चिया भनेर रक्सी बेच्दै रुस्लानका मालिक, सञ्चालक राजबहादुरलाई हुनसक्छ ६ महिना कैद

काठमाडौं । अल्कोहलिक पेय पदार्थ उत्पादन गर्ने कम्पनी जावलाखेल डिस्टिलरीले ‘आइस टी’ भनेर झुक्यानमा पारेर बजारमा अल्कोहलिक पदार्थ धमाधम बिक्री गरिरहेको पाइएको छ ।

जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाहको अगुवाइमा सो डिस्टिलरीले ‘रेडी टु ड्रिंक’ (आरडीटी) श्रेणीको भन्दै चिया भनेर ५ प्रतिशत अल्कोहल भएको पेय पदार्थ बेचबिखन गरिरहेको छ । उपभोक्ता अधिकारकर्मीदेखि सरकारी अधिकारी र कानुनसम्मले जावलालेख डिस्टिलरीको यो कदमलाई उपभोक्ता हित र प्रचलित कानुनको गम्भीर उल्लंघन भनेका छन् ।

जावलाखेल डिस्टिलरीले २७५ एमएलको यो पेय पदार्थलाई बजारमा २२५ रुपैयाँमा धमाधम चिया भन्दै बेचबिखन गरिरहेको छ ।

कम्पनीले ‘रुस्लान पिच आइस टी’ र ‘रुस्लान लेमन आइस टी’ नाममा दुईवटा फ्लेबरमा यो पेय पदार्थ बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले सफ्ट पेय ‘आइस टी’ लाई अल्कोहलिक स्वरूपको पेय पदार्थ भएको दाबी गरे पनि चिया कल्चरमा हुर्किइरहेका युवा पुस्तालाई झुक्क्याएर रक्सीको नशाको बानी गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

जावलाखेल डिस्टिलरीले २७ भन्दा बढी प्रकाशका अल्कोहलिक उत्पादन गर्छ । रुस्लान भोड्का उसको लोकप्रिय उत्पादन हो । आफ्ना उत्पादनमा युवा पुस्तालाई बानी पार्न चिया भनेर झुक्क्याएर ५ प्रतिशत अल्कोहल मिसाएर बेचेको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चियाको प्याकेजिङ देखाएर रक्सीलगायतका अल्कोहलिक पदार्थ बेच्न नपाइने जनाएको छ ।

विभागले जे बेच्ने हो प्याकेजिङमा पनि सोही उत्पादन चिनिने संकेत राख्नुपर्ने भन्दै यस्तो नगरे प्रचलित कानुनअनुसार कारबाही हुने बताएको छ ।

‘प्रचलित कानुनअनुसार आइस टी भनेर अल्कोहल बेच्न पाइँदैन, तर प्रडक्ट कस्तो छ, अनुमति कसरी लिएको छ भनेर पनि हेर्नुपर्ने हुन्छ । तर सामान्यतया आइस टी अनअल्कोहलिक हो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालले राजधानीसँग भने ।

उपभोक्ता अधिकारकर्मी तथा कानुन न्याय तथा सामाजिक कल्याण मञ्चका अध्यक्ष जगन्नाथ मिश्रले आइस टीको नाममा जावलाखेल डिस्टिलरीले बेचिरहेको पेय पदार्थ उपभोक्ता संरक्षण कानुनविपरीत रहेको बताए । उनले एउटा उत्पादनलाई अर्को बस्तु भनेर झुक्क्याएर लेबलिङ गरेर बेच्न नपाइने भन्दै यसरी बेच्न कसैले इजाजत दिएको रहेछ भने पनि त्यस्ता अधिकारीमाथि कारबाही हुने बताए ।

‘यो गलत प्याकेजिङ मात्र होइन, भ्रमपूर्ण विज्ञापन पनि हो । यसले उपभोक्ताको जिउ, ज्यान, स्वास्थ्य र सम्पत्तिमाथि खेलबाड गर्ने तथा आपराधिक घटना बढाउने भएकाले यसलाई मनोदीपक (उत्तेजनामा ल्याउने) पदार्थका रूपमा लिनुपर्छ,’ मिश्रले भने ।

जावलालेख डिस्टिलरी र सो कम्पनीका सञ्चालक राजबहादुर शाहले आइस टी भनेर बजारमा पठाएको आइस टी खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ को दफा १७ ‘ख’ र ‘ङ’को समेत विपरीत देखिएको छ ।

दफा १७ मा झुक्क्याएर खाद्य पदार्थ बिक्री वितरण गर्न नपाइने उल्लेख छ । सो दफाको खण्ड ‘ख’मा कुनै खाद्य पदार्थमा प्रयोग गरेको सम्मीश्रण वा दाबीमा झुटो जानकारी दिई वा भ्रामक दाबी गर्न नपाइने उल्लेख छ । सो दफाको खण्ड ‘ङ’मा प्याकेजिङ गरिएको खाद्य पदार्थको लेबलमा प्रयोग गरिने कुनै लिखत, भनाइ, चिन्ह, डिजाइनलगायतका विवरण झुटो वा भ्रामकरूपमा प्रस्तुत गर्न नपाइने उल्लेख छ ।

कसैले यस्तो कार्य गरेमा सो व्यक्ति, कम्पनी र सञ्चालकलाई ६ महिना कैद वा ३ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुने खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ ले व्यवस्था गरेको छ ।

सो ऐनको दफा ४० ले जावलाखेल डिस्टिलरीको यो कदमलाई कसुरका रूपमा मानेर दफा ४१ अनुसार ६ महिना कैद वा ३ लाख रुपैयाँ जरिमाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । कानुनले यस्तो कसुरलाई फौजदारी अभियोग मानेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

मरिसकेको मान्छे ‘खडा’ गराई जग्गा नामसारी गराउने ७ जनाविरुद्ध मुद्दा