काठमाडौं । प्रतिनिधिसभा सञ्चालनका विषयमा सभामुख डोलप्रसाद अर्याल (डीपी)को आफ्नै शैली विवादमा पर्न थालेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा नियमावली मिचिएको भन्दै विपक्षी दलका सांसदहरूले आलोचना गरेपछि सभामुख अर्यालले कडा शब्दमा सांसदहरूलाई सम्झाएका थिए । सभामुख अर्यालले संसद् चलाएका दृश्यहरू अहिले एकपछि अर्को विवादमा पर्दै आएका छन् । केही दिनयता सभामुख अर्यालले प्रतिपक्षी बेन्चबाट उभिएर ५ मिनेट समय मागेका नेकपा एमालेका सांसद ऐनबहादुर महरलाई १ मिनेट समय दिँदै सोधेका थिए, ‘कति घण्टा समय दिए पुग्छ तपाईंलाई ?’
अर्यालको यो अभिव्यक्तिका विषयलाई लिएर विपक्षीहरूले आलोचना गरेका थिए ।
प्रतिनिधिसभामा प्रतिपक्षीहरूले विरोध जनाउने शैली र क्रियाकलापमा आक्रोशित देखिने गरेका सभामुखले कहिले नियमावलीको उल्लंघन गर्ने र कहिले अभ्यासहरूको अनदेखा गर्ने गरेको विषयमा विपक्षी दलका सांसदहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । सभामुख अर्यालले विधि र अभ्यासको पालना नगरेर आफ्नै शैली ‘डीपी शैली’ बनाउन लागेको भन्दै विपक्षीहरूले आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको भन्दै आलोचना भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १५ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ । सो व्यवस्थामा ३ दिनअघि कार्यक्रम तय गरेर संसद्लाई जानकारी गराउने अभ्यास रहेकोमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाह आकस्मिक रूपमा उपस्थित हुने कार्यक्रमको व्यवस्था गरेकोमा आलोचना भएको हो । प्रधानमन्त्रीको प्रेसरले वा सभामुखले हेलचेक्र्याइँ जे गरेको भए पनि छापामार शैलीमा प्रश्नोत्तर कार्यक्रम राखिनु गलत भएको विपक्षी दलका सांसदहरूले बताएका छन् ।
छापामार शैलीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राख्नु गलत भन्दाभन्दै सभामुखले प्रश्नोत्तर कार्यक्रम सुरु गर्न थालेपछि विपक्षी दलका सांसदहरू अक्क न बक्क मात्रै भएनन्, छक्क नै परे । लामो समयदेखि प्रतिनिधिसभा नियमावलीको नियम १५ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरिरहेकाले सो कार्यक्रमको व्यवस्था गरिएको भन्दै सभामुखले कार्यक्रम सुरु गरेपछि केही सांसद बोलेका थिए भने नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका थिए ।
प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन सुरु गरेपछि पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएको थियो । नेकपा एमालेका सांसद गुरु बराल र ऐनबहादुर महरले ३ दिनको पूर्वसूचना दिएर संसद् नियमावलीको पालनाअनुसार प्रश्नोत्तर कार्यक्रम राखिनुपर्ने बताएका थिए ।
सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा नै नराखी नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रमको रूपमा टार्ने काम गरेको भन्दै नेताहरूले विरोध जनाएका थिए । प्रधानमन्त्री शाहले दलका तर्फबाट एक एक जनाले सोधेका प्रश्नको जवाफ दिएलगत्तै बाहिरिएपछि एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय माग गरेका थिए । सांसदहरूले बोल्ने समय नपाएपछि विवाद भएको थियो भने सभामुखले सांसदहरूलाई बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन समेत सांसदहरूले माग गर्ने अवस्था बनेको थियो ।
सभामुखले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिए । बरालले प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावलीअनुसार नभएको भन्दै आपत्ति जनाएका थिए । बरालपछि श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पनि प्रधानमन्त्रीलाई छापामार शैलीमा आएर केही प्रश्नको जवाफ दिएको तर आफूले प्रश्न सोध्न नपाएको भन्दै नियमावलीअनुसार राजनीतिक दलहरूको प्रतिनिधित्वमा कार्यव्यवस्था परामर्श समितिबाट कार्यसूची बनाएर ३ दिनअघि समय छुट्याएर सवाल जवाफ राखिनुपर्ने बताए ।
सभामुख अर्यालले नियमावली पनि नमान्ने र संसदीय प्रचलन पनि नमान्ने गरेर आफ्नै शैली सुरु गरेको भन्ने आशयमा सांसदहरूले विरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका महरले ३ दिनअगाडि प्रश्न पठाउनुपर्ने नियम पढेर सुनाउँदै सभामुखले ३ दिनअघि समय दिनुपर्ने नियम कतै नभएको भन्ने अभिव्यक्तिमाथि नियमापत्ति जनाए । उनले सभामुखको नियमावलीविपरीतको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।
सम्बन्धित समाचार
देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट
सभामुखले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए
प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित
संविधान संशोधनको एजेण्डामा ‘राष्ट्रिय सहमति’
रास्वपाले टुंग्यायो महाधिवेशन तयारी कार्यतालिका
सार्वजनिक पदाधिकारीका धर्मपुत्रीदेखि सासुसम्मका सम्पत्ति उच्च निगरानीमा
अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस
राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी






