दैलेख । दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ ।
दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।
जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भए पछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए ।
प्रजिअ नहुँदा प्रशासनभित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ ।
प्रजिअ नहुँदा विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ ।
भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी नेतृत्वको र प्रशासनिक समन्वयको आवश्यक पर्छ । तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ ।
उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए ।
(रासस)
सम्बन्धित समाचार
सम्पर्कविहीन जापानी पर्वतारोहीको शव फेला
एकै दिन ४७० सवारीसाधन कारबाहीमा
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
रक्सीका कारण गयो ज्यान, ५ साथी पक्राउ
नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव





