काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी धादिङका राजकुमार खत्री, धनकुटाका मीनबहादुर थापा र सर्लाहीका इमरान अली १ वर्षअघि साउदी अरब पुगे । म्यानपावरमार्फत त्यहाँ पुगेका उनीहरू जसोतसो काम गर्दै थिए ।
काम गर्दैजाँदा अकामाको म्याद सकियो । कम्पनीले नवीकरण गरिदिएन । त्यसपछि उनीहरू अवैधानिक भए । अब के गर्ने कस्तो गर्ने भन्ने सोचिरहेका बेला नेपाली दूतावास रियादका अलकासिम प्रतिनिधि तथा एनआरएन आईसीसी सदस्य विशालकुमार श्रेष्ठ र आरसीसी अलकासिमका प्रवक्ता अली उर्सिन मियाको सम्पर्कमा पुगे । त्यसपछि उनीहरूको स्वदेश फर्कने प्रक्रिया सुरु भयो ।
त्यस्तै, अलहदवा कम्पनीमा कार्यरत सिरहाका अमर कुमालको पनि तीन महिनादेखि अकामा नवीकरण नभएर परिवार बिरामी हुँदासमेत नेपाल फर्कन नसकेर अलपत्र अवस्थामा दूतावास रियादमार्फत अलकासिम प्रतिनिधि श्रेष्ठको सम्पर्कमा आए । उनीहरू चारै जनाको बहिर्गमन भिसा (एक्जिट भिसा)का लागि प्रक्रिया सुरु भयो ।
एक्जिट भिसा प्राप्त गरी उनीहरू चारै जनालाई सकुशल नेपाल फर्काउन सफल भएको गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमका प्रवक्ता अली उर्सिन मियाले जानकारी दिए ।
माघ महिनामा मात्र अकामा नवीकरण नभएका, हुरुब लागेकालगायत विभिन्न समस्यामा परेका २३ जना नेपालीलाई स्वदेश फर्काइएको प्रवक्ता मियाले बताए ।
पछिल्लो समय साउदीमा कम्पनीले समयमा तलब नदिने तथा अकामा पनि नवीकरण नगरिदिँदा कमाएको धेरथोर पैसा पनि पठाउनसमेत समस्या हुने गरेको छ । अकामा नहुँदा बिदाको समयमा बाहिर हिँडडुल गर्न समस्या भएको मियाले बताए ।
साउदी अरबका कम्पनीहरूले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा नवीकरण नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रूपमा काम गर्न बाध्य छन् । अहिले कम्पनीहरूले अकामा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ ।
आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् । साथै, यस्ता घटनालाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन अनुरोध गर्दै आएको छ ।
कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिमाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण सयौं नेपाली स्वदेश फर्किन सकेका छैनन् ।
कामदार बोलाउने अनि अकामा नबनाइदिने र बनाइदिए पनि म्याद सकिएपछि नवीकरण नगरिदिने रोजगारदाताविरुद्ध नेपाल सरकार तथा साउदीमा रहेको नेपाली दूतावासले पनि ‘एक्सन’ लिनुपर्ने जरुरी देखिन्छ ।