धनगढी । लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको ऐतिहासिक खुटिया सिँचाइ योजना पुनः सञ्चालनमा ल्याउन धनगढी उपमहानगरपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग औपचारिक पहल गरेको छ ।
उपमहानगरपालिकाले मन्त्रालयलाई पठाएको पत्रमा कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिका क्षेत्र समेटिएको उक्त सिँचाइ योजना वर्षौंदेखि निष्क्रिय अवस्थामा रहेको उल्लेख गरिएको छ ।
योजनाअन्तर्गत निर्माण गरिएका नहर, हेडवर्क्स लगायतका संरचना प्रयोगविहीन बन्दै गएको र कतिपय स्थानमा जीर्ण अवस्थामा पुगेको जनाइएको छ ।
विगतमा ठूलो लगानीमा निर्माण गरिएको सिँचाइ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा कृषिमा प्रत्यक्ष असर परेको उपमहानगरको भनाइ छ । भूमिगत जलस्रोतमा कमी आउनु, खेतबारीमा पानीको अभाव देखिनु तथा किसानहरू सिँचाइ समस्याबाट प्रभावित हुनुजस्ता अवस्था देखिएको पत्रमा उल्लेख गरिएको छ ।
नगर प्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित पत्रमा खुटिया सिँचाइ योजनाका संरचनाहरूको मर्मत, सुधार तथा पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न मन्त्रालयसँग आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले योजना पुनः सञ्चालनमा आएमा कृषि उत्पादन वृद्धि, पानी व्यवस्थापनमा सुधार र समग्र क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार
शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल
शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
‘उज्यालो धनगढी’को आठौं चरणः नगरका विभिन्न ठाउँमा स्मार्ट सडक बत्ती जडान
धनगढी उपमहानगरद्वारा २५ उत्कृष्ट विद्यालयलाई ब्यान्ड बाजासहित सम्मान
शुक्लाफाँटामा स्वास्थ्य बिमा कार्यक्रममा न्यून सहभागिता
मलामी गएका शुक्लाफाँटाका एक व्यक्ति महाकालीमा बेपत्ता
आचार्य कृष्णलाई धनगढीले दियो शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने जिम्मेवारी






