मोरङ–६ कांग्रेस अधिवेशनमा झडप सभापति तामाङको प्रतिवाद

सुन्दरहरैँचा(मोरङ) । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु सामुदायिक भवन परिसरमा भएको विवाद तथा झडपप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

क्षेत्रीय सभापति देवराज तामाङ र क्षेत्रीय सचिव दिपक भगतद्वारा जारी संयुक्त विज्ञप्तिमा निर्वाचनका लागि क्षेत्रीय सभापतिको हैसियतले सिग्देल बन्धु सामुदायिक भवनमा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्थान निर्धारण गरिएको उल्लेख छ। निर्धारित कार्यक्रमअनुसार निर्वाचन प्रक्रिया सुरु हुनुअघि केही व्यक्तिबाट कार्यकर्तामाथि अभद्र व्यवहार तथा विवादको अवस्था सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौला निर्धारित समयअनुसार कार्यक्रमस्थलमा उपस्थित हुन नसकेपछि लामो समयसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन आएका कार्यकर्ताहरूले स्वाभाविक रूपमा असन्तुष्टि जनाएको उल्लेख गरिएको छ। त्यसपछि सहमहामन्त्री संग्रौलाले निर्धारित समयभन्दा निकै ढिलो गरी सहमति जनाउने विषयमा व्यक्त गरेको असन्तुष्टिलाई लिएर विवाद बढेको दाबी गरिएको छ।

क्षेत्रीय समितिले घटनालाई योजनाबद्ध आक्रमण, हिंसात्मक गतिविधि वा रड प्रहार भएको घटनाका रूपमा प्रस्तुत गरिएको विषयप्रति समेत आपत्ति जनाएको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा रड प्रहार भएको भन्ने विषयमा कुनै सत्यता नरहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, घटनामा संलग्न व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको भन्ने आरोपसमेत निराधार रहेको क्षेत्रीय समितिको दाबी छ। संवेदनशील विषयलाई प्रमाणबिना सार्वजनिक प्रचार गर्दा घटनालाई थप अतिरञ्जित र विवादित बनाउने काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनामा केही कांग्रेस कार्यकर्ता घाइते भएकोप्रति आफूहरू संवेदनशील रहेको जनाउँदै क्षेत्रीय समितिले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। तर घटनाको सम्पूर्ण पृष्ठभूमि र त्यसबाट सिर्जित परिस्थितिलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा क्षेत्रीय सभापति देवराज तामाङ तथा उनीसँग सम्बन्धित समूहलाई मात्र दोषी देखाउने प्रयासप्रति गम्भीर आपत्ति जनाइएको छ।

केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाद्वारा जारी विज्ञप्तिमा क्षेत्रीय सभापति देवराज तामाङ तथा उनीद्वारा परिचालित समूहबाट आक्रमण भएको भन्ने आशय रहेको भन्दै क्षेत्रीय समितिले उक्त दाबी खण्डन गरेको छ। निर्वाचन प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न आफूहरूले जिम्मेवारीपूर्वक प्रयास गरेको दाबी पनि गरिएको छ।

क्षेत्रीय समितिले घटनालाई एकपक्षीय रूपमा व्याख्या नगरी निर्धारित समयमा पदाधिकारी, कार्यक्रमस्थलमा उपस्थितिको अवस्था, कार्यकर्ताको असन्तुष्टि तथा त्यसपछि विकसित घटनाक्रमलाई समेत निष्पक्ष रूपमा अध्ययन गर्न माग गरेको छ।

हाल रोकिएको निर्वाचन प्रक्रिया तत्काल सुधार गरी नेपाली कांग्रेसको विधान, निर्वाचन निर्देशिका तथा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार निष्पक्ष वातावरणमा अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। साथै, घटनाका विषयमा सत्यतथ्य नबुझी अतिरञ्जित समाचार तथा आरोप–प्रत्यारोप नगर्न र पार्टीभित्रको लोकतान्त्रिक वातावरण थप असहज नबनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङ–६ कांग्रेस अधिवेशनमा झडप सभापति तामाङको प्रतिवाद