राजविराज । अस्पतालको अतिसंबेदनशिल स्थान मध्येका एक एनआईसियू कक्षमा अचानक विद्युतीय सर्ट भई झरेको बल्बबाट भर्ना रहेका एक नवजात शिशु घाईते भएपछी आफन्तद्वारा गरिएको तोडफोड र चिकित्सकमाथी हातपातका कारण सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पताल तनावग्रस्त बनेको छ ।
आकस्मिक कक्षबाहेक अन्य सेवा ठप्प, तोडफोड र चिकित्सकमाथि हातपात गरेको आरोपमा ४ जना प्रहरी नियन्त्रणमा
घट्नाको विरोधमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले आईतवार राती देखी नै अस्पतालको आकस्मिक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेका छन । अस्पताल प्रशासनले सोमवार एक सूचना नै प्रकाशित गरेर चिकित्सकमाथी हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरुलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराए सम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सूचारु गर्न असर्मथ हुने जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी डम्बर बहादुर पुरीले घट्नामा संलग्न मध्येका चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको तथा अस्पतालमा थप कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
प्राप्त घटना विवरण अनुसार आईतवार सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया टोलकी रेखा यादवले जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआईसियू कक्षमा भर्ना गरिएको थियो । साँझ पख अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालामा जलन (समान्य जलन) भएको थियो ।
उक्त घटनापछि आक्रोशित आफन्तले तोडफोड, चिकित्सकलाई गालीगलौज र निमित्त मेसू साहमाथी हातपात गर्न थालेपछी भागाभाग मच्चिएको थियो । जसकारण रातभर अस्पताल चिकित्सक विहीन बन्न पुगेको थियो ।
घाइते नवजात शिशुलाई तत्कालै एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको र स्वास्थ्य अवस्था निकै सुधारोन्मुख रहेको अस्पताल प्रशसासनले जनाएको छ ।
एनआईसियू कक्षमा अचानक विद्युत सर्टभई उक्त घटना हुदा घाईते सहित चार नवजात शिशु भर्ना रहेका थिए । सबैलाई ड्यूटीमा रहेका नर्सहरुले सकुशल उद्धार गरेको निमित्त मेसू साहले जानकारी दिए ।
उनले विद्युत सर्किटको अवरोधको समस्या देखिएपछी अहिले प्राविधिक मार्फत अस्पतालको सम्पूर्ण विभागको विद्यूतिय उपकरणको चेकजाँच र मरर्मतको कार्य सूरु गरिएको जनाएका छन । अस्पतालमा तनाव र उपचार सेवा प्रभावित भएपछि स्थानीय प्रशासनले सर्वपक्षिय बैठक डाकी समस्या समाधान र सेवा सूचारुको प्रयास थालिएको जनाएको छ ।






