काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१–८२ को चैतसम्ममा नेपालले दुई खर्ब २१ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा वैदेशिक सहायता १ खर्ब २ अर्ब रुपैयाँ मात्र थियो । यहीबीचमा नेपालले साढे ६० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ ।
चालू आर्थिक वर्ष २०८१–८२ को जेठसम्ममा ६० अर्ब ६० करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत सुधार गरेपछि गत आर्थिक वर्ष २०८०–८१ को तुलनामा करिब १० अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता बढेको छ ।
नेपालमा विदेशी मुद्रा वैदेशिक सहायता, लगानी र ऋणको रूपमा आउने गर्दछ । सरकारले ऋण र अनुदानलाई सामान्यतया वैदेशिक सहायताका रूपमा व्याख्या गर्ने गरेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आवसम्म प्राप्त प्रतिबद्धतामध्ये ऋणको अंश ७४.३ प्रतिशत र अनुदानको अंश २५.७ प्रतिशत रहेको छ । यद्यपि यो ऋण र अनुदान भने बजेटमार्फत अपेक्षा गरेभन्दा कम हो । विकास साझेदार संस्थाले सरकारलाई उपलब्ध गराउने मन्जुर गरेको ऋण र अनुदानलाई वैदेशिक सहायता प्रतिबद्धता भनिन्छ ।
उद्योग विभाग र लगानी बोर्डमार्फत भने उद्योग खोल्नका लागि यति रकम लगानी गर्छ‘ भनेर विदेशीले प्रतिबद्धता गरेका हुन्छन् । तर सरकारले भने ऋण सहायता, अनुदान र लगानी प्रतिबद्धता अनुरूप प्रतिफल पाउन सकिरहेको छैन । चालू आवका लागि सरकारले खर्च बेहोर्ने स्रोतअन्तर्गत वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र ५२ अर्ब ३३ करोड वैदेशिक अनुदानबाट प्राप्त हुने लक्ष्य राखेको थियो ।
अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी वैदेशिक सहायता ऊर्जा क्षेत्रमा प्राप्त भएको छ । मन्त्रालयका अनुसार यस क्षेत्रका लागि २५.४ प्रतिशत सहायता प्रतिबद्धता प्राप्त छ । वातावरण तथा जलवायु क्षेत्रमा २१.७ प्रतिशत, सिँचाइका लागि १२.८ प्रतिशत, खानेपानीका लागि ११.५ प्रतिशत, विपत् व्यवस्थापनका लागि ९.१ प्रतिशत वैदेशिक सहायता प्राप्त भएको छ ।
यसगैरी यातायात क्षेत्रका लागि ६ प्रतिशत, सामाजिक क्षेत्रका लागि ४.३ प्रतिशत, कृषि क्षेत्रका लागि ४.३ प्रतिशत, वन तथा वातावरण मन्त्रालयका लागि २.५ प्रतिशत, पोषणका लागि १.५ प्रतिशत, पूर्वाधारका लागि ०.६ प्रतिशत र सुशासनका लागि सबैभन्दा कम ०.२ प्रतिशत सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक वर्षको ११ महिनामा नेपालले साढे ६० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको छ । गत साउनदेखि जेठसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड गरी कुल ६० अर्ब ६० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।
उद्योग विभागका अनुसार ७ सय १७ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ महिनामा ३ सय ४७ उद्योगका लागि ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ३७० उद्योगका लागि ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।
जेठ महिनासम्ममा ६० अर्ब ६० करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धतामार्फत ७ सय १७ वटा उद्योग खोलिने भएको छ । स्वचालित मार्गबाट ३ अर्ब ८६ करोड र स्वीकृति मार्गबाट ५६ अर्ब ७४ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । ११ महिनाको अवधिमा शेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९६ करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक रहेको छ ।
उद्योग विभागले ६६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) स्वीकृत भएको पनि उल्लेख गरेको छ । विभागका अनुसार ११ महिनाको अवधिमा ७ सय २ वटा साना उद्योग, ९ वटा मध्यम र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ११ महिनामा प्राप्त प्रतिबद्धताबमोजिम लगानी भित्रिएमा थप १७ हजार २ सय ५५ जनाले रोजगारी पाउनेछन् ।
उद्योग विभागको तथ्यांकअनुसार विगत ४ दशकदेखि हालसम्ममा ७ हजार १ सय १६ उद्योगका लागि कुल ५ खर्ब ९० अर्ब ३५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ । तर प्रतिबद्धता मात्र आउने उद्योग भने स्थापना नहुने गरेको छ । गत वर्षको सोही अवधिमा करिब ५० अर्ब रुपैयाँबराबरको प ्रतिबद्धता आएको थियो ।
गत आव २०८०–८१ को जेठसम्म स्वचालित मार्गबाट ५ अर्ब ६४ करोड र स्वीकृति मार्गबाट ४४ अर्ब ४१ करोड रूपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार ७ सय १७ वटा लगानीसम्बन्धी प्रस्तावमा लगानी प्रतिबद्धता आएकोमा ३ सय ७० प्रस्ताव स्वचालित मार्गबाट आएका हुन् । वैदेशिक लगानीमा स्थापनाका लागि प्रतिबद्धता आएका उद्योगहरूमा सूचना प्रविधितर्फ ३ सय १३ उद्योग, पर्यटन उद्योगतर्फ २ सय ६६ उद्योग, सेवा क्षेत्रतर्फ ७६, उत्पादनतर्फ ४८ र कृषितर्फ ११ उद्योग छन् ।
स्वचालित प्रणालीबाट ५ सय ९ उद्योगका लागि ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ६ सय ७ उद्योगका लागि ५ खर्ब ७८ अर्ब ३६ करोड ८७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ । सेवा क्षेत्रका ७६ वटा उद्योगका लागि ३० अर्ब ४४ करोड ७७ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
सूचना प्रविधि क्षेत्रमा ३ सय १३ वटा उद्योगका लागि १ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ लगानी आएको छ । उत्पादन क्षेत्रका ४८ वटा उद्योगका लागि ३ अर्ब १२ करोड २० लाख रुपैयाँ, कृषिका ११ वटा उद्योगका लागि १ अर्ब ४४ करोड ६० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि ५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
जेठमा मात्रै साढे ३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । जेठमा १ सय ४१ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । स्वचालित मार्ग (अटोमेटिक रुट) भन्दा अप्र ुभल रुटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । जेठमा मात्रै स्वचालित मार्गबाट ८८ उद्योगमा ५० करोड १७ लाख ७० हजार रुपैयाँ र अप्र ुभल रुटबाट ५३ उद्योगमा ३ अर्ब ४ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।