काठमाडौं । वैकल्पिक राजनीति र नयाँ संस्कारको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता, मन्त्री, सांसदहरूको गैरजिम्मेवार र अमर्यादित अभिव्यक्तिले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा चौतर्फी आलोचना र बहस निम्त्याएको छ ।
रास्वपा नेताका बेलगाम अभिव्यक्ति
रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुरु गरेको अमर्यादित अभिव्यक्ति अहिले सरकारका अन्य मन्त्रीले समेत अनुसरण गरेका छन् । कानुनी शासन स्थापनाको जिम्मेवारी पाएका रास्वपा नेताहरू नै गैरजिम्मेवार, अमर्यादित अभिव्यक्ति दिन थालेपछि आलोचनाको विषय बनेको छ ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा ‘काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनुस्’ भनी दिएको अभिव्यक्ति विवादमा परेको छ । सडक विस्तारमा ढिलासुस्ती गर्ने र बिजुलीका पोल नसार्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
सडक अनुगमनका क्रममा भौतिक पूर्वाधारमन्त्री लम्साल धादिङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहित नागढुङ्गा–मुग्लिन सडक खण्डको निरीक्षणमा पुगेका थिए । अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको ठेकेदारले समयमै बिजुलीका पोल नहटाउँदा सडक निर्माणमा अवरोध भएको गुनासो गरेका थिए ।
सोही क्रममा मन्त्री लम्सालले आक्रामक शैलीमा निर्देशन दिए । गुनासो सुनेपछि आक्रोशित बनेका मन्त्री लम्सालले भने, ‘यो पोलवाला कन्ट्रयाक्टर जहाँ भए पनि यहाँ ल्याएर राख्नुस्, घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस्, मतलब भएन । चाँडोभन्दा चाँडो पोल सार्नुप¥यो, यहाँका जनताले धेरै दुःख पाए ।’
मन्त्री लम्सालले यस्तो अभिव्यक्ति दिने रास्वपाका पहिलो नेता भने होइनन् । यस अघि रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले चुनावी प्रचारप्रसारका क्रममा यस्तै अभिव्यक्ति दिएपछि विवादमा परेका थिए ।
‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्छ,’ प्रधानमन्त्री शाहले गत फागुनमा धनगढी पुगेर चुनावी सभामा भनेका थिए ।
त्यस वेला शाहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै झापा–५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थियो । शाहले दिएको उक्त अभिव्यक्तिप्रति निर्माण व्यवसायीसहित सरोकारवालाहरूले आपत्ति जनाउँदै सार्वजनिक रूपमा ‘माफी’ माग्नुपर्ने अडान राखेका थिए ।
शाहकै शैलीमा उनकै नेतृत्वको सरकारका पूर्वाधार विकास मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति दिएका छन् । हिंसात्मक र गैरकानुनी भाषाको आरोप लगाउँदै उनको यस अभिव्यक्तिको आलोचना भइरहेको छ । सार्वजनिक र जिम्मेवार पदमा बसेको व्यक्तिले कानुनी राज्यको उपहास गर्दै भीडतन्त्र वा भौतिक हिंसालाई प्रोत्साहन गर्ने खालको भाषा प्रयोग गरेको भन्दै आलोचनाको विषय बनाइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा मुछिएका छन् । मन्त्री वाग्लेले केही दिनअघि करका दरमा हेरफेर भएको’bout प्रतिपक्षी दलका सांसदले प्रश्न गर्दा प्रश्न उठाउने सांसद र पार्टीकै काण्ड छानबिन गर्ने ‘धम्की’ दिए ।
गत बिहीबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफूलाई पनि प्रश्न गर्नेका काण्डहरूको ’boutमा थाहा भएको र ती काण्ड खुल्ने चेतावनी दिएपछि उनको अभिव्यक्तिको संसद् बैठकमै विपक्षीहरूले विरोध गरेका थिए ।
‘आज मैले सार्वजनिक लेखा समितिमा पनि भने एक दुइटा खोस्टाहरूले लेखे, कि दुई अर्बको आशंका इत्यादि भनेर, दुई अर्ब होइन दुई रुपैयाँ बदमासी बेइमानी म बाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु,’ मन्त्री वाग्लेको भनाइ थियो ।
यसअघि प्रतिनिधिसभाको बैठकमै रास्वपा संसदीय दलका उपनेता समेत रहेका सांसद गणेश पराजुलीले न्यायालय र कामु प्रधानन्यायाधीश ’boutमा दिएको अभिव्यक्तिले विवादमा तानिएका थिए । ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ पराजुलीको भनाइ थियो ।
प्रधानमन्त्री, मन्त्री, सांसदका मात्रै नभई रास्वपा सभापति रवि लामिछानेकै अभिव्यक्ति समेत विवादमा परेको छ । रास्वपा सभापति लामिछानेले नेपाल–भारत सम्बन्ध र सीमा विवादका सन्दर्भमा ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिपक्षी र अन्य दलका नेताहरूले यो अभिव्यक्तिको कडा विरोध गरे । रास्वपाले नै बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले ‘विगतको भारी बोक्दैनौँ’ भन्नुको गम्भीर अर्थ लाग्ने र यसले देशको ऐतिहासिक राष्ट्रिय अडानलाई कमजोर पार्ने भन्दै असन्तुष्टि जनाएका थिए ।
चितवन–३ बाट उम्मेदवारी दिएकी रास्वपा नेतृ एवं हालका कानुन मन्त्री सोविता गौतमले समेत यस्तै विवादित अभिव्यक्ति दिएका थिइन् । चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति समुदायलाई पैसाले किन्न सकिने वर्गका रूपमा गौतमले चित्रित गरेकी थिइन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठकमा जुटेन सहमति
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी
पूर्वसांसद छिरिङले त्यागिन् नेकपा
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
परराष्ट्र मन्त्री खनाल चीन प्रस्थान





