खोटाङ । स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाले शीर्ष स्थान हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले जिल्लाका अन्य नौ स्थानीय तहलाई पछि पार्दै प्रथम स्थान प्राप्त गरेको हो ।
आयोगको मूल्याङ्कनमा हलेसी तुवाचुङ नगरपालिकाले सबैभन्दा बढी ६८.५४ अङ्क प्राप्त गरेको छ । यस अघिको प्रारम्भिक नतिजामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, रावा बेसी गाउँपालिका दोस्रो र हलेसी तुवाचुङ नगरपालिका तेस्रो स्थानमा रहेको थियो । तर आयोगले प्रारम्भिक अंक माघ ३० गते प्रकाशित गरी सात दिनको समय दिई पुनरावलोकन गर्न सूचना जारी गरेको थियो ।
सोही अवधिमा प्राप्त निवेदनका आधारमा अन्तिम नतिजामा हलेसी तुवाचुङ पहिलो स्थानमा उक्लिएको हो । अन्तिम नतिजा अनुसार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६७.८८ अङ्क प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ । यसैगरी, ६३.८० अङ्क प्राप्त गरेर रावा बेसी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । अन्य स्थानीय तहहरूमा जन्तेढुंगा गाउँपालिकाले ५९.०१, बराहपोखरी गाउँपालिकाले ५५.७२, ऐसेलुखर्क गाउँपालिकाले ५२.०९, केपिलासगढी गाउँपालिकाले ४७.६४, साकेला गाउँपालिकाले ४६.०६ र खोटेहाङ गाउँपालिकाले ४२.९२ अङ्क प्राप्त गरेका छन् ।
जिल्लाको सबैभन्दा कम कार्यसम्पादन गर्ने स्थानीय तहमा दिप्रुङ चुइचुम्मा गाउँपालिका रहेको छ, जसले ४१.१२ अङ्क मात्र प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकका आधारमा यो मूल्याङ्कन गरेको हो ।
आयोगले विभिन्न १७ सूचकहरूका आधारमा यस्तो मूल्याङ्कन गर्दै आएको छ, जसमा लेखापरीक्षण, बेरुजु फछ्र्याेट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन, विद्यार्थी भर्ना तथा टिकाउ दर, र आयोगले तयार पारेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे–नगरेको जस्ता महत्वपूर्ण सूचकहरू समावेश छन् ।
यस मूल्याङ्कनले स्थानीय सरकारहरूलाई अझ प्रभावकारी र जवाफदेही बन्न प्रोत्साहित गर्नुका साथै आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुदान रकममा समेत प्रभाव पार्ने हुनाले महत्वपूर्ण मानिन्छ ।
सम्बन्धित समाचार











