती, करियाकामत र चनमचुर जस्ता रैथाने धानको उत्पादन कम हुने भएकाले किसानले विस्तारै खेती गर्न छाडेका हुन् । पहिले घरायसी उपभोगका लागि खेती गरिने भए पनि अहिले व्यावसायिक उत्पादनलाई प्राथमिकता दिन थालिएकाले बढी फल्ने जातका धान लगाउने क्रम बढेको उनको भनाइ छ ।
‘अहिले उच्च गुणस्तरको भन्दा धेरै उत्पादन दिने उन्नत जातको धान लगाउने चलन बढेको छ,’ चौधरीले भने, ‘बासमती, करियाकामत र चनमचुर धेरै क्षेत्रफलमा लगाउँदा पनि उत्पादन थोरै हुने भएकाले किसानले खेती गर्न छाडेका हुन् ।
त्रियुगा नगरपालिका–३ मोतिगडाका किसान जयप्रकाश चौधरीको अनुभव पनि उस्तै छ । उनी वर्षौंदेखि बासमती धान खेती गर्दै आए पनि अहिले उत्पादन र जमिन दुवै घटेकाले खेतीको क्षेत्रफल निकै साँघुरिएको बताउँछन् । पहिले पाँचदेखि १० बिघासम्म खेतमा बासमती लगाउँथ्यौँ, अहिले एक बिघामा पनि मुस्किलले खेती हुन्छ,’ उनले भने, ‘पहिले जस्तो जग्गा पनि छैन, बासमती रोप्दा उत्पादन पनि कम हुने भएपछि खेती घटाउँदै लगेका हौँ ।
धानका उन्नत जातको विकाससँगै परम्परागत बीउको प्रयोग घट्दै गएको त्रियुगा नगरपालिका–१२ का किसान प्रेमबहादुर बुर्जा मगर बताउँछन् । उनका अनुसार अहिले बासमतीकै नाममा उन्नत जातका बीउ बजारमा उपलब्ध भए पनि तिनमा पहिलेको जस्तो मौलिक सुगन्ध र स्वाद पाउन मुस्किल छ । बासमतीको पनि उन्नत जातको बीउ आएको छ, तर अहिलेको बीउबाट पहिलेको जस्तो बासना आउने धान फल्दैन,’ उनले भने, ‘पर्याप्त सिँचाइ र कम्पोस्ट मलको प्रयोग हुन नसक्दा पनि बासमती लगायत पुराना जातका धान लोप हुँदै गएका हुन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लामा पछिल्लो १२–१३ वर्ष यता रैथाने बासमती धान क्रमशः हराउँदै गएको छ । उन्नत जातका धानले रैथाने बीउलाई विस्थापित गर्नु, खेतीयोग्य जमिनको खण्डीकरण हुनु र उत्पादन कम हुनु यसका प्रमुख कारण हुन् । यादवका अनुसार बासमती र चनमचुर जस्ता रैथाने धान अन्य उन्नत जातको तुलनामा ढिलो पाक्ने, बढी सिँचाइ तथा मल आवश्यक पर्ने र उत्पादन पनि कम दिने भएकाले किसानले खेती गर्न छाडेका हुन् । अहिले बजारमा उपलब्ध नयाँ जातका धानले रैथानेको तुलनामा दोब्बर उत्पादन दिने भएकाले किसानको आकर्षण त्यतैतिर बढेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार विगतमा बेलका, चौदण्डीगढी, त्रियुगा, उदयपुरगढी र कटारी क्षेत्रमा बासमती तथा चनमचुर धानको खेती हुने गरेको थियो । तर, अहिले यसको खेती निकै सीमित भएको छ । किसानले घरायसी उपभोगका लागि मात्रै करिब १२५ हेक्टर क्षेत्रफलमा बासमती र चनमचुर धान लगाउने गरेको कार्यालय प्रमुख यादवले बताए ।
स्थानीय किसान विनोद कार्कीका अनुसार रैथाने बासमती र चनमचुर धानको उत्पादन प्रतिकठ्ठा दुई मन मात्रै हुन्छ । तर, उन्नत जातका धानबाट प्रतिकठ्ठा छ मनसम्म उत्पादन हुने भएकाले किसानको रोजाइ फेरिएको हो । उदयपुरमा कुल १४ हजार ९३४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये सात हजार ३०३ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कुल धान खेती हुने क्षेत्रफलमध्ये एक हजार ५५४ हेक्टरमा चैते धान खेती गरिन्छ ।
पर्याप्त सिँचाइ सुविधा नहुनु, खेतीयोग्य जमिन टुक्रिँदै जानु र उत्पादनमुखी कृषि प्रणालीको विस्तारसँगै रैथाने बीउ संरक्षण प्रति चासो घट्दै जानुले उदयपुरको मौलिक बासमती धान संकटमा परेको देखिन्छ । स्वाद, सुगन्ध र स्थानीय पहिचान बोकेको यो धानको संरक्षण तथा व्यावसायिक प्रवद्र्धनमा समयमै ध्यान नदिने हो भने त्रियुगा उपत्यकाको बासमती इतिहासमै सीमित हुने जोखिम बढेको छ । उता त्रियुगा उपत्यकामा पाईने अण्डी धानको अवस्था पनि उस्तै रहेको पाइन्छ ।
सम्बन्धित समाचार
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण





