दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । विद्युतीय कसुरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईको हकमा छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । प्रसाईका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।

सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले भक्तपुरबाट गत ४ मंसिरमा पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई दोस्रोपटक म्याद थप गरी अनुसन्धानको अनुमति दिएपछि उनी हिरासतमै छन् । प्रहरीले प्रसाईंमाथि साइबर अपराध, सरकारी कागजात किर्तेलगायतको आरोपमा अनुसन्धान गरिरहेको छ । छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै ८ मंसिरमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले ९ मंसिरमा बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो ।

बुधबार उनलाई अदालतमा उपस्थित गराएर हिरासत फर्काइएको थियो । सर्वोच्चबाट रिट खारेज भएसँगै प्रसाईंले अब सरकारी वकिलबाट रिहाइ नभएर अदालतमा मुद्दा दायर भएपछि हुने थुनछेक आदेश कुर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जिआटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाएको अभियोग छ । प्रसाईले बनाएको सो भिडियोको सत्यतथ्य जाँच नगरी केही मिडियाले समाचारसमेत बनाएका थिए । यसअघि पनि प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भनेर आरोप लगाएका थिए । प्रसाईको सो अभिव्यक्तिको १३ कात्तिकमा पोखरामा भएको एमाले गण्डकी प्रदेशको कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यंग्यात्मक रूपमा खण्डन गरिसकेका थिए । प्रधानमन्त्री ओलीले त्यतिबेला भनेका थिए– ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु, देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन, हजार रुपैयाँ थपेर सबै दिन्छु ।’ अहिले भने प्रसाईले आफूले विगतमा भनेको कुरा पुष्टि गर्ने भन्दै किर्ते कागजात बनाएर युट्युबरलाई बोलाएर प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाएका भन्दै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काठमाडौं विश्वकै प्रदूषित सहरको सातौं स्थानमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु