खोइ पानी ? अब के खाने ?

काठमाडौं । पूर्वाधार निर्माणमा स्काभेटर तथा कङ्क्रिटजन्य निर्माण सामग्री प्रयोगका कारण पानी संकट निम्तिने देखिएको छ । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा सडक तथा भवनको जग खन्ने काममा स्काभेटरहरुको प्रयोग बढेकाले भूमिगत जल भण्डारमा असर परिरहेको भूगर्भविद्हरूले बताएका छन् ।

ढुंगेधारा मासिए, भूमिगत पानी घट्यो, स्थानीय सरकार मौन बस्यो

भौतिक पूर्वाधार निर्माणमा वर्षाको पानी जमिनमा सोसिएर हुने प्राकृतिक पुनर्भरण प्रणाली समेत जोखिममा परेकाले काठमाडौँसहित देशका प्रमुख सहरी क्षेत्रमा गम्भीर पानी संकट आउने भूगर्भविद् तथा पानी स्रोत विश्लेषकहरूले बताएका छन् ।

पूर्वाधार निर्माणमा ढुंगा, इट्टा र काठको सट्टा कङ्क्रिट, सिमेन्ट, कालोपत्रे, ढलान र स्टिलका कारण उपत्यकाको सभ्यता र समृद्धिको आधार मानिने ऐतिहासिक ढुङ्गेधारा र इनारहरू लोप भइरहेको पाइएको छ । उपत्यकाको जमिनमुनिको पानीको सतह तीव्र रूपमा घट्दा भूमिगत जल–मरुभूमीकरण बढिरहेको पानी अधिकारकर्मी आनन्द गौतमले बताए ।

पुनर्भरणको तुलनामा निकालिँदै छ १० गुणा बढी पानी
पछिल्लो दुई दशकमा उपत्यकामा जनसङ्ख्याको चाप, अव्यवस्थित सहरीकरण र पूर्वाधार विकासको बदलिँदो मोडलले जमिनमुनिको पानीको भण्डार रित्तिँदै गएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र विभिन्न जलस्रोतविद्हरूको अध्ययन अनुसार उपत्यकामा वार्षिक रूपमा पुनर्भरण हुने जलस्रोतको तुलनामा १० गुणा बढी पानी निकालिने गरेका कारण पानी संकट बढेको हो । पुनर्भरण प्रणाली नहुनु र प्राकृतिक पुनर्भरणको तुलनामा १० औँ गुणा निकालिँदा पानी संकटको नजिक उपत्यकावासी रहेको पानी अभियन्ता गौतमले बताए ।

अव्यवस्थित संरचनाका कारण मासिँदै मुहान
नेपाल पानी संरक्षण प्रतिष्ठानका अनुसार जमिनमुनिको पानीको मुहान सुक्नुमा जथाभाबी बाटो, भूकम्पका कारण मुहान सर्नु र जलवायु परिवर्तन हुनसक्ने पाइएको छ । पानीको मुहान भएका ठाउँमा भवन बनाउने कारण पनि समस्या हुनसक्ने अनुसन्धानकर्ता संस्थाहरू बताउँछन् । भवन वा बाटो बनाउँदा मासिएको मुहानको क्षतिपूर्तिको नियम हुनुपर्ने पानी अभियन्ता गौतम बताउँछन् ।

जमिनमुनिको जल–बचत ऋणात्मक अवस्थामा पुगेकाले उपत्यकाका करिब ५० लाख बासिन्दा छिट्टै मरुभूमिकरणको चापमा पर्ने विश्लेषकहरूले बताएका छन् । उपत्यकाको खानेपानीको माग र आपूर्तिको खाडल नै जमिनमुनिको पानी दोहनको मुख्य कारण भएको उनीहरू बताउँछन् ।

हाल काठमाडौँ उपत्यकामा दैनिक करिब ४७ करोड लिटर पानीको माग छ, तर मेलम्ची खानेपानी आयोजनाको अनिश्चितता र अन्य स्रोतको सीमितताले गर्दा सिर्जना भएको अनिश्चित आपूर्तिले भूमिगत जल बचतमा असर परिरहेको छ । ‘संघ प्रदेश वा स्थानीय सरकारको बजेटले अव्यवस्थित डीप बोरिङ हुँदा भूमिगत जल बचतमा ठुलो असर परेको जल विज्ञहरू बताउँछन् ।

सानातिना टोल सुधार समितिदेखि सर्वसाधारण, ठुला होटेल, व्यापारिक कम्प्लेक्स र पानी व्यवसायीहरूले जमिनमुनि सयौँ फिट गहिरो बोरिङ खनेर पानी तानिरहेका कारण भूमिगत जल बचत जोखिममा परेको पानी अभियन्ता गौतमले बताए ।

१०० फिट तल पनि भेटिन छाड्यो पानी
अध्ययनअनुसार काठमाडौँका विभिन्न स्थानमा विगत २० वर्षमा भू–जल स्तर वार्षिक औसत १ देखि ३ मिटरसम्म तल गइरहेको छ । कुनै समय १०–१५ फिट खन्दा पानी भेटिने इमाडोल, हरिसिद्धि, अनामनगर, चाबहिल, पुतलीसडक र न्युरोड जस्ता क्षेत्रमा अहिले १०० फिटको इनार खन्दा पनि पानी नभेटिने अवस्था भएकाले डिप बोरिङको माग तीव्र बढेको पाइएको छ ।

संघ, प्रदेश वा स्थानीय सरकारले पानीका मुहान संरक्षणका योजनाबद्ध कार्यक्रम निर्माण गर्न नसक्दा र उपभोक्ता जागरूक नहुँदा पानी संकट बढिरहेको गोदावरी ठैव खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ बताउँछन् । ‘मुहानमाथि ढुंगाखानी र क्रसर चलाउँदा पनि सरकारले नियन्त्रण नगर्दा, थाहा हुँदाहुँदै पनि डोजर चलाउने लगायतका काम हुँदा पानी संकट भइरहेको श्रेष्ठले बताए ।

वर्षाको पानी प्राकृतिक रूपमा जमिनमुनि छिर्नका लागि खुला जमिन, पोखरी र खेतबारी आवश्यक हुनेमा उपत्यकाभित्र जताततै ढलान सडक, घर र पार्क भएका कारण प्राकृतिक पुनर्भरण रोकिएको पानी अधिकारकर्मी मखन महर्जन बताउँछन् ।

जमिन भासिने खतरा पनि उत्तिकै
पछिल्लो समय उपत्यकाका ९० प्रतिशतभन्दा बढी खुला क्षेत्र सिमेन्टको ढलान, पिच सडक र घरहरूले ढाकिएको हुँदा, वर्षाको पानी जमिनमुनि छिर्नुको सट्टा ढलमार्फत सिधै बग्दा डुबान र पानी खेर जाने भए पनि पुनर्भरण नभएको अधिकारकर्मीहरू बताउँछन् ।

विज्ञहरूका अनुसार, काठमाडौँको उत्तरी क्षेत्र (शिवपुरी र बुढानीलकण्ठ) तथा दक्षिणी क्षेत्र फुल्चोकी गोदावरी र टिकाभैरब क्षेत्रका मुहान तथा भिरालो पहाडी क्षेत्रको रिचार्ज क्षेत्रमा प्रभावकारी कार्यक्रम नहुँदा जलसंकट बढ्ने देखिएको भूगर्भ तथा पानीविद्हरूले बताएका छन् । यी क्षेत्रहरूमा घर तथा सडक निर्माणको मापदण्ड बनाउँदा भूमिगत जल बचतलाई ध्यानमा नदिइएको पाइएको छ ।

भू–गर्भविद्हरूले जमिनमुनिको पानी रित्तिँदा वल पानीको संकट मात्र नभई जमिन भासिने गम्भीर खतरा रहेको समेत चेतावनी दिएका छन् । भूमिगत पानी निकाल्दा पानीले एउटा निश्चित चापमा अड्याएर राखेका माटोका कणहरू खल्बलिँदा खाली ठाउँ हावा वा शून्य भएपछि माथिल्लो सतहको भार थाम्न नसक्दा भासिने खतरा भएको भूगर्भविद्हरू बताउँछन् ।

२० वर्षमा मासिए ५७० ढुंगेधारा
उपत्यकाको पछिल्लो दुई दशकको पानी संकटले सभ्यता र संस्कृतिका साक्षी पाँच सय ७० भन्दा बढी ढुङ्गेधाराहरूको अस्तित्व समाप्त भएको पाइएको छ । पानी स्रोत सम्बन्धित तथ्याङ्क अनुसार १६ प्रतिशत ढुङ्गेधाराहरू पूर्ण रूपमा लोप भइसकेका छन् भने बाँकी रहेका मध्ये ५० प्रतिशतभन्दा बढीमा पानी आउन छाडेको छ ।

ढुङ्गेधारा सुक्नुको मुख्य कारण सहरी क्षेत्रका कालोपत्रे तथा ढलान सडक र आवास क्षेत्र र अनियन्त्रित डिप बोरिङ हो । ठुला व्यापारिक मल र अपार्टमेन्टले ५०० फिटभन्दा गहिरो बोरिङ गरेर पानी तान्दा साना इनार र परम्परागत मुहानहरू सुक्ने गरेको भूगर्भविद्हरूले औँल्याएका छन् ।

उपत्यकाको सभ्यता र संस्कृतिको आदिम नेवा इन्जिनियरिङलाई आधुनिक इन्जिनियरिङले दिएको चुनौतीका कारण प्राचीन धारा, पोखरी लोप भई पानी संकट बढेको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन बताउँछन् ।

मन्द विष बन्दै भूमिगत पानी
पानी अभाव बढ्दै गर्दा सामुदायिक तथा सरकारी तवरबाट उत्खनन उत्पादन गरिएको भूमिगत पानी मन्द विष बन्ने जोखिम बढेको छ । जमिनमुनिको पानीको गुणस्तर जाँच नगरी सिधै पिउने तथा सरसफाइमा प्रयोग गर्दा मिर्गौला र कलेजोका दीर्घकालीन रोग लाग्ने जोखिम स्वास्थ्य तथा सरसफाइ विज्ञहरूले औँल्याएका छन् । उपत्यकाका अधिकांश बोरिङको पानीमा दिसाजन्य ‘इकोलाई’ जीवाणु फेला पर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ढल व्यवस्थापनको कमजोरी र भूमिगत पानीबीचको संवेदनशील सम्बन्धले भूमिगत जल मन्द विष बन्ने खतरा रहेको चिकित्सकहरूको चिन्ता छ । जमिनमुनिको घट्दो जल बचतले बाँकी रहेको पानीमा प्रदूषणको घनत्व थुप्रिँदै बढ्ने भएकाले जनस्वास्थ्य चुनौती बन्नेतर्फ समेत स्वास्थ्यकर्मीहरुले सचेत गराएका छन् ।

बजेट दिँदैनन् स्थानीय सरकार, मापदण्ड पनि मौन
काठमाडौं उपत्यकाको बढ्दो जलसंकटमा उपत्यकाका १८ स्थानीय तहको भवन तथा पूर्वाधार विकास मापदण्ड मौन रहेको पाइएको छ । उपत्यकाको काँठ क्षेत्रका नगरपालिकाहरूमा अव्यवस्थित प्लटिङ र रोडाढुंगा उत्खननका कारण प्राचीन मुहान जोखिममा परेको र वन विनाश भएको पाइएको छ ।

स्थानीय सरकारको अधिकार भन्दै जथाभाबी प्लटिङ र रोडाढुंगा तथा बालुवा खानी चलाउँदा पानी संकट बढेको पाइएको छ । काठमाडौँ महानगरपालिका र अन्य नगरपालिकाहरूले नयाँ घरको नक्सा पास गर्दा जल पुनर्भरण प्रणाली अनिवार्य गर्ने नीति नलिँदा भूमिगत पानी संकट चुलिँदै गएको हो ।

जमिनमुनिको पानीको दोहन कम गर्ने, पुराना पोखरीहरूको संरक्षण गर्ने र वर्षाको पानीलाई जमिनमुनि फर्काउने काममा स्थानीय तहले आफ्ना मापदण्डहरूमार्फत ध्यान नदिँदा जलसंकटका जिम्मेवार स्थानीय तह समेत थपिएको प्राकृतिक स्रोत तथा वातावरण विज्ञ डा.मेघनाथ धिमाल बताउँछन् ।

काठमाडौं उपत्यकाका स्थानीय तहले पानीको उपयोगका लागि प्राकृतिक मुहान र भूमिगत उत्खननमा तीव्र आकांक्षा राखे पनि आफूले उपयोग गरिरहेको पानीको स्रोत संरक्षण र पुनर्भरणका लागि बजेट विनियोजनमा उपेक्षा गरेका छन् ।

पानीका स्रोतको संरक्षणमा वृक्षारोपण गर्ने तथा माथिल्लो क्षेत्रमा रिचार्ज प्रणाली नबनाएको वर्षौ भइसकेको पाइएको छ । काठमाडौं उपत्यकाको प्राकृतिक मुहान क्षेत्रको रूपमा रहेका शिवपुरी, सुन्दरीजल, गोदावरी, टिकाभैरव, तारकेश्वर लगायतका क्षेत्रमा भएका मुहानको माथिल्लो क्षेत्रमा अभियानका रूपमा वृक्षारोपण गर्ने वा त्यसमा योगदान गर्ने काम कुनै पनि नगरपालिकाको प्राथमिकतामा नभएको पाइएको छ । नगरपालिकाहरूको वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीय तहको बजेट विनियोजन न्यून र असन्तुलित पाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश