‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’

काठमाडौं । हास्यव्यंग्य शृंखला ‘भद्रगोल’ र ‘सक्किगोनी’मा लामो समयसम्म सँगै काम गरेका कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक प्रसाद आचार्य ‘काकु’बिच दुई वर्ष यता सम्बन्ध राम्रो थिएन । तर यति बेला चलचित्र ‘चिरञ्जीवी भव’बाट यी दुई जोडिएका छन् । अब आफूहरू सँगै अघि बढ्ने पनि यी दुईले बताएका छन् । यी दुवैले संयुक्त लगानीमा सोमबारबाट नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ निर्माण सुरु गरेका छन् ।

कुमार कट्टेलले दुई वर्ष अघि आफ्नो निर्देशनमा बनेको चलचित्र ‘लाज शरणम्’मा एक मुख्य भूमिकामा दीपकलाई लिने भनेका थिए । तर उनको ठाउँमा अर्का अभिनेता महेश त्रिपाठीलाई लिएपछि ‘सक्किगोनी’बाट समेत दीपक अलग भएका थिए । पछि यो टिमबाट अर्जुन घिमिरे ‘पाँडे’ पनि अलग भएपछि ‘सक्किगोनी’ नै सक्कियो ।

सोही झोकमा दीपकले चलचित्र ‘परान’ निर्माण गरे । ‘परान’ले गत वर्षकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड राख्यो । कुमारको ‘लाज शरणम’ व्यावसायिक रूपमा सफल हुन सकेन । त्यसपछि बल्ल कुमार र दीपक नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को लागि यति बेला जोडिएका हुन् । सोमबार ललितपुरको बंगलामुखीमन्दिरमा ‘चिरञ्जीवी भव’को शुभ मुहूर्त गर्दै यी दुईले यो चलचित्रको निर्माण सुरु गरेका छन् । यो चलचित्रको छायांकन भने १५ जेठबाट धनकुटादेखि सुरु गर्ने दीपकले जानकारी गराए ।

यो चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

कुमारको जिग्री इन्टरटेनमेन्ट र दीपकको प्रिमियर प्रोडक्सनले यो चलचित्र निर्माण गर्दै छ । ‘चिरञ्जीवी भव’को निर्देशन दीपकले गर्दै छन् । यी दुवैले यो चलचित्र लेखेका हुन् । सामाजिक विषयमा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई प्रस्तुत गर्ने निर्देशक दीपकले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

जंगली च्याउ खाँदा सिन्धुलीमा ६ जना विरामी