काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विमतिलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय अहिले नरहेको बताएका छन् । कांग्रेसको विवाद अदालतबाट नभई राजनीतिक संवादबाट समाधान गर्नुपर्नेमा उनको जोड छ ।
उनले पार्टीका असन्तुष्ट नेताहरूलाई संवादका लागि पार्टी कार्यालय आउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले भनेका छन्, ‘मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ, ।’
उनले पार्टी कार्यालय सानेपामा बसेर मनैदेखि संवाद गर्न र विगतका कमजोरीलाई आत्मसात् गर्दै अघि बढ्नसमेत आग्रह गरेका छन् ।
सानेपालाई लोकतन्त्रको पवित्र मन्दिरको संज्ञा दिँदै भनेका छन्, ‘यो तपाईं–हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो । आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् ।’
आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी आमकार्यकर्ताले रोजेको नेतृत्व स्वीकार गर्न र लोकतन्त्रलाई थप सुदृढ बनाउने दिशामा एकजुट भएर अघि बढ्न उनले अपिल गरेका छन् ।
‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ,’ उनले भनेका छन् ।
ऐतिहासिक पार्टीलाई थप सशक्त बनाउन सबैको एकता र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै पौडेलले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
देउवा फर्किनेवारे प्रहरीले भन्योः ‘हामी हेर्दैछौं’
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै
प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुख अर्यालले गरे प्रधानमन्त्री शाहलाई रुलिङ
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा पेस
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
‘वालेन’बाहेकलाई रास्वपाको अंकुश






