देश विकास गर्नका लागि देशभित्र रहेको प्रकृतिक स्रोत, साधन र मानव पुँजीको उचित प्रयोग गर्न आवश्यक हुन्छ । देश विकासको आधार दक्ष मानव स्रोत हो । युवाहरूको जोस, जाँगर, योग्यता र क्षमताबिना देश विकासजस्तो गहनतम कार्य गर्न सम्भव हुँदैन । मानिसले युवा अवस्थामा नै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय विकास गर्नका लागि सशक्त भूमिका खेल्न सक्छ । देश विकासका लागि दक्ष जनशक्ति, सक्षम तथा सफल नेतृत्वको आपसी तादात्म्यता मिल्न र मिलाउन जरुरी हुन्छ । हाम्रो देशको सन्दर्भमा न त सक्षम र सफल नेतृत्व छ न त युवा जनशक्तिलाई देश निर्माणमा संलग्न गराउन सकेको अवस्था छ । युवाहरू बत्तीमा पुतली होमिएझंै विकसित देशहरूमा होमिएका छन् । उनीहरूले आप्mनो भाग्य र भविष्य देशभित्र देख्न सकेका छैनन् ।
नेपाली समाज लामो राजनीतिक लडाइँ पछाडि लोकतान्त्रिक राज्य व्यवस्थामा प्रवेश गरेको छ । इतिहासका कालखण्डहरूमा नेपाली समाजले राजनीतिक व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नुको पछाडि देशमा सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्रमा सुधारको अपेक्षा थियो । जनताले विधिको शासन, आर्थिक समृद्ध समाज र सुखी नेपालीको आशा र भरोसा गरेका थिए । यो भरोसालाई राजनीतिक दलहरूले बेवास्ता गरे । जब राजनीतिक परिवर्तन भयो, तत्पश्चात् दलहरूले देशको आवश्यकता र जनहितको विषयलाई छायामा पारे । राजनीतिक व्यवस्था परिवर्तन गरेको युवा शक्तिलाई रोजगारी दिने र उनीहरूको क्षमतालाई देश विकासमा लगाउने काम गरेनन् । राजनीतिले जनताका अपेक्षा सम्बोधन गर्नुपर्नेमा नेताहरू अनेक प्रकारका प्रकरणमा लाग्न थाले । युवाहरू दिनप्रतिदिन बेरोजगारीले सताइए । फलतः उनीहरू विदेश पलायन भए ।
सामाजिक रूपान्तरण र आर्थिक विकास देशको आवश्यकता हो । तर, यो आवश्यकता पूरा गर्न दलहरू अक्षम भए । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक भए तापनि सक्षम नेतृत्व र व्यवस्थापनको अभावले लथालिंगको स्थितिमा पुग्यो । युवाहरूको जोस, जाँगर र क्षमतालाई देश विकासमा लगाउन राज्य चुक्यो । राजनीतिक खिचातानीमा दलहरूले समय बिताए । देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योगलगायतका क्षेत्रहरू झन् पछि झन् कमजोर हुँदै गए । अहिले हरेक दिन हजारौंको संख्यामा युवाशक्ति पलायन भएको छ । यो अवस्थालाई रोक्न नसक्ने हो भने हाम्रा गाउँ–बस्तीहरू ज्येष्ठ नागरिकको बस्तीका रूपमा परिणत हुनेछन् । दस जोड दुई पढेपछि विद्यार्थी बिदेसिएपछि देशका हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव हुनेछ । त्यसैले युवा पुस्तालाई देशभित्र नै रोजगारीको अवसर र भविष्यको आशा सञ्चार गर्नका लागि निम्न क्षेत्रहरूमा तदारुकतासाथ काम गर्न आवश्यक देखिन्छ ।
सक्षम राजनीतिक नेतृत्व
यो मुलुकले सक्षम राजनेता पाउन नसकेको आम बुझाइ छ । नेपाली कांग्रेस र एमाले देशका पुराना र जनआधार भएका दलहरू हुन् । तर, यी दलहरूको शीर्ष स्थानमा रहेका व्यक्ति नै देश विकास र सुशासनका बाधकको रूपमा रहेको जानकारहरू बताउँछन् । कांग्रेसको नेतृत्व गरिरहेका नेता शेरबहादुर देउवा र एमालेका नेता खड्गप्रसाद ओलीको कारण यी दलहरू जनताको नजरमा अत्यन्त अलोकप्रिय बन्दै गएको विश्लेषकहरूको कथन छ । माओवादी दल प्रचण्डका कारण अत्यन्त अलोकप्रिय बन्दै गएको राजनीतिशास्त्रीहरूको ठहर छ । नयाँ शक्तिको रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दलहरूको कमीकमजोरी तथा अकर्मण्यताको आधारमा सिद्धान्त र दृष्टिकोणबिना नै जन्मिएकाले यो दलले देशको नेतृत्व गर्न नसक्ने राजनीतिका जानकारहरू बताउँछन् । अरू विभिन्न नामका जनआधार नभएका दलहरू पनि छन् । यिनीहरूले पनि जनताको पक्षमा काम गर्दैनन् । यस कोणबाट हेर्दा भरपर्दो, सक्षम राजनीतिक नेतृत्वका लागि पुराना दलभित्रका सक्षम युवा नेताहरूको खोजी तथा छनोट गर्न आवश्यक देखिन्छ ।
नेपाली कांग्रेस र एमाले पार्टीमा रहेका युवा नेताहरू सक्षम छन् भन्ने गरिन्छ । तथापि शीर्षनेताहरूले नयाँ पुस्तालाई अवसर नै दिँदैनन् । असीको दशकको नजिक रहेका नेताहरूले पदको लोभ गरिरहनाले पनि समाजमा निराशा बढ्दै गइरहेको छ । अहिले नेतृत्वमा रहेका शीर्ष नेतृत्वले व्यवस्था परिवर्तन गर्नका लागि गरेको त्याग, तपस्या र बलिदान स्मरणीय छ । तथापि इतिहासको योगदानले मात्र वर्तमान समाज चल्न सक्दैन । समयको मागलाई सम्बोधन गर्न नसक्ने नेतृत्व आउटडेटेड हुन्छ । युवाहरूको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने नेतृत्व रहुन्जेल विदेश पलायन रोकिने अवस्था देखिँदैन ।
देश चलाउन अनुभव, परिपक्वता, होस तथा विवेक चाहिन्छ । नेतृत्व क्षमता चाहिन्छ । विकासको मार्गचित्र र डेलिभरी गर्न सक्ने कार्यक्षमताको खाँचो हुन्छ । पुराना दलहरूमा लामो समयदेखि राजनीति गरेर आएका युवा नेताहरूमा देश बनाउन सक्ने सम्भावनालाई समाजले अस्वीकृत गरिसकेको अवस्था छैन । परन्तु, नयाँ पुस्ताका सक्षम नेताहरूले नेतृत्व गर्ने अवसर पाउन सकेका छैनन् । यस कोणबाट हेर्दा देश हाँक्न सक्ने सक्षम नेतृत्वको इमानदारीका साथ खोजी गर्नुपर्ने भएको छ ।
समाजले देशलाई बदल्न सक्ने नेतृत्वको खोजी गरिरहेको छ । पुराना दलहरू सञ्चालन गर्ने शीर्षनेताहरूले समाजमा सकारात्मक सन्देश दिन नसक्नु दुःखको कुरा हो । अन्य दललाई पनि समाजले विश्वास गरिहालेको अवस्था छैन । जनआन्दोलन २०६२÷०६३ पछाडि जन्मिएका मधेशवादी दलहरू पनि संगठित हुन सकेको अवस्था छैन । उनीहरूमा क्षेत्रीय मनोविज्ञानको साँघुरो बन्धन हुर्किएको देखिन्छ । राजनेता भनेको सबै नेपालीको साझा बन्न सक्नुपर्छ । मधेशवादी राजनीतिक दलहरूमा राजनेता बन्न सक्ने गुणको विकास गर्न बाँकी रहेको विश्लेषकहरू बताउँछन् । संवैधानिक राजतन्त्रको एजेन्डा बोकेर राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा अनुभवी तथा योग्य नेताहरू नभएका होइनन् । तथापि नेपाली समाजमा राजतन्त्रप्रति सिर्जना भएको नकारात्मक भावनाले गर्दा यो दललाई नेपाली समाजले नेतृत्वमा पुग्न सक्नेगरी मतदान गर्न सक्ने अवस्था नरहेको स्थानीय तहको निर्वाचनको नतिजाले देखाउँछ । यसरी हेर्दा देशमा रहेको राजनीतिक चरित्रका कारण युवाहरू देशभित्र नै आशावादी हुन सकेका छैनन् ।
रोजगारमूलक शिक्षा
शिक्षा समाजका हरेक पेसा र व्यवसायसँग जोडिने सक्षम जनशक्ति उत्पादन गर्ने माध्यम हो । अहिले हाम्रो शिक्षा प्रणाली प्रमाणपत्र प्राप्त गर्ने माध्यम बनेको छ । विश्वविद्यालयसम्मको पढाइ पूरा गरिसकेका शिक्षित जनशक्ति प्रमाणपत्रहरू दराजमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा रोजगारीका लागि पलायन भएको अवस्था छ । यस अर्थमा पलायन भइरहेको जनशक्तिलाई रोक्नका लागि उनीहरूले स्वदेशमा नै आयआर्जन गर्न सक्ने व्यवसायमूलक शिक्षा दिनुपर्छ ।
कृषि र पशुपालनलाई वैज्ञानिक तरिकाले विकास गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा राज्यले किन बुभ्mदैन ? उल्लिखित क्षेत्रको विकासका लागि राज्यले विज्ञ, विशेषज्ञहरूसँग किन सहकार्य गर्दैन ? यस कोणबाट हेर्दा सिंहदरबार, संसद्भवन र बालुवाटार अक्षमहरूको ग्यालेक्सीले भरिएको ठाउँ हो त ?
हाम्रोजस्तो गाउँँ नै गाउँहरूले भरिएको कृषिप्रदान देशका शिक्षार्थीहरूलाई हलो, कुटो र कोदालोदेखि कम्प्युटरसम्मको ज्ञान आजको आवश्यकता हो । कृषि गर्ने परम्परागत शैलीको ज्ञानलाई बदलेर आधुनिक कृिष प्रणालीमा रूपान्तरण गर्न तदनुरूपको कृषि शिक्षामा आधारित ज्ञान तथा प्राविधिक सीपको खाँचो हुन्छ । जैविक विविधताअनुसारको खेती, पशुपालन एवं व्यबसाय गर्न सक्ने सक्षम जनशक्ति नभएसम्म गाउँघरमा विकासले गति लिन सक्दैन । यसका साथै गाउँमा नै उत्पादित कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगहरूको स्थापना गरी बस्तुको उत्पादन गर्न, व्यवसायीकरण तथा व्यापारमा विविधीकरण गर्न सक्ने विषयवस्तुमा आधारित शिक्षा आजको खाँचो हो । यो खाँचोलाई पूरा गर्न शैक्षिक प्रणालीमा परिवर्तन गर्न विलम्ब गर्नु हुँदैन ।
पालिकाहरूमा कृषि शिक्षा तालिम
नेपाल कृषिप्रधान देश हो भन्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूमा लेखिएको विषयवस्तुको अध्ययन गर्ने विद्यार्थीले कृषि शिक्षा नै अध्ययन गर्न पाएको अवस्था छैन । देशमा एउटा मात्र कृषि विश्वविद्यालय छ । यहाँबाट उत्पादित कृषिविज्ञलाई राज्यले आधुनिक कृषि उत्पादनमा लगाएको छैन । कुनै पनि संकायमा उच्चशिक्षा हासिल गरिसकेपछि पनि कुनै पेसागत दक्षताको हासिल र आयआर्जनको अवसर नदेखेपछि विद्यार्थीहरूले देश छाडेका हुन् । अभिभावकहरूले पनि छोराछोरीहरूलाई विदेश पठाएका हुन् । प्लस टु उत्तीर्ण गरेपछि लाखौं विद्यार्थी विदेश पलायन भएको अवस्था छ । यस कोणबाट देशको भविष्यलाई नियाल्दा राज्यले औपचारिक रूपमा कृषि शिक्षालाई पाठ्यक्रममा समावेश गरेर सक्षम जनशक्ति उत्पादन गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्न कम्तीमा पनि एक दशक लाग्छ । त्यसैले एकातिर राज्यले दीर्घकालीन योजनाअन्तर्गत कृषि शिक्षालाई विद्यालयतहदेखि नै समावेश गर्नुपर्छ भने अर्कोतिर अल्पकालीन रूपमा हरेक पालिकाहरूमा त्यहाँको हावापानी, माटो र उत्पादनको सम्भावनाको आधारमा आधुनिक कृषि उत्पादन गर्न सक्ने तहसम्मको कृषि तालिम सञ्चालन गर्नुपर्छ ।
हरेक स्थानीय तहमा उन्नत जातको गाई, भंैसी, भेंडा, बाख्रा, कुखरापालन फलपूmल खेती, पुष्प खेती, रेसम खेती, माहुरीपालन, माछापालन, स्याउ, सुन्तला, एबोकाडो, कागती, केरालगायतका अन्य कृषिजन्य उत्पादन गरी पशुपालन र कृषि उत्पादनको क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न युवाहरूलाई सक्षम बनाउने हो भने उनीहरूले आप्mनै गाउँठाउँमा आयआर्जनका अवसरहरू सिर्जना गर्न सक्छन् । आज मुलुकलाई जल, जमिन, जडीबुटी, जंगल, खनिज पदार्थलगायतको क्षेत्रमा ज्ञान र सीप भएका दक्ष जनशक्तिको खाँचो छ । यो खाँचोलाई शिक्षाको माध्यमले पूरा गर्नुपर्छ । जैविक विविधताअनुसारको खेती, पशुपालन, स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगहरूको स्थापना, वस्तुको उत्पादन, व्यवसायीकरण एवं व्यापारमा विविधीकरण गरी ग्रामीण अर्थतन्त्र फस्टाउन सक्छ । युवा पलायन रोकिन थाल्छ । देशको अर्थतन्त्र उत्पादनमा आधारित हुन थाल्छ ।
देशव्यापी रूपमा कृषि उत्पादनमा आधारित उद्योगको स्थापना
राज्यले कृषिक्षेत्रलाई देशको जैविक विविधतामा आधारित खेती गर्ने वैज्ञानिक कार्ययोजना बनाउनुपर्छ । कृषकलाई पशुपालन, पन्छीपालन, फलफूल खेती, पुष्प खेती, जडीबुटी खेती, अलैंची, अदुवा, अम्रिसोलगायत आयआर्जन गर्न सकिने खेती उत्पादनमा आधारित कृषि तालिम दिएपछि उल्लिखित उत्पादनमा आधारित घरेलु उद्योगहरू स्थापना गर्नुपर्छ । भारत, इजरायल, न्युजिल्यान्डलगायतका देशहरूले कृषि र पशुपालनबाट गरेको आर्थिक समद्घिको मोडेल नेपालले लागू गर्न आवश्यक छ । देश विकास ठूला कुरा गरेर होइन, सानासाना काम गरेर हुन सक्छ । कृषि र पशुपालनलाई वैज्ञानिक तरिकाले विकास गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा राज्यले किन बुभ्mदैन ? उल्लिखित क्षेत्रको विकासका लागि राज्यले विज्ञ, विशेषज्ञहरूसँग किन सहकार्य गर्दैन ? यस कोणबाट हेर्दा सिंहदरबार, संसद्भवन र बालुवाटार अक्षमहरूको ग्यालेक्सीले भरिएको ठाउँ हो त ? भन्ने प्रश्नहरू उठ्ने गरेका छन् ।
विदेश गएर जीवन निर्वाह गरिरहेका युवाहरूले सामाजिक सञ्जालहरूमा प्रस्तुत गरिरहने अभिव्यक्तिलाई हेर्दा, सुन्दा र पढ्दा उनीहरू रहरले बिदेसिएका होइनन् । स्वदेशमा आयआर्जन गर्न नसक्दा काम, माम र जीवनयापनका लागि छिमेकी वा टाढाका मुलुकहरूमा गएका हुन् । जीवनयापनको बाध्यतासँग कान्छा, कान्छी, बहादुर वा कामदारको नाममा विदेशी भूमिमा श्रम र श्री बेच्न बाध्य भएका हुन् । तसर्थ, राज्यले नेपालमा नै रोजगारीको सिर्जना गर्नुपर्छ । यसो गर्दा पहिलो चरणमा गाउँ, बस्तीका युवाशक्तिलाई आफ्नै ठाउँमा स्वरोजगार हुनका लागि व्यावसायिक तालिमलाई हरेक पालिकाहरूमा सञ्चालन गर्नुपर्छ ।
अन्त्यमा, युवाहरूलाई आफ्नो गाउँ आफैं बनाऊँ भन्ने अभियानमा कार्ययोजना र आयआर्जनका क्रियाकलापसहित संलग्न गराउनु आजको अनिवार्य सर्त हो । अबको विकसित नेपाल, युवाहरूको मिहिनेत र पसिनाबिना सम्भव छैन । राजनीतिक परिवर्तन र पञ्चवर्षीय योजनाहरू बनाएर मात्र मात्र देश विकास हुँदो रहेनछ भन्ने कुरा विगत तीन दशकको इतिहासले सिकाएको छ । नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्न युवाहरूको योग्यता र क्षमताको सदुपयोग अनिवार्य सर्त हो । तसर्थ, आर्थिक समृद्धिका लागि अवसरको अभावले बरालिएको युवा पुँजीलाई भरपर्दो आयआर्जनका काममा लगाएर मुलुकलाई विकासको मार्गमा अगाडि बढाउन अब ढिला गर्नुहुँदैन ।
सम्बन्धित समाचार










