‘तोरकीन’ मा उपल्लो मुस्ताङको कथा

काठमाडौं । यस पटकको दसैँलाई लक्षित गरेर युवा उपन्यासकार क्षितिज समर्पणले पाठकहरूको लागि पहिलो उपन्यास ‘तोरकीन’ बजारमा ल्याएका छन् । सबैलाई दसैँको शुभकामना दिँदै उनले यो पुस्तकलाई मंगलवार मात्र सार्वजनिक गरेका हुन् । स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु वा लोप हुनु हो ।

उनको यो उपन्यास उपल्लो मुस्ताङको थातथलोमा जीवन यापन गरिरहेकाहरूको कथामा आधारित रहेको छ । जसमा माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइसराइ, संस्कृति, परम्परालाई समेटिएको छ । त्यहाँको गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको रहस्यमय कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा यो उपन्यासमा प्रस्तुत गरिएको क्षितिजले बताएका छन् ।

यो आफ्नो नयाँ उपन्यास’bout क्षितिजले भने, ‘विभिन्न कारणले उपल्लो मुस्ताङको रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनमा समेटेको छु । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने एउटा कोसिस गरेको छु ।’

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल सृजनामा सक्रिय छन् । केही वर्ष यताबाट कथा हुँदै उपन्यास लेखनमा सक्रिय छन् । अहिले पनि धेरैका लागि चासो बनेको उपल्लो मुस्ताङको धेरै रहस्यहरूलाई मिथकीय रूपमा यो उपन्यासमा खोतल्ने प्रयास गरेको पनि क्षितिजले बताएका छन् । यसका पात्र’bout उनले भने,‘जसमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथा समेटिएको छ । उनीहरूको जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रणको कोसिस गरेको छु ।’

यो पुस्तकका प्रकाशक भूपेन्द्र खड्काले सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्य शैलीको स्थानीय लवजले उपन्यास निकै रोचक भएकाले आफूहरूले प्रकाशन गरेको बताएका छन् । महत्वाकांक्षी किताबहरूको सूचिमा यसलाई प्रकाशन गरिएको पनि उनले बताए । यस उपन्यासमार्फत नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको खड्काले जिकिर गरे । बुक हिल पब्लिकेशनले प्रकाशन गरेको ‘तोरकीन’ उपन्यासको बजार मूल्य ६६६ रुपैयाँ रहेको छ । यो पुस्तक ३३६ पृष्ठमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव